20210127

आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षले १० सिट पनि नजित्ने ओलीको दाबी, बामदेबको आफ्नै रटान !

 प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–नेपाल पक्षको १० सिट पनि नआउने दाबी गर्नुभएको छ । बुधबार आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गर्नुभएको हो । उहाँले प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिडेर भिरको बाटो हिडेको टिप्पणी पनि गर्नुभयो । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले बैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको बताउनुभयो । विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उहाँले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताउनुभयो ।

यसै बिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गराएरै छाड्ने बताउनुभएको छ । पार्टी एकता राष्ट्रिय अभियान घोषणामा आज नेता गौतमले पार्टी विभाजन हुँदा थुप्रै समस्या उत्पन्न हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी व्यावहारिक र राजनीतिकरुपमा फुटे पनि कानूनीरुपमा अझै फुटेको छैन, त्यसैले एकीकृत अभियानमा लाग्नुपर्छ ।” 

तीन वर्ष पहिले कम्युनिष्ट पार्टी एकीकृत हुँदा संसारलाई तरङ्गीत बनाएको तर आज फुटको अवस्था सिर्जना हुँदा ज्यादै पीडा महसुस भइरहेको उहाँको भनाइ थियो । झण्डै दुई तिहाइ बहुमत प्राप्त पार्टीको सरकार आज विभाजनको अवस्थामा पीडा भोग्नु परेको बताउँदै उहाँले अब पुनः पार्टीलाई जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । विगतमा आफूहरुले पार्टी बनाउन १३ वर्ष सङ्घर्ष गरेको बताउँदै उपाध्यक्ष गौतमले अब जति वर्ष समय खर्च भए पनि मिलाएरै छाड्ने उहाँले जिकिर गर्नुभयो ।

नेकपाका शीर्ष नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका नेता दाहालले पार्टीलाई चिराचिरा पार्न खोजेका उहाँले आरोप लगाउनुभयो । अहिले नेकपामा भइरहेको विवादका कारण एकथरीका नेता ‘हामी निर्वाचन हुन दिन्नौँ’ र अर्काे थरीका नेता  ‘हामी निर्वाचनमा बहुमत ल्याएरै छाड्छौँ’, भनेर हिँड्नु उचित नभएको गौतमले तर्क गर्नुभयो । 

दुई पार्टी मिलेर नेकपा एकृकीत भएपछि गरिएको निर्वाचनमा आफूहरुले रु ४२ लाख मत प्राप्त गरेको र नेपाली कांग्रेले एकलरुपमा ३० लाख मत प्राप्त गरेको बताउँदै नेता गौतमले अब निर्वाचनमा जाँदा आफूहरुले पराजय हासिल गर्ने विचार राख्नुभयो । जनताको साथ लिएर समाजवादको बाटो निर्माण गर्न आफू लागिपर्ने तर्क गर्दै उहाँले प्रधानमन्त्री ओली र नेता दाहालका केही नजिकका व्यक्तिबाहेक अरु जनता एकताका पक्षमा रहेका आफूले बुझेको उपाध्यक्ष गौतमले अवधारणा व्यक्त गर्नुभयो । अब नेकपा जुटाउन नयाँ व्यक्ति नेतृत्वमा आउने र आफू पनि यस काम पूर्ण गराउन नथाक्ने उहाँले बताउनुभयो ।

आज भोलि नेकपा पार्टीभित्र भएको आरोपप्रत्यारोपका कारण जताततै गालीगलौज र आलोचना मात्रै सुनिने गरेको उहाँले गुनासो गर्नुभयो । नेकपा पार्टीभित्र सबै शीर्ष नेतासँगै बसेर एक कप चिया खाने र नमस्कार गर्ने वातावरणसमेत हराइरहेको भनी उपाध्यक्ष गौतमले यस नगर्न अनुरोध गर्नुभयो । 

एकताको अभियान सफल बनाउन जनताको साथ अति नै आवश्यक रहने बताउँदै उहाँले सबै जनताले साथ दिने विश्वास लिएको भनाइ राख्नुभयो । हाल पहिलो पुस्ताका नेता पार्टीमा फुटे पनि दोस्रो र तेस्रो पुस्ताका नेतालाई एकजुट भएर अघि बढ्न उहाँले सुझाव दिनुभयो । उहाँले पुनःथप्नुभयो, “यदि आउँदो वैशाख १७ र २७ गते निर्वाचन भयो भने नेकपाको भोट नेकपाभित्रै हाल्न सबै कार्यकर्तालाई अनुरोध गर्दछु ।” आफ्नो भित्री धारणा संसद् पुनःस्थापना होस भन्ने रहेको नेता गौतमले कार्यक्रममा सबैमाझ जानकारी गराउनुभयो । 

यसैगरी कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरि पराजुलीले पार्टी विभाजन भएर चुनावमा गए जनतालाई मतदान बहिष्कार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी विभाजनको यस चरणमा हामीले एकताबद्ध भएर अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई मित्रतापूर्ण सुझाव र अभिव्यक्ति दिनुपर्छ ।” 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक