20210615

पञ्चेबाजा सहितको दोहोरी गीतको भाकामा रोपाइँ !


सिन्धुली / कमलामाई नगरपालिका–३ जलकन्या निवासी किसान प्रकास मगरको खेतमा मङगलबार भएको रोपाइँको माहोल नै बिगतको भन्दा छुटटै रमाईलो थियो । रोपाइँ कुनै सांस्कृतिक कार्यक्रम भन्दा कम्ति थिएन । पञ्चेबाजा सहितको दोहोरी गीतको भाकामा रोपाइँमा आएका सबै (कामदार) आ–आफ्नो काम गरि रहेका थिए ।

रोपाइँमा आएका हली, लाठ्ठे, रोपाहार सबै दोहोरी गीत सुन्दै आफ्नो काममा व्यस्त देखिन्थे । रोपाइँलाई सङगितमय बनाएका थिए, कलाघर सिन्धुलीका कलाकारले । कलाघर सिन्धुलीका कलाकारहरु पनि रोपाइँमा आएका अन्य कामदार झै आफै काम गरेर सङगित सहित दोहोरी गीतको भाका पस्किदा स्थानीयको हेर्ने भीड पनि उत्तिकै थियो ।

किसानलाई कृषि पेशाप्रति उत्साहित बनाउन र गाँउघरमा लोप भएको अर्मपर्मको महत्व दर्शाउन निःशुल्क पञ्चेबाजा सहितको एक महिने सङगितमय रोपाइँ कार्यक्रम अभियानको रुपमा सुरु गरेको कलाघर सिन्धुलीले जनाएको छ ।

रोपाइँमा गोरु जोत्दै गरेको अवस्थामा भेटिनु भएका कलाकार सिन्धुलीका अध्यक्ष सुमन आईडुका अनुसार रोपाई गर्ने किसानले खबर गरेपछि कलाघरका कलाकार पञ्चेबाजा सहित रोपाइँमा उपस्थित हुन्छन । कलाकार रोपाइँमा आए बापत किसानले कुनै शुल्क तिर्नु पर्दैन । उहाँले भन्नुभयो, ‘मानो रोपेर, मुरी फलाउने असार महिना हो । यो बेलामा हामीले किसानलाई खेतीमा उत्साह जगाउन, कृषिसँग सङगितको महत्व दर्शाउन, संस्कृति मार्फत सचेतना जगाउन र किसानका समस्यालाई सङगित मार्फत सरकारलाई खबरदारी गर्ने यो अभियान चलाएका हौं ।’

उक्त अभियान असार महिनाभरि चलाईने उहाँले सुनाउनुभयो । कालाघर सिन्धुलीका अध्यक्ष आईडुका अनुसार उक्त सङगितमय रोपाइँ अभियान कार्यक्रम अन्तर्गत प्रत्येक दिनको ४५ मिनेटको ३० वटा ईपिस्योड (दृश्य) खिचिने छ । त्यसलाई युट्युब च्यानल र सिन्धुलीका दुई, रामेछापको एक र काभ्रेको एक गरी चार वटा रेडियोबाट प्रत्येक दिन प्रशारण गरिने छ ।

किसान प्रकास मगर कला घरका कलाकारहरु रोपाइँमा आएका अरु कामदार सरह काममा खटेर रोपाइँलाई नै सङगितमय बनाउदा आफु दङग परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘मैले त पहिलो पटक रोपाइँमा यस्तो रमाईलो देखेको हो । पहिले रोपाइँमा बेठी लगाउने भन्ने सुनेको त थिए, तर देखेको थिईन ।’

गाँउघरबाट लोप भएको बेठिलाई नै बिस्र्याउने गरी कलाघरका कलाकारले रोपाइँलाई अझ तताएको उहाँले सुनाउनुभयो ।

त्यसो त कलाघर सिन्धुली पछिल्लो समयमा लोपोन्मुख संस्कृतिलाई जर्गेना र संरक्षण गर्ने मन्दिरको रुपमा विकसित हुदै गएको स्थानीय बासिन्दा बताउछन् । स्थानीय शिक्षक कर्णबहादुर कार्कीले भन्नुभयो, ‘कलाघरका महिला कलाकार समेत पञ्चेबाजार बजाउन खप्पिस छन् । गाँउघरमा विवाह, ब्रतबन्धमा पञ्चेबाजा बजाउनु पर्दा कलाघरका कलाकार नै सबैको रोजाईमा पर्दै गएका छन् ।’

उहाँका अनुसार अन्य संस्कृतिहरु खैजेडी भजन, दोहोरी गीत गाउन, नाच्न र अन्य रमाईलो कार्यक्रमका लागि पनि कलाघरका कलाकार त्यत्तिकै अब्बल रुपमा गनिएका छन् । -  बाबुराम देवकोटा / गोप  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक