20210419

नजिबुल्लाह र प्रचण्ड !

 - खगेन्द्र गिरी कोपिला 

सन् १९७३ मा अमेरिका र पाकिस्तानको सहयोगमा जनरल दाउदलाई निमित्त नायक बनाएर अफगानिस्तानमा सैन्य विद्रोह गरि राजतन्त्रको अन्त्य गरियो । 

सन् १९७८ मा रुस समर्थित खल्क पार्टीले उनै दाउदको सत्ता पल्टाएर कम्युनिस्ट शासन स्थापना गर्‍यो।

अफगानिस्तानमा सन् १९९२ मा तालिबानले सत्ता हत्याउन्जेलसम्म १४ वर्षको अवधिमा रुसले क्रान्तिको नाममा अफगानिस्तानमा अनेक व्यक्तिलाई सत्तामा पुर्‍याउने र ढलाउने नाटक गरिरह्यो। 

त्यही सिलसिलामा अफगानिस्तानको सत्तामा पुगेका थिए डा.नजिबुल्लाह । 

एमविविएस पढेका डा. नजिबुल्लाह ३३ वर्षको उमेरमा अफगान गुप्तचर संस्था "खाद" को प्रमुख, ३९ वर्षको उमेरमा अफगान पिपुल्स डेमोक्रेटिक पार्टी (परचम) को केन्द्रिय समितिको प्रथम सचीव र ४० वर्षको उमेरमा

राष्ट्रपति बनिसकेका थिए। 

उनलाई सत्तामा पुर्‍याएर अफगानिस्तानमा रुसी मोडेलको शासन स्थापना गर्न खल्क पार्टीको विभाजन गरि अति कट्टर परचम समुहको गठन गराएको थियो रुसले।

नजिबुल्लाहको ५ वर्षे राष्ट्रपतिकालमा चरम वामपन्थीकरण, रुसी सेनाको अतिक्रमण, तालिवानको युद्ध र अराजकताको कारणले गर्दा अफगानिस्तान अस्तव्यस्त भैसकेको थियो। आफूलाई सत्तामा टिकाउन नजिबुल्लाहले रुसको खटनपटन स्विकार्नु मात्र होइन इरान, पाकिस्तान, चीन र भारतसंग पनि सुमधुर सम्बन्ध बनाएर सहयोग पाउने प्रयत्न गरेका थिए। यसमा उनी सफल पनि भएका थिए।

अफगानिस्तानमा आआफ्नो स्वार्थ सिद्धि गर्ने रणनिति बोकेका इरान, पाकिस्तान, भारत र चीनले नजिबुल्लाहलाई बलियो बनाउन र संकट पर्दा सहयोग गर्ने आश्वासन पनि दिएका थिए । तर सन् १९९२ मा काबुलमा तालिबानले कब्जा गरेपछि नजिबुल्लाहलाई सहयोग गर्न कुनै पनि देश अगाडि सरेन । जसले नजिबुल्लाहलाई अफगानिस्तानको सत्तामा पुर्‍याउन मुख्य भूमिका खेलेको थियो त्यही रुसले पनि आफ्नो सेना काबुलबाट फिर्ता लगेपछि उनी असहाय र निरुपाय हुन पुगेका थिए। उनले इरान र भारतसमक्ष आफूलाई जोगाउन र तालिबानलाई रोक्न आफ्नो सेना पठाई सहयोग गर्न अपिल गरेका थिए। काबुलस्थित ती देशका दूतावासमा शरण लिन खोजेका पनि थिए उनले । तर कतैबाट पनि उनले सहयोग पाएनन्। अन्तत: उनी सत्ता छोडेर काबुलस्थित संयुक्त राष्ट्र संघीय नियोगमा शरण लिन विवश भए। 

नजिबुल्लाह काबुलस्थित संरासंको नियोगमा चार वर्ष लुकेर बसे, उनको मुक्तिको लागि कसैले पनि पहल, सहयोग र चासो गरेन।

सन् १९९६ सेप्टेम्बर २६ मा तालिवानका लडाकुहरुले संरासंको नियोगमा आक्रमण गरि डा. नजिबुल्लाहलाई समातेर उनको हत्या गरी उनको शवलाई तीन दिनसम्म बिजुलिको पोस्टमा झुन्ड्याए। नजिबुल्लाहको पक्षमा बोल्न एक जना पनि अघि सरेन । नजिबुल्लाहको शव उनका घरका मान्छेले पनि पाएनन् । कुनै मुल्ला मौलवीले सद्गती पनि गरिदिएनन् । 

मान्छे जतिनै शक्तिशाली र प्रतिभाशाली भए पनि ऊ विदेशी शक्तिको निर्देशन अनुसार चल्यो भने अन्तत: उसको अन्त निकै दुखदायी हुन्छ भन्ने तथ्यका ज्वलन्त उदाहरण हुन् नजिबुल्लाह । 

अफगानिस्तानमा नजिबुल्लाहले जसरी विदेशी शक्तिको आड, भरोसा र सहयोगमा सत्तामा पुग्ने खेल खेले त्यस्तो खेल नेपालमा सबैले सकुन्जेल खेले पनि सबै शक्तिहरुलाई प्रयोग गर्न र आफू पनि प्रयोग हुन सबैभन्दा सिपालु र सफल प्रचन्ड नै देखिएका छन्। उनी एकातिर सिद्धान्त नमिल्ने अमेरिका र भारतसंग सहकार्य गर्न पनि सिपालु छन् भने चीनबाट सजातीय सहयोग लिन पनि सफल हुँदै आएका छन् । ईसाई मिसेनरीदेखि जातीय, क्षेत्रीय र हिन्दुवाहेकका धार्मिक संस्थाहरु समेतको सहयोग बटुल्न उनी दक्ष छन्। 

नेपालमा आआफ्ना स्वार्थ बोकेर घुसपैठ गर्न लालायित सबैजसो विदेशी शक्तिहरुको सहयोग बटुलेर आफू बलियो बन्ने रणनीतिमा अहिलेसम्म प्रचण्ड सफल नै देखिएका छन्। 

तर प्रचण्ड कमजोर हुँदै गएमा आज उनलाई जोजो सहयोग गरिरहेका छन् उनीहरुले अन्तिम समयमा पनि सहयोग गरिरहलान् भन्न सकिन्न। 

राजनीति सोझो बाटो हिँडिरहंदा सबैले सहयोग गरिरहे पनि जसरी आफ्नो अन्तिम समयमा नजिबुल्लाह एक्लो परेका थिए त्यसरी अन्तिम समयमा आफ्नो "निमित्त नायक"लाई एक्लो पार्ने काम विदेशी शक्तिले अन्यत्र पनि गरेका छन्।

नजिबुल्लाह र प्रचण्डका जुँगा र अनुहार मात्र हैन सिद्धान्त र कार्यशैली पनि मिल्छ तर जीवनको उत्तरार्धको नियति फरक बनोस् भन्ने कुरामा प्रचण्डले समयमैं विचार पुर्‍याएको देखिन्न। 

आफूलाई बलियो बनाउन राजदूतावास धाउनेलाई कुनै दिन त्यही दूतावासले ढोका बन्द गरिदिन्छ भन्ने कुरा सत्तामा जान विदेशी गुहार्नेहरुले बिर्सिनु हुन्न।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक