20210312

एमाले भित्र ओली र माधव गुटको भाँड भैलो, अर्को सरकार बनाउन एमाले, काँग्रेस, जसपा र माओवादीको फोहोरी कसरत सुरु, प्रधानमन्त्री र मन्त्री पाउन हानथाप, भस्मासुर प्रचण्ड फेरी पनि सफल !

 


काठमाडौं । कहिं नभएको जात्रा हाँडी गाउँमा ! यही उखान चरितार्थ भएको छ नेपालमा । अहिले नेपालमा २०५२ साल पछाडि जस्तै सरकार गिराउने, बनाउने, टिकाउने खेलहरु शुरु भएका छन । रात रहे अग्राख पलाउँछ भने झैं भोली बिहान उठ्दा के भैसक्ने हो भन्न मुस्किल पर्ने अवस्था सिर्जना भएको छ । यस्तै फोहोरी राजनीतिका बिच 

   एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन । पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षले थाहै नपाइ महत्वपूर्ण निर्णयसहित

टुंगिएको छ । बैठकले महाधिवेशनको मिति तोक्नुका साथै नेताहरूको जिम्मेवारी समेत तोकेको छ ।

बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ । बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।

त्यस्तै सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् । प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

त्यस्तै बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा. राजन भट्टराईले पाएका छन् ।

प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् । स्कूल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैंले लिएका छन् । अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने जानकारी ओलीले गराएका छन् ।

नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् ।

ओलीले अर्को बैठक चैत ७ गते बस्ने जानकारी दिदै आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।

ओलीको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘खबर गर्न छुट्नुभएकाहरुलाई अर्को बैठकमा खबर गर्नू । माधवजीहरुलाई खबर पुगेको रहनेछ भने पनि पुर्‍याइदिनू । आउनु हुन्छ कि आउनुहुन्न तर पनि खबर चाहिँ गर्नुपर्छ ।’

केन्द्रीय कमिटीको विशेष बैठकले विधान संशोधन गरि सत्तरी वर्षे उमेर हद लगायत संविधानमा बाझिने कतिपय प्रावधानहरु हटाएको छ ।

सत्तरी वर्षे उमेर हदले पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका नेताहरु महाधिवेशनअघि नै बिदा हुनुपर्ने र त्यसले पुनःस्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

ज्ञवालीले बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकीकरणका बेला कायम ४३५ सदस्यहरुलाई पार्टीमा सहभागी हुन आह्वान गरेको जनाएका छन् । त्यस्तै बैठकले महाधिवेशनको समयावधि, उमेर हद, कमिटीको संरचनालगायतका कतिपय प्रश्नमा विधानका व्यवस्थाहरुलाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन बधाअड्काउ फुकाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशन दिएको छ । बैठकले निर्वाचन आयोगले १५ दिनभित्र एकता गर्नका लागि दिएको समयमा भने अब पार्टी एकीकरणको सम्भावना नरहेको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यसै बिच एमालेको माधव नेपालपक्षीय स्थायी कमिटी बैठकले आज पार्टीको बालुवाटारमा भएको बैठकले गरेका निर्णयहरुलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

एक नेताका अनुसार माथिदेखि तलसम्म समानान्तर कमिटी बनाएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको छ ।

ओलीले बोलाएको केन्द्रीय समितिको विशेष बैठकले पार्टीमा नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै पूर्वमाओवादीका २३ नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । उक्त निर्णयलगत्तै बसेको नेपाल समूहको बैठकले त्यसलाई स्वीकार नगर्ने निर्णय लिएको हो ।

चैतको पहिला साता समानान्तर कमिटीहरु घोषणा गर्ने निर्णय भएको स्रोतले बतायो । साथै शनिबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर थप छलफल गर्ने समझदारी पनि भएको छ ।

‘ओलीले यस्तै गतिविधि जारी राखेमा बृहद भेला बोलाएर औपचारिक विभाजन गर्नेसम्मको रणनीति बनाइएको छ,’ स्रोतले भन्यो ।

उता पुन:स्थापित नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक डाकेर गरेका निर्णयहरुप्रति असन्तुष्टि जनाएका छन् ।

यो कदमले ओलीसँग मिल्ने सम्भावना समाप्त भएको उनको प्रतिक्रिया छ ।

गौतमलाई उद्धृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले भने, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सम्भावना अब रहेन ।’

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीभित्र विभाजन उत्पन्न भएयता गौतमले एकताका लागि अभियान सञ्चालन गरेका थिए ।

अदालतको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि उनले एमालेमा ओलीले सबैलाई मिलाएर लैजानुपर्ने मत राखेका थिए । तर, ओलीले आज माधव नेपाल पक्षलाई थाहा नदिइकन पार्टीकाे जिम्मेवारी हेरफेर र केन्द्रीय कमिटी विस्तार गरेपछि गौतमको असन्तोष सार्वजनिक भएको हो ।

प्राप्त एक अर्को समाचार अनुसार  नेपाली कांग्रेसले पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमको विरुद्धमा उभिएका राजनीतिक शक्तिबीच गठबन्धन प्रस्ताव गरेको छ ।

जनता समाजवादी पार्टीका नेताहरुसँग आफ्नै निवासमा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच सहकार्य गर्नुपर्ने धारणा राखे । जसपाका नेताहरुले भने संविधान निर्माणकै बेलादेखिको राजनीतिक एजेण्डा सम्बोधनको शर्त अघि सारेका छन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले शीर्ष नेताहरुसँग बालुवाटारमा वार्ता गरेका जसपा नेताहरुले संविधान संशोधन, आफ्ना नेता कार्यकर्ताको रिहाइ र नागरिकता समस्या समाधानको एजेण्डा पेश थिए ।

‘हामीले हाम्रा एजेण्डाहरु राखेका छौं । उहाँहरुले छलफल जारी राखौं, सहकार्य गरौं भन्नुभएको छ,’ बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले भने ।

कांग्रेस स्रोतका अनुसार बैठकमा सभापति देउवाले प्रधानमन्त्री ओलीको कदमबाट संविधान नै खतरामा पर्ने सम्भावना बढेकोले विपक्षी दलहरुबीच बलियो एकता हुनुपर्नेमा जोड दिए । जसपासँगको बैठकअघि पार्टीका पदाधिकारीसँग देउवाले परामर्श गरेका थिए । सो क्रममा सबैजसो नेताले ओली सरकारको विकल्प खोज्ने र एमालेइतरको गठबन्धन बनाउने प्रस्ताव उपयुक्त हुने बताएका थिए ।

‘पार्टीका सबैजसो पदाधिकारीले ओली सरकारको विकल्पमा कांग्रेस उभिनुपर्ने बताउनुभएको छ । आज जसपासँगको छलफलमा पनि कांग्रेस, माओवादी र जसपाबीच सहकार्य गर्न सकारात्मक छलफल भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

जसपाका नेताहरुले प्रधानमन्त्री ओलीसँग भएको भेटबारे कांग्रेस नेतालाई पनि जानकारी गराएका थिए । ‘हिजो प्रधानमन्त्रीलाई भेट्यौं, भोलि माओवादी नेतृत्वलाई भेट्दैछौं । केही दिन पर्याप्त छलफल गरेर निष्कर्षमा पुग्ने पक्षमा छौं’ बैठकमा जसपा नेताहरुले भनेका थिए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस भएकोले राजनीतिक निकासको खाका कांग्रेसले नै ल्याउनुपर्ने जसपा नेताहरुको भनाइ थियो । सो क्रममा कांग्रेस नेताहरुले माओवादीसँग छलफल गरेपछि संयुक्त छलफल गरेर जान सकिने बताएका थिए । नेपाल प्रेसका अनुसार एमालेइतर गठबन्धन बनाउने दिशामा छलफल सकारात्मक भएको बैठकमा सहभागी कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहले बताए ।

‘संसद विघटनको कदमलाई असंवैधानिक भन्ने दलहरुबीच गठबन्धन गरौं भनेका छौं । त्यसका जसपाका नेताहरु सकारात्मक हुनुहुन्छ,’ सिंहले नेपाल प्रेससँग भने । वर्तमान सरकारको विकल्प खोज्न कांग्रेस तयार रहेकोले नयाँ समीकरणमा माओवादी र जसपालाई समेटेर जान तयार रहेको उनले बताए ।

‘अहिले नै सरकारको नेतृत्वबारे छलफल भएको छैन । तर ओली सरकारको विकल्प खोज्न कांग्रेसले अग्रसरता लिन्छ,’ सिंहले भने ।

प्राप्त अझै अर्को समाचार अनुसार  सत्तारोहणका लागि प्रमुख पार्टीहरुसँग संवादमा रहेको जनता समाजवादी पार्टीले आज बोलाएको संसदीय दलको बैठकमा अब प्रधानमन्त्रीमै दावी पेश गर्ने विषयमा छलफल भएको छ । पार्टीले संसदीय दलको नेता भने चयन गर्न सकेको छैन ।

आज प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल गर्नुअघि जसपाको संसदीय दलको बैठक बसेको थियो । सो बैठकमा बोल्ने सांसदहरुले सरकारको नेतृत्वमा नै पार्टीले दावेदारी गर्नुपर्ने मत राखेका हुन् ।

जसपाका सांसद राजकिशोर यादवले देशमा देखिएका समस्या समाधान गर्न अहिलेका राजनीतिक दलहरु असफल भएकाले प्रधानमन्त्रीका लागि पहलकदमी लिनुपर्ने विषयमा छलफल भएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘अब हामीले प्रधानमन्त्रीमै दावी गर्नुपर्छ भन्ने कोणबाट छलफल सुरु भएको छ । अरु दलहरु देशको समस्या समाधानमा असफल भएकाले यो ऐतिहासिक कार्यभारको नेतृत्व लिन जसपा तयार रहनुपर्छ र जसपाले त्यसको पहलकदमी गर्नुपर्छ भन्ने सांसदहरुको भनाइ थियो ।’

प्रधानमन्त्री पदमा दावी गर्न कुरा भए पनि बैठकले यस सम्बन्धमा कुनै निर्णय भने गरेको छैन । साथै, पार्टीको संसदीय दलको नेतासमेत चयन हुन सकेको छैन । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछि संसदीय दलको नेता चयन हुन नसकेको हो । कामचलाउ संसदीय दलको नेताका रुपमा भने पार्टी अध्यक्ष महन्त ठाकुर छन् ।

आज कांग्रेससँग भएको छलफलपश्चात महन्थ ठाकुरलाई पत्रकारहरुले सरकारको नेतृत्व गर्ने सम्भावनाका विषयमा सोधेका थिए ।

तपाईंहरुलाई प्रधानमन्त्रीको समेत अफर छ भन्ने कुरा के हो ? भन्ने प्रश्नमा ठाकुरले मिडियाबाटै यो कुरा सुनेको भन्दै पन्छाए नेपाल प्रेसले लेखेको छ ।

‘भावी प्रधानमन्त्रीमा तपाईंको नाम समेत चर्चामा छ नि ?’ भन्ने प्रश्न पत्रकारले गरेपछि ठाकुरले मुस्कुराउँदै भने, ‘यस्तो राम्रो खबरका लागि तपाईंलाई धन्यवाद छ । प्लिजिङ सरप्राइज ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक