20210421

भयाबह बन्दै नेपालमा कोरोना : ज्यान जाला, लापर्वाही नगर्नुस

नेपालमा कोरोनाभाइरसका दुई हजार २२० जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ८४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा साे सङ्ख्यामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल दश हजार ५८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ८०३ जनाको एन्टीजेन परीक्षण गरेकोमा १३१ जनामा पोजिटिभ पाइएको जनाएको छ । एन्टीजेनसहित नेपालमा पछिल्लो चौबीस घण्टामा दुई हजार ३५१ जनामा काेराेना फेला परेकाे हाे ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८७ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ९५.३ प्रतिशतमा झरेकाे छ । हाल ८६ जना क्वारेन्टिनमा छन् । सङ्क्रमि मध्ये १८० जना अासीयू र ४७ जना भेन्टिलेटरमा रहेर उपचार गरिरहनुभएकाे छ ।

पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । पोखराको चरक ममोरियल अस्पतालमा एक र संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचाररत एक गरी दुई जना संक्रमितको बुधबार मृत्यु भएको हो ।

पोखरा २९ की ५४ वर्षीया महिलाको चरकमा र पोखरा ३३ का ८४ वर्षीय पुरुषको सरुवा रोेग अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

५४ वर्षीय संक्रमित महिलामा कोभिडसँगै, श्वासप्रश्वास र थाइरोइडको समस्या थियो । उहाँलाइ वैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, अर्का वृद्धमा कोभिडसँगै निमोनिया, रगतसम्बिन्ध समस्या थ्रोम्बोसाइटोपेनिया र उच्च रक्तचापको समस्या थियो । उहाँ पनि ५ वैशाखमै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै कास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११६ पुगेको छ । गण्डकी प्रदेशमा २११ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा संक्रमित संख्या १७ हजार ४०६ पुगेको छ भने १६ हजार ४९२ जना निको भएका छन् ।

 जिल्ला प्रहरी कार्यालय बागलुङमा रहेका चार थुनुवासहित बागलुङमा थप नौ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा भएको पिसिआर परीक्षणमा हिरासतमा रहेका ४ थुनुवा, एक प्रहरी, दुई स्वास्थ्यकर्मी र एक कर्मचारीसहित नौ जना संक्रमित पुष्टि भएका हुन । बुधबार थप भएकासहित यहाँ कोरोना संक्रमणका ६७ जना संक्रिय संख्या पुगेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना महामारी फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

हिरासतमा रहेका थुनुवालाइ प्रहरी कार्यालयकै छुट्टै कोठामा राखेर उपचारको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । यो सँगै बागलुङमा सक्रिय संक्रमितको संख्या ६९ पुगेको छ । संक्रमित स्वास्थ्यकर्मी धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा कार्यरत हुनुहुन्छ । समुदायस्तरमा कोरोना संक्रमण पहिचान हुन थाले पछि बागलुङ नगरपालिका बागलुङको तीन वटा वडामा दश दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय अनुसार जिल्ला सुरक्षा समितिले बैशाख १७ गते राति १२ बजेसम्म लागु हुने गरी बलेवा क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको वडा नम्बर १२, १३ र १४ को क्षेत्रभित्र सञ्चालन हुने अत्यावश्यक सेवा (खाद्यान्न, तरकारी, दुध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा, कृषि तथा पशु उत्पादन मल बीउ ) स्वास्थ्य सेवा र विपत व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधन बाहेक अन्य निजी तथा सार्वजनिक यातायात (२ पांग्रे र ४ पांग्रे लगायत सबै र सम्बन्धित वडा बजार क्षेत्र समेत बन्द निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । सो क्षेत्रका संघ संस्था, बैंक तथा वित्तिय संस्था, सहकारी सेवा र वडा कार्यालयको सेवासमेत स्थगित हुनेछन । सुरक्षा समितिले अनावश्यक घर बाहिर हिडडुल आग्रह गरेको छ ।

बलेवा क्षेत्रका क्याम्पस, विद्यालय –होस्टेलसमेत) सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, पार्टी प्यालेस खेलकुद स्थल जिमखाना, कवाडी संकलन लगायतका सेवा सञ्चालन गर्न रोक लगाएको प्रजिअ कार्कीले बताउनुभयो । मंगलबार मात्र जनताधन माविका विद्यार्थीसहित ३९ जनामा कोरोना पुष्टि भएको थियो ।

विद्यार्थी तथा समुदायस्तरका व्यक्तिलाई कोरोना पुष्टि हुन थालेपछि संक्रमण रोकथामको लागि तत्काल निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सुरक्षा  समितिलाई गरेको थियो । बलेवा क्षेत्र भई कालीगण्डकी कोरिडोर तथा अन्य सडक मार्गमा चल्ने यातायातहरुले उक्त वडाहरुमा चढ्न र झर्न नपाउने गरी सञ्चालन गर्नुपर्ने छ ।

बाँकेमा बुधबार थप एक जना कोरोना सङ्क्रमित बृद्धको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर– ११ निवासी ९० वर्षीय वृद्धकाे बुधबार बिहान ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभएको छ ।

फोकल पर्सन ओलीका अनुसार बैशाख ६ गते कोरोना पुष्टि भएर ६ गते साँझ नै मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा भर्ना भएका ९० वर्षीय पुरुषको अवस्था बिग्रिँदै गएपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो । भेन्टिलेटरमा उपचार गर्द गर्दै ती पुरुषको बुधवार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जानकारी गराएको फोकल पर्सन ओलीले बताउनुभयो । योसँगै बाँकेमा जिल्ला भित्रका सङ्क्रमितको मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ ।

यसै बिच प्राप्त अर्को समाचार अनुसार सगरमाथा आधार शिविरमा (पाँच हजार ३६४ मिटर) पुगेका एक आरोहीमा कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको छ । छ दिन अघि आधार शिविरमा सिकिस्त विरामी भएपछि काठमाडौं ल्याइएका नर्वेका आरोहीको स्वाब परीक्षण गर्ने क्रममा कोरोना भएको आशङ्का गरिएको आधार शिविरमा स्थापना गरिएको हिमालयन रेस्क्यु एशोसिएशनको हेल्थ क्याम्पमा कार्यरत डाक्टर सुरज श्रेष्ठले बताउनुभयो ।

पर्यटन विभागले पनि ती आरोहीलाई निमोनियाँ भएको जानकरी अस्पतालले दिएकाले आधार शिविरमा सजगता अपनाउन र स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको जनाएको छ ।

कोरोना भएको हुन सक्ने जानकारी भएपछि उक्त आरोहण दलका सदस्यलाई एक साता क्वारेन्टाइन बस्न लगाइएको छ । उहाँहरूलाई टेन्टभन्दा बाहिर आवतजावत नगर्न भनिएको छ । स्वास्थ्य मापदण्ड पालनामा सरकारले कडाइ गरे पनि उच्च क्षेत्रमा समेत कोरोना पुष्टि भएपछि आरोहीहरु त्रसित बनेका छन् । एजेन्सीका कर्मचारी र आरोही काठमाडौंबाट हेलिकप्टरमा आधार शिविर पुग्ने र आधार शिविरबाट काठमाडौं सिधा आवतजावत गर्ने गरेपछि कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने एजेन्सीहरुले अनुमान गरेका छन् ।

आरोहीहरुमा श्वास फेर्न गाह्रो हुने, भोक लाग्ने, सुख्खाखोकी जस्ता समस्या फैलिएपछि उच्च सर्तकता अपनाउन सुझाव दिएको सगरमाथा आधार शिविरमा स्थापना गरिएको हिमालयन रेस्क्यु एशोसिएसनको हेल्थ क्याम्पमा कार्यरत डाक्टर सुरज श्रेष्ठले बताउनुभयो ।

आधार शिविरमा ४० बढी देशबाट आरोहणका लागि आरोही आएका छन् । यस वर्ष ३७१ जनाले सगरमाथाको आरोहणका लागि अनुमती लिएका छन भने, पुमोरी आरोहणका लागि पाँच जना, ल्होत्से हिमालका लागि १०४ रनुप्से हिमालका लागि २३ जना गरी ५०३ जना आरोहीले आरोहण अनुति लिएका छन् । यी चार वटै हिमाल एउटै आधारशिविर भएर आरोहण हुने भएकाले सगरमाथा आधार शिविरमा भीड बढेको छ । हाल आधार शिविरमा आरोही, गाइड, कामदार गरी करिब १२ सय जनाभन्दा बढी रहेको एजेन्सीहरुले जनाएका छन् ।

आधार शिविरमा बिरामी भएर रेस्क्यू गरिएका व्यक्तिमा कोरोनाको जस्तो लक्षण देखिएपछि आधारशिविर पनि सुरक्षित नभएको पाइएको हिमालयन रेस्क्यु एसोसिएसन आधार शिविर हेल्थ क्याम्पका प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभयो । सङ्क्रमित आरोहण दलका सदस्यलाई एक साता क्वारेन्टाइनमा बस्न भने पनि थप परीक्षण जरुरी हुन सक्ने भन्दै यसमा पर्यटन विभागले चासो दिन शेर्पाले माग गर्नुभयो ।

आधार शिविरमा यो महिना सन् २०१९ मा भन्दा पनि बढी आरोहीले रहेकाले भीड बढी हुने पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनुभयो । कोरोना पुष्टि भनिए पनि अस्पतालले भने निमोनिया भएको भनेर जानकारी दिएको छ, तर आधार शिविरमा उच्च सर्कता अपनाउन र स्वास्थ्य मापदण्ड पालनागर्न कडाइका साथ निर्देशन दिइएको महानिर्देशक तामाङले जानकारी दिनुभयो ।

तर सरकारले खटाएका सम्पर्क अधिकृतहरु भने बुधबारसम्म एक जना पनि आधारशिविर पुग्न सकेको छैन । कम्पनीहरुका अनुसार सम्पर्क अधिकृत नहुँदा मापदण्ड पालना गराउन र सतर्कता अपनाउन समन्वयको अभाव भएको जनाएको छ । सम्पर्क अधिकृतहरु आरोहणदलका सदस्यहरुको साथमै आधारशिविर पुगेर आरोहण सम्पन्न भएपछि मात्र फर्कनुपर्ने कानुनी प्रावधान छ तर ३९ जनामध्ये एक जना पनि सम्पर्क अधिकृत आधारशिविर नपुग्दा गैरकानुनी गतिविधि हुने गरेको आरोही गाइड लाक्पा शेर्पाले बताउनुभयो । विभागले यसै महिनामात्र १६ वटा हिमालआरोहण अनुमति बापत ४९ करोड ४२ लाख राजस्व सङ्कलन गरेको छ ।

उता कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण रिपोर्टलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन् । सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर मेडिकल सेन्टरले जारी गरेका पोलिमर्से चेन रियाक्सन (पिसिआर) रिपोर्ट नक्कली भएको आशङ्का उनीहरूलाई यात्रा अनुमति नदिइएको हो ।    

    सिनामङ्गस्थित सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले स्वाब परीक्षण नै नगरी प्रतिव्यक्ति रु नौ हजारमा नक्कली रिपोर्ट जारी गरेको अभियोगमा मङ्गलबार दुवै संस्थाका आठजना कर्मचारी पक्राउ परेपछि सम्बन्धित विमान कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा अधिकारीले उनीहरूलाई विमानबाट झारेका हुन् ।    

    एयर अरेबियाको उडानबाट सारजाँ जान लागेका ५४ जना, सलाम एयरमा चढेर ओमान हिँडेका ३२ र जजिरा एयरको उडानमा कुवेत गन्तव्य बनाएका ३६ जनालाई विमानबाट उतारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले राससलाई बताउनुभयो । आज यात्रा गर्न नपाएका ती यात्रीलाई सम्बन्धित विमान कम्पनीले यात्राको पुनः व्यवस्था गर्ने नगर्नेबारेमा उनीहरूबाट कुनै निर्णय नभएको उहाँले जानकारी दिनुभयो ।    

    आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप ५० जनालाई फर्काइएको विमानस्थल सुरक्षा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताउनुभयो । विमानबाट उतारिएका र विमानस्थलबाट प्रस्थान गर्न नपाएकामध्ये ६८ भारतीय नागरिक छन् । सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले जारी गरेका स्वास्थ्य प्रतिवेदन यात्रीसँग भएकाले उनीहरूलाई अनुमति नदिइएको उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक