20210702

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ९१७९, म्युकर माइकोसिस (कालो ढुसी) का सङ्क्रमितहरु नेपालमा अहिलेसम्म २२ जना !

काठमाडौँ । कोरोना भाइरसबाट आज थप २ हजार २ सय ९९ जना संक्रमित भएका छन् । आज ६ हजार ५ सय ६६ नमूनाको सिपिआर परीक्षण गर्दा १ हजार ३ सय ९१ जना तथा ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै आज थप ३ हजार ४ सय ५१ जना भाइरस संक्रमण मुक्त भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४ प्रतिशत रहेको छ । कोरोनाका कारण

आज थप ३४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार १ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसै बिच प्राप्त एक अर्को समाचार अनुसार कोभिड सङ्क्रमण पुष्टि भएका बिरामीमा देखिएको म्युकर माइकोसिस (कालो ढुसी) का सङ्क्रमितहरु नेपालमा अहिलेसम्म २२ जना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी डा.समीर अधिकारीका अनुसार अहिले नेपालका विभिन्न जिल्लामा गरी २२ जनामा सङ्क्रमण पुष्टि भएको बताउनुभएको छ । अहिले कुन अस्पतालमा कति छन् भन्ने यकिन भने भइनसकेको उहाँले बताउनुभएको छ ।

यता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिलेसम्म म्युकर माइकोसिसका १५ जना बिरामी भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । जसमध्ये अहिले आठ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको र बाँकी डिस्चार्ज भएको अस्पतालका डा. राजेन्द्र प्रधानाङ्गले बताउनुभएको छ ।
डिस्चार्ज भएकामध्ये केहीको आँखाको शल्यक्रिया गरेर घर पठाइएको छ भने केहीको शल्यक्रिया गर्न नै नमिलेका कारण घर पठाउनुपरेको उहाँले बताउनुभएको छ ।

शल्यक्रिया गरेर घर फिर्ता भएकाहरुमा पूर्णतया निको हुने सम्भावना कम नै रहेको उहाँको भनाइ छ । “यो शल्यक्रिया गरेपछि निको हुन्छ नै भन्ने हुँदैन, हामीले आँखा वरिपरि जमेको रगत सफा गरेर हेर्छौ त्यसपछि मात्र शल्यक्रिया गर्ने नगर्ने निधो गर्छौ । हामीकहाँ आएका अधिकांश बिरामीहरु धेरै जटिलता भएपछि मात्र आएको कारणले पनि शल्यक्रिया गर्न नै समस्या भैरहेको छ ” उहाँले भन्नुभयो ।

कालो ढुसीको सङ्क्रमण भएको शङ्का लागेपछि नै अस्पतालमा जान उहाँले सुझाव दिनुभएको छ ।

कालो ढुसीका बिरामीका लागि दिइने एम्फोटेरिसिन बी नामको औषधिको अहिले अभाव रहेको उहाँले बताउनुभएको छ । यो औषधि कालाजारका बिरामीका लागि प्रयोग गरिँदै आएको भए पनि पछिल्लो समय कालो ढुसीका बिरामीका लागि पनि प्रयोग गरिँदै आइएको थियो ।
एम्फोटेरिसिन बी औषधिको अभाव रहेका कारण अहिले विकल्पका रुपमा पेसाकोनाजोल औषधिको प्रयोग गरिएको डा. प्रधानाङ्गले बताउनुभयो ।

कालोढुसीको सङ्क्रमण भएकालाई प्रयोग गरिँदै आएको कालाजारको एम्फोटेरिसिन बी नामको औषधि अहिले सकिएको र मन्त्रालय यो औषधि किन्ने प्रक्रियामै रहेको मन्त्रालयका सूचना अधिकारी डा.समीर अधिकारीले बताउनुभयो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक