20210416

रोजगारीको सिलसिलामा भारत गएकाहरु कोरोना सङक्रमण फैलिँदै गएपछि नेपाल फर्के

लम्की (कैलाली), वैशाख ३ गते । सुदूरपश्चिमका मुख्य चार नाकाबाट चार हजारभन्दा बढी नेपाली भित्रिएका छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर गएका उनीहरु भारतमा दोस्रो चरणको कोरोना सङक्रमण फैलिँदै गएपछि नेपाल फर्केका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अम्मरबहादुर थापाले चैत्र मसान्तसम्म कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाटा ३५ हजार भन्दा बढी नेपाली भित्रिनुका साथै २४ हजार भन्दा बढी बाहिरिएको बताउनुभयो ।

डिएसपी थापाले नयाँ वर्ष, बिषु पर्व र चैते दशैं मान्नका लागि नेपाल आउनेकोे संख्या चैत्रको अन्तिमतिर बढेको बताउनुभयो । उहाँका अनुसार गड्डाचौकी नाकाबाट चैत्र मसान्त सम्म १७ हजार १२४ भित्रिएका छन् भने १३ हजार ५३१ बाहिरिएका छन् । त्यसैगरी, गौरीफन्टा नाकाबाट १८ हजार १४१ भित्रिएका छन् भने ११ हजार ५११ बहिरिएका छन् । बाहिरिनेमा गहुँखेती भित्र्याएर भारतका विभिन्न शहरमा रोजगारीका लागि जाने छन् भने कोही उपचार र अन्य कामका लागि विहान गएर साँझ फर्किने पनि रहेको जनाइएको छ ।

त्यसैगरी, बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट समेत नेपाली भित्रिँदै छन् । उक्त क्षेत्रबाट समेत कडा निगरानीमा करिब पाँचहजार बढी नेपाली नेपाल प्रवेश गरेको जनाइएको छ ।

स्वास्थ्य सर्तकताका साथ नाकामा स्वास्थ्य परीक्षणका लागि हेल्थ डेक्सको ब्यवस्था गरी एन्टिजेन टेष्ट गरी आउनेजाने व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशानलय दिपायलका निर्देशक डा.गुणराज अवस्थीले दोस्रो चरणको कोरोना सङ्क्रमणको जोखिम न्युनिकरणका लागि विभिन्न नाकामा राखिएका हेल्थ डेक्सबाट स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको बताउनुभयो । डा. अवस्थीले हालसम्म १२ हजार ३१६ जनाको परीक्षण गर्दा ६५६ जनामा कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।

कोरोना सङ्क्रमणको बढी जोखिम रहेका भारतका महाराष्ट्र, पञ्चाबलगायतका क्षेत्रबाट आउने नेपालीलाई बढी जोखिम रहेकाले त्यहाँबाट आउने नेपालीको परीक्षण गरेर मात्र नेपाल पठाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण देखिएकाहरु मध्ये गम्भिर विरामी नभएकाहरुलाई होम आइसोलेसन र क्वारेन्टाइनमा बस्ने सुझावसहित लक्षण देखिएका विरामीलाई विभिन्न जिल्लामा रहेका कोभिड अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

पछिल्लो समय भारतमा दिनप्रतिदिन कोरोना सङ्क्रमणको संख्या बढ्दै गइरहेका बेला भारतमा रोजगारीका लागि गएका नेपाली भने कोरोनाको त्रासले नेपाल आउने क्रम दैनिक बढ्दै गएको छ । वैशाख लागेसँगै विभिन्न नाका भएर उनीहरु नेपाल फर्किरहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अम्मरबहादुर थापाले गड्डा चौकी र गौरीफन्टा नाकाबाट बैशाख १ र २ गते मात्र तीन हजार भन्दा बढी नेपाली स्वदेश फर्केको बताउनुभयो ।

यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना (कोभिड–१९) सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ ।


बिहीबार आठबुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना महामारी फैलिन थालेपछि सो मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० प्रतिशत शय्या छुट्याउन र कोभिडका बिरामीको उपचारका लागि यसअघि तोकिएअनुसार निःशुल्क सेवा प्रदान गर्न समेत मन्त्रालयले निर्देशन दिएको जानकारी दिनुभयो ।

मन्त्रालयले पीसीआर परीक्षण गर्ने निजी प्रयोगशाला र कोभिड–१९ को उपचार गर्ने निजी अस्पतालको हकमा पनि शुल्क तोकेको छ । मन्त्रालयले निजी प्रयोगशालाले दुई हजार रुपियाँ नबढाइ शुल्क लिन सक्ने उल्लेख गरेको छ ।

यस्तै कोभिडको उपचार गर्ने निजी अस्पतालले सङ्क्रमितको औषधिबाहेक उपचारका लागि सङ्क्रमणको जटिलताका आधारमा सामान्य अवस्थाका बिरामीका लागि प्रतिदिन तीन हजार पाँच सय रुपियाँ, मध्यम अवस्थाका लागि प्रतिदिन सात हजार रुपियाँ र जटिललाई प्रतिदिन १५ हजार रुपियाँ र त्यसमा ५० प्रतिशत थप नबढ्ने गरी शुल्क लिन सक्ने उल्लेख गरेको छ ।

मन्त्रालयले निजी अस्पतालमा नियमित सेवा लिन आएकाहरूलाई कोभिड–१९ पुष्टि भएको अवस्थामा अन्यत्र रिफर नगर्न समेत अनुरोध गरेको छ । यस्तै सबै अस्पताललाई फिवर क्लिनिक सञ्चालनमा ल्याउन तथा कोभिड–१९ को परीक्षणका लागि नमुना सङ्कलन गर्ने तथा परीक्षणको व्यवस्था मिलाउनेतर्फ पनि ध्यान दिन आग्रह गरेको छ । पछिल्लो दुई सातायता नेपालमा कोरोना सङ्क्रमण पुनः बढ्दो क्रममा रहेको छ ।

मन्त्रालयले अतिप्रभावित १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन अभिभावकलाई समेत अपिल गरेको छ ।

सहप्रवक्ता डा. अधिकारीले बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरू, खेलकुद, जिम, सभा सम्मेलन, बैठक तथा भेलाहरू, सिनेमा हल, सपिङ मल, सार्वजनिक पूजाआजा तथा जात्राहरू, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नहुन पनि अपिल गरेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक