20210222

गोबरवाद - मुर्दावाद !

(सन्तोष चिमरिया, मैले कहिल्यै नभेटेका, नदेखेका एउटा लेखक । तर यी  कलमी जादुगरको लेखाइ सँग मेरो लभ परेको केही वर्ष भयो । उनी दाइ भन्छन् मलाई, म भाइ भनेर सम्बोधन गर्छु । भला कुसारी भइरहन्छ फोनमा । जब यिनी लेख्छन् म यिनका लेख दोहोर्‍याएर पढ्छु । पत्रकारितामा मैले बिताएका साढे तीन दशकमा मैले धेरै मैँ हुँ भन्ने लेखकका लेखहरूमा पनि कैँची चलाएको छु तर यिनले कुन खोलीको पानी खाएका र कस्ता बाउ आमाबाट जन्म पाएका रहेछन् कुन्नि एक ठाउँ पनि कैँची लगाउन मन मान्दैन । कलमी जादुगर सन्तेको आजको लेख मेरै अनुरोधमा उनले लेखेका हुन । उनको लेख बुझ्नेलाई श्रीखण्ड छ आज । एक पटक पुरै लेख पढिदिनु होला हाम्रो पनि आग्रह । - प्रधान सम्पादक )

****** नेपालमा सच्चा कम्युनिष्टहरु ठाउँमा पुगेकै छैनन् भन्दै यतिबेला गोबरेहरु, आफ्नो अस्तित्व रक्षाको अन्तिम तर्क फ्याकी रहेका छन् । यो इतिहासले प्रमाणित गरिसकेको सबैभन्दा ठूलो झुट हो । यो एउटा भद्दा मजाक हो । संसारले चपरीमुनी पुरेको कम्युनिस्ट कंकालको वास्तविक चरित्र नै यही थियो । जो कम्युनिस्ट नेपालमा छन् , ती नै वास्तव र सच्चा कम्युनिष्टहरु हुन् । जो भोको हुडार जस्तै सत्ता , सम्पत्ती र शक्तिका निम्ति सबैथोक गर्न सक्छन् । फोस्रा वादहरुलाई रंग रोगन गरेर जुट्न सक्छन् । भाग नपुगे पछी , सिद्धान्तका सिङहरु देखाउदै फुट्न सक्छन् । सडक तताउँछन् ।  जंगल पस्छन् । क्रान्तिकारी र वैज्ञानिक जस्ता फुर्का जोडेर अलिकति भाग पाउन कटौरा लिएर सडक किनारमा उभिन्छन् । हो , यो नै कम्युनिस्टहरूको वास्तविक गुण हो । चरित्र हो । हामीले नेपालमा देखे/भोगेका कम्युनिष्टहरुको नै सच्चा कम्युनिष्टहरु हुन् ।***** 
सच्चा कम्युनिस्टहरू हुन्छन् भन्ने मृगतृष्णामा अर्को एउटा पुस्ताले गोबरे हुन जरुरी छैन ।

- सन्तोष चिमरिया 

 हातमा गोबर लिएर एउटा किशोर कम्युनिस्ट आन्दोलनमा होमिन्छ । सुरुमा उसले गोबरले पर्चा टाँस्छ । अनि घरकाम ,खेतकाम, स्कुल सबै त्यागेर गोबर हातमा लिन्छ र क्रान्ति गर्न  निस्किन्छ । 

 पछि, गोबर संक्रमित भएर दिमागसम्मै पुग्छ । अनि सबैलाई शत्रु देख्न थाल्छ । भात खान पुग्ने छिमेकीलाई सामन्ती देख्न थाल्छ । भट्भटे चड्ने चोकको दोकानेलाई दलाल देख्न थाल्छ । आमालाई तीन हजार बर्षदेखी उत्पिडनमा परेकी नारी देख्न थाल्छ, बाउलाई जखमले उत्पिडक देख्न थाल्छ । 

    साला ! गोबर न हो । खेतबारीमा परेको भए मल हुन्थ्यो ,घोगा अलि गतिला लाग्थे । दिमागमा परेपछि किरा पर्छ । अनि संक्रमित गोबरको असरले  संसारका सबै कम्युनिस्ट बिग्रे जस्तै, उ पनि बिग्रन सुरु गर्छ ।  साम्यवाद भन्दा तल र क्रान्ति भन्दा मुन्तिर झरेर सोच्न र सपना देख्नै छाड्छ । अनि गोबरे संक्रमण बढ्दै गएपछि, साम्यवादको उन्मादमा घाँटी रेट्न र पुलपुलेसा उडाउन थाल्छ । अर्थात, मान्छे बिग्रीन्छ र  कम्युनिस्ट हुन्छ । 

        जब सत्ताको हरियो घाँस निकट आउँछ, उसका निम्ति  गोबर गोब्र्याइ रहेको साँडे कम्युनिस्ट, गाई र बाछाबाछी लिएर सत्ताको घाँस चर्न सिंहदरबार छिर्छ । हातमा गोबर लिएको गोब्रे कम्युनिस्ट, अयोग्य छापामारको प्रमाणपत्र छातीमा झुन्ड्याएर, खुट्टो खोच्याउदै क्रान्तिबाट फिर्ता हुन्छ । अनि आफैले आगो लगाएको जिल्ला प्रशासनबाट  पासपोर्ट लिन , आफू जस्तै " अयोग्य गुरिल्लाहरुको "लाईनमा लाग्न सदरमुकाम झर्छ । अनि क्रान्तिको बाँकी कार्यभार अरब र मलेसियामा गएर पूरा गर्छ । 

अनि उताबाट ,एक थान जनयुद्धको शुभकामना पोष्ट्याएर क्रान्तिकारी हुनुको अन्तिम कर्तव्य पनि पूरा गर्छ ।

      यति पढिसकेपछि तपाईंले पक्कै पनि आफ्नो हात सुघ्नु भयो होला । समयका पत्रैपत्रले छोपेको गोबर ,सतहमा आयो होला । गोबर जस्तै गरेर विगत ह्वास्स गनायो होला र  दुःखद् स्मृतिहरु ताजा भएर बिझाए होलान् । तपाइँको चित्त दुख्यो होला । तपाईंलाई रिस उठ्यो होला । कतिपय " क्रान्तिकारी"हरूको अहंममा चोट पनि पुग्यो होला  । कतिलाई पश्चात पनि लाग्यो होला । तर , तपाईलाई राम्रो नराम्रो जे लागि पनि,  आज म त्यही गोबरे पुस्तासँग संवादमा उत्रिएको छु ।  

     ज- जसले गोबर बोक्न अस्वीकार गर्नुभयो । अर्थात, गोबरे भाषामा भन्दा व्यक्तिवादी हुनुभयो । अवसरवादी हुनुभयो । उहाँहरुलाई, म साक्षीको रुपमा किनारामा बसेर आजको संवाद सुन्न आग्रह गर्दछु । किनभने, यो देश र समाज सम्पूर्णरुपमा पतन हुनबाट रोक्ने यीनै गोबर बोक्न अस्विकार  गर्ने , मौरी पुस्ता हो । जसले निरंतर गोबर विरुद्ध मौन प्रतिरोध गरिरहयो । खाडीमा बेल्चा हानेर , देश पालीरहयो । मलेसियामा आफू बिकेर, देशलाई टाट पल्टिनबाट जोगायो । गोबरे प्रवृत्तिले सरकारी स्कुल ध्वस्त हुँदा, निजि स्कुल खोलेर गाउँ -गाउँमा शिक्षा बिस्तार गर्यो । गोबरले स्वस्थ्यसेवा ध्वस्त बनाउदा, साना साना क्लिनिकहरु खोलेर समाजको उपचार गरिरहयो । कुखुरा पालेर मासु आपूर्ति गर्यो । गाई पालेर दूध ख्वाइ रहयो । यस्ता हजारौं हजार मौरीहरुको, यो संवादमा  गरिमामय उपस्थिति होस् भन्ने चाहना छ । 

          अनि, गोबरे सहयोद्दाहरुले ,गद्दार भन्देला । दक्षिणपन्थी भन्देलान । यो वादी र उ वादी भनेर डांम्देलान भन्ने मनो-आतंकबाट मुक्त भइ , बोकी सकेको गोबर फ्याकेर, स्वमार्गमा हिडेका ती तमाम साथीहरूको पनि उपस्थिति उत्तिकै महत्वपूर्ण छ । तपाईहरुलाई पनि संवादमा हार्दिक निमन्त्रणा छ । 

      अब लागौं चुरो कुरो तर्फ ।   

             हेर्नुस्  ! उनीहरुकै भाषामा,  वाद/ साद  झुन्ड्याएर  संवाद गर्ने हो भने,  गोबरवाद अहिले  चरम संकटमा छ । झट्ट हेर्दा ,सत्तामा गोबरबहादुरहरु छन । सडकमा गोबरबहादुहरु छन । जंगलमा गोबरबहादुरहरु छन ।  गोबर मात्रै हुं भन्दा नपत्याउलान भनेर म क्रान्तिकारीको गोबरवादी हुं । म वैज्ञानिक गोबरवादी हूँ । म,  साँच्चैको नगनाउने असली गोबरवादी हुँ भन्दै,  भट्टाभट गोबरवादका नयाँ-नयाँ संस्करणहरु धमाधम बिमोचन भइरहेका छन् । अनि आफ्नो अन्तिम बिउ जोगाउने तुच्छ स्वार्थका निम्ति अर्को एउटा पुस्तालाई गोबर बोकाउनका निम्ति तछाड मछाड गरिरहेका छन । तपाईंले यो मरणासन्न बकम्फुसे गोबरवादको घोडा हुनु हुँदैन । तपाईंले यसलाई आफ्नो पिठ्युँ दिनु हुँदैन । 

       

        आँखा खोलेर हेर्नुस्  ! अहिले ,लाखौ बेरोजगार टाउकाहरूको जुन निर्लज्ज प्रदर्शन भइरहेको छ, तपाईं कुनै पनि हालतमा भविस्यको बेरोजगार टाउको मात्रै बन्नु हुँदैन । तपाईंको गुदि प्रयोगमा आउनु पर्छ । तपाईंले आफुलाई टाउको भित्रको गुदीको रूपमा बिकास गर्नुपर्छ । चरम बेरोजगारी सिर्जना गरेर, सम्पूर्ण बेरोजगारहरुलाई गोबर बोकाउने यो रणनीति, यो पुस्ताले बुझ्नुपर्छ र अस्वीकार गर्नु पर्छ । मेरो टाउका यति लाख र तेरो टाउका यति हजार मात्रै , भन्ने बहसमा गोबर बोकी नसकेका पुस्ता छिर्न हुँदैन । अर्थात, तपाइले कुनैपनि हालतमा गोबरे हुनु हुँदैन । गोबरे बहसमा प्रवेश गर्नु हुँदैन । 

      तर , तपाईं , गोबरेहरुले बन्ला भनेर डराएको , ब्याक्तिवादी र अवसरवादी भने हुनुपर्छ । 

ध्यान दिएर सुन्नुस ! 

         सबैभन्दा पहिले गोबरेहरुले तपाईंको अलग ब्याक्तित्व बन्ला , तपाईं बन्नुहोला, तपाईंले अवसर सृजना गर्नुहोला र तिनका निम्ति गोबर देखि बन्दुकसम्म बोक्न उपलब्ध नहुनुहोला भनेर , तपाईंलाई बन्नबाट रोकेको ,ब्याक्तीवादी र अवसरवादी हुनुपर्छ । तपाईं, आफ्नो ब्यक्तित्व विकास गर्नसक्ने गरिको व्यक्तिवादी के फरक पर्छ ? 

 तपाई ,आफ्ना निम्ति अवसरहरुको पहिचान र सृजना गर्नसक्ने अवसरवादी हुँदा के फरक पर्छ ? 

 तपाईंले गोबरे मार्ग त्यागेर पलायनवादी हुँदा के फरक पर्छ ? 


हो ! तपाईं ,पैसा कमाएर, कर तिर्न सक्ने र रोजगार सृजना गर्नसक्ने पुंजिवादी हुँदा केही फरक पर्दैन । 

पढेर टाईसुट लाउने बुर्जुवा हुँदा केही फरक पर्दैन । 

दलाल, पेशा र शब्द दुबैले नराम्रो होईन । तपाईं, कानुनले निषेध नगरेका सबै कुराको दलाली गर्न र दलाल हुन हिच्किचाउनु पर्दैन । 

अर्थात, तपाईंले गोबरेपथ त्यागेपछी यो संसारमा, क्रान्तिकारी, कार्यकर्ता, सदस्य, शहिद, कम्रेड बाहेक पनि बन्न सक्ने धेरै कुराहरू उपलब्ध छन् । र , तपाईं यसरी बन्दा समाज र राष्ट्रलाई केही घाटा हुँदैन । तपाईंले अनुपस्थितले घाटा हुने भनेको गोबरेहरुलाई मात्रै हो ।  तर तपाईं ,गोबरे मात्रै हुनुभयो भने, राष्ट्र र समाजलाई त घाटा हुन्छ नै ,तपाईंका लोग्ने/ स्वास्नी र छोराछोरीलाई पनि घाटै-घाटा हुन्छ । तपाईं , समाज र राष्ट्रको निम्ति एउटा अनुत्पादक बोझ भएर बाच्न पर्ने हुन्छ । 

  अन्त्यमा ,

                नेपालमा सच्चा कम्युनिष्टहरु ठाउँमा पुगेकै छैनन् भन्दै यतिबेला गोबरेहरु, आफ्नो अस्तित्व रक्षाको अन्तिम तर्क फ्याकी रहेका छन् । यो इतिहासले प्रमाणित गरिसकेको सबैभन्दा ठूलो झुट हो । यो एउटा भद्दा मजाक हो । संसारले चपरीमुनी पुरेको कम्युनिस्ट कंकालको वास्तविक चरित्र नै यही थियो । जो कम्युनिस्ट नेपालमा छन् , ती नै वास्तव र सच्चा कम्युनिष्टहरु हुन् । जो भोको हुडार जस्तै सत्ता , सम्पत्ती र शक्तिका निम्ति सबैथोक गर्न सक्छन् । फोस्रा वादहरुलाई रंग रोगन गरेर जुट्न सक्छन् । भाग नपुगे पछी , सिद्धान्तका सिङहरु देखाउदै फुट्न सक्छन् । सडक तताउँछन् ।  जंगल पस्छन् । क्रान्तिकारी र वैज्ञानिक जस्ता फुर्का जोडेर अलिकति भाग पाउन कटौरा लिएर सडक किनारमा उभिन्छन् । हो , यो नै कम्युनिस्टहरूको वास्तविक गुण हो । चरित्र हो । हामीले नेपालमा देखे/भोगेका कम्युनिष्टहरुको नै सच्चा कम्युनिष्टहरु हुन् । 

सच्चा कम्युनिस्टहरू हुन्छन् भन्ने मृगतृष्णामा अर्को एउटा पुस्ताले गोबरे हुन जरुरी छैन । 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक