20210430

नेपालमा आज ३३ जनाको मृत्यु, ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना सङ्क्रमण दर डरलाग्दो !

आज देशभर कोरोना भाइरसबाट ५ हजार ७ सय २७ जना संक्रमित भएका छन् । १५ हजार ३ सय ५१ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ५ हजार ६ सय ५७ जना तथा ५ सय २५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७०  जना गरी जम्मा ५ हजार ७ सय २७ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ।

देशभरबाट गएको २४ घण्टामा ९ सय २८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ८६ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभरि आज कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार २ सय ७९  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा ३८ हजार ८ सय १३ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

यसै बिच सरकारले उपत्यकाका तीन जिल्लासहित २२ जिल्लामा कोरोना सङ्क्रमण डरलाग्दो गरी फैलिरहेको भन्दै सबैलाई संवेदनशील बन्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सर्वसाधारणमा अपिल जारी गर्दै सङ्क्रमणका हिसाबले नेपालका अति प्रभावित जिल्लाहरूमा उपत्यकाका तीनसहित मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा सङ्क्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको भन्दै संवेदनशील बन्न सबैलाई आग्रह गरेको हो ।

मन्त्रालयले जारी गरेको अपिलमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने अवस्था भइसकेको उल्लेख गरिएको छ । मन्त्रालयले सङ्क्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न सबैलाई अनुरोध गरेको छ । यसै गरी कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि गरिने कामहरू नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक