20210822

नेपालका तत्कालिन राजा श्री ५ महेन्द्र र अफगानिस्तानका राजा जाहिर शाह जसले छुट्टै इतिहास लेखेर गएका छन् !

- खगेन्द्र गिरी कोपिला  

नेपाल नरेश श्री ५ महेन्द्र र अफगानिस्तानका राजा जाहिर शाह दुबै जना आफ्नो समयका योग्य शासकको रुपमा चिनिएका राजा हुन्।  संस्कृत भाषामा "महेन्द्र"को अर्थ राजामध्येका महान राजा हुन्छ भने अफगान भाषामा "जाहिर शाह" को अर्थ "देखिने,बुझिने, थाह पाइने ज्ञात राजा" भन्ने हुन्छ। यी दुबै राजाले आआफ्नो देशलाई आधुनिकताको बाटोमा हिँडाउनुका साथै आफ्नो देशमा मौलिक शासन प्रणाली लागू गरेर छुट्टै इतिहास लेखेर गएका छन्।

संसारभरि युरोपियन शक्तिको आधिपत्य भएको बेलामा एशियामा चार ओटा देश मात्रै स्वतन्त्र थिए- नेपाल, अफगानिस्तान, थाइल्याण्ड र जापान। दोश्रो विश्व युद्धपछि अन्तराष्ट्रिय शक्ति संघर्षको खेलमा थाइल्याण्ड र जापानले आफूलाई अमेरिकी गुटमा राखेका थिए भने नेपाल र अफगानिस्तानले असंग्लग्न परराष्ट्र नीति अबलम्बन गरेका थिए। 

श्री ५ महेन्द्र र जाहिर शाह दुबै असंलग्न आन्दोलनका प्रणेता पनि हुन् । २०१८ सालमा बेलग्रेडमा सम्पन्न असंग्लग्न देशहरुको प्रथम शिखर सम्मेलनमा भाग लिने २४ ओटा देशमध्ये नेपाल र अफगानिस्तान पनि हुन्। आआफ्नो देशको प्रतिनिधित्व गर्दै यी दुबै राजाले सो शिखर सम्मेलनमा भाग लिएका थिए। राजा जाहिर शाह श्री ५ महेन्द्रभन्दा ६ वर्ष जेठा थिए। श्री ५ महेन्द्र ५२ वर्ष नपुग्दै स्वर्गे भएका थिए भने जाहिर शाह ९३ वर्ष बाँचेका थिए। श्री ५ महेन्द्रले ३४ वर्षमा राजा भएर १७ वर्षसम्म राज गरेका थिए भने जाहिर शाहले १९ वर्षको उमेरमा राजा भएर ४० वर्षसम्म राज गरेका थिए। 

राजा जाहिर शाह इस्लाम धर्मको सुन्नी सम्प्रदाय मान्ने पश्तो भाषी "मोहम्मदजाई" कबिलाका थिए भने श्री ५ महेन्द्र फारसी भाषाको राजासूचक शब्द "शाह" लाई आफ्नो थर बनाएका नेपाली भाषी सनातन हिन्दु धर्मालम्बी चन्द्रवंशी ठकुरी हुन्। 

जाहिर शाहले युरोप पुगेर अंग्रेजी भाषाका विद्यालयमा उच्चशिक्षा प्राप्त गरेका थिए भने श्री ५ महेन्द्रले दरवार मैं संस्कृत भाषाको अध्ययन गरेका थिए।  पृष्ठभूमि र जीवनका आयामहरु भिन्न भिन्न भए पनि यी दुबै राजामा दुईटा कुरा समान थिए- देशप्रेम र विकासप्रतिको प्रतिबद्धता। 

२०२७ साल फाल्गुणमा राजा जाहिर शाहले नेपालको भ्रमण गरेका थिए। त्यो बेला दुबै राजाहरुले चितवन पुगेर वनविहार र आखेट पनि गरेका थिए।  नेपाल भ्रमणमा आउँदा आफ्नो सेवा सत्कारमा खटेका सुरक्षाकर्मी र कर्मचारीहरुलाई राजा जाहिर शाहले दिएका मूल्यवान उपहारहरुले त्यो बेला निकै चर्चा पनि पाएका थिए।

भनिन्छ- श्री ५ महेन्द्रकै प्रेरणाले सिको गरेर राजा जाहिर शाहले अफगानिस्तानमा पनि भुमिसुधार लागू गरि जिमिदार प्रथा उन्मुलन गर्नुका साथै आधुनिक मुलुकी ऐन लागू गरेर समाजमा व्याप्त इस्लामिक शरियत कानुनलाई निकै खुकुलो पारेका थिए। 

यी दुईटा कामले चिढिएका जिमिन्दार र धर्मगुरुहरुले सोभियत संघको सहयोग लिई अफगानिस्तानमा राजतन्त्रलाई नै विस्थापित गरि दिएका थिए। राजा जाहिर शाहले नेपाल भ्रमण गरेको ११ महिनापछि श्री ५ महेन्द्रको स्वर्गारोहण भएको थियो भने श्री ५ महेन्द्रको स्वर्गारोहण भएको ६ महिनापछि राजा जाहिर शाह इटाली भ्रमणमा गएको बेला अपदस्थ गरिएका थिए। 

आफ्नो देशको पिछडिएको समाजलाई आधुनिकताको बाटोमा हिंडाउने यी दुबै राजाका देशहरु आजभोलि चरम अस्थिरता र अव्यवस्था भोग्न अभिशप्त भएका छन्।

दुबै महान राजामा हार्दिक श्रद्धाञ्जली। 🙏💐


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक