20210526

मधेशबादी दल जसपा भित्र र एमालेमा भाँडभैलो

   जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको हो । अध्यक्ष यादवलाई तीन दिनभित्र पार्टी कार्यालयभित्र पठाउने गरी सातबुँदे स्पष्टीकरण सोधिएको छ । पछिल्ला दिनमा जसपाको मूल्यमान्यता, नीति तथा पार्टीको विधान विपरीत कार्य गर्दै आएकाले विधानबमोजिम अनुशासनको बारबार्हीको व्यवस्थाअनुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरद्वारा

मङ्गलबार अबेर जारी विज्ञप्तिमा भनिएको छ ।

स्पष्टीकरणमा लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई निष्कासन गरेको, विपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर सर्वोच्च अदालतमा संसद् पुनःस्थापनाको माग गर्दै रिट दायर गर्न गएको, एकलौटी रुपमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी निर्णय गरिएको विषयमा प्रश्न सोधिएको छ ।त्यसैगरी, पार्टीको संसदीय दलको निर्णयअनुरूप प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा ठीक विपरीत विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेमा कुन कारणले हस्ताक्षर गरेको तथा सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनी प्रश्न उठाइएको छ ।

उता नेकपा (एमाले) को स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्दै सुदूरपश्चिम प्रदेशको सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता हुन सो पार्टीको प्रदेश कमिटीले निर्देशन दिएको छ । एमालेको स्थायी कमिटीले सोमबारको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसको दोस्रो दिन एमाले प्रदेश कमिटीले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ सहित मन्त्रीलाई निर्देशनसहित पत्र दिएको छ । प्रमुख सचेतक तामाङलाई प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता गराउन निर्देशन दिइएको छ ।

प्रदेश सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सबै एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल समूहका हुनुहुन्छ ।

एमाले प्रदेश कमिटीले तिनै मन्त्रीलाई फिर्ता भएर एमाले नेतृत्वमा सरकार बनाउन सहयोग गर्न निर्देशन दिइएको छ । प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सचेतकसहित तिनै मन्त्रीलाई निर्देशनसहित पत्र पठाउनुभएको हो । एमाले प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले स्थायी कमिटीको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार बनाउन मन्त्रीलाई फिर्ता हुन निर्देशनसहित पत्र दिइएको जानकारी दिनुभयो । प्रदेशको एमाले संसदीय बैठकले भने आज स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । प्रदेश कमिटी अध्यक्ष थापाले पार्टीको निर्णयविरुद्ध जानेलाई कारबाही गरिने बताउनुभएको छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक