20210814

ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई कम्तिमा आउने तीनै तहका निर्वाचनसम्म कायम राखौं - प्रचण्ड


* आफ्नै समूहका नेताहरुले मन्त्री बन्न दाम्लो चुँडाउन खोजे - माधव नेपाल


 * माधव नेपालको दह्रो साथ भएका कारणमात्र वहुमतमा छौं, कुनै पनि बेला अल्पमतमा पर्ने खतरा छ - प्रचण्ड

पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादी केन्द्रको प्रस्ताव प्रचन्डको निर्देशनमा अगाडि बढीरहेका, नेपाली काँग्रेसका सहयात्री तर एमाले वरिष्ठ नेता भनिने माधवकुमार नेपालले

आफ्नै समूहका नेताहरुले मन्त्री बन्न दाम्लो चुँडाउन खोजेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित वागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा कार्यक्रममा आफूले त्यसरी मन्त्री बन्न हतारिनेलाई केही समय रोकिन भनेको र उनीहरुले आफ्नो आग्रह मानेको बताए। ‘केही साथीहरुलाई हामी जान्छौं भनेर झण्डै दाम्लो चुँडालेर तयार हुनुभयो,’ नेता नेपालले भने, ‘दाम्लो चुँडाल्नेलाई म के गर्न सक्छु । आफ्नैलाई त रोक्न सकिएको छैन् । तैपनि मैले भनेको कुरालाई मान्नु भएको छ। दाम्लो नचुँडाउनुहोला मैले भनिरहेको छु । अहिले अन्तिम कोसिस गर्न नदिनुहोस् । मन्त्री ठूलो कुरा होइन । विचार ठूलो कुरा हो । पद ठूलो कुरा होइन, नीति ठूलो कुरा हो ।’

उनले अझैं पनि एमाले अध्यक्ष केपी ओलीको मन परिवर्तन गर्न सकिन्छ कि भनेर आफ्ना साथीहरु प्रयास गरिरहेको र आफूहरु अन्तिम प्रतिक्षामा रहेको बताए । उनले भने, ‘हामी अझैं पनि अन्तिम प्रतिक्षामा छौं । अझैं पनि कोसिस जारी छ । हाम्रो कोसिस गर्ने कमरेडले सक्नुहुन्छ कि, मन परिवर्तन गर्नका लागि ।’ सरकारमा सहभागिता र नियुक्तिहरुबारे पनि नेता नेपालले टिप्पणी गरे । ओली सरकारले एकलौटी रुपमा गरेका नियुक्तिमा के गर्ने भन्नेबारे छलफल जारी रहे पनि आफूहरुले सरकारलाई मन्त्रिपरिषद् विस्तार र नियुक्तिमा नरोकेको बताए। ‘हामीले रोेकेका छैनौं सरकारलाई,’ उनले भने, ‘हामीले भनेका छौं कि तपाईंहरु सरकार बनाउँदै गर्नुहोस्, मन्त्री बनाउँदै गर्नुहोस् । अहिले हामी पठाउन सक्दैनौं । किनभने हाम्रै टुंगो छैन् । किभने हामी छुट्दै भइदिएको भए फलना-फलनालाई पठाउने भन्ने हुन्थ्यो होला।’ 

नेपालले नेकपा एमालेले जनविश्वास कायम राख्न नसकेको भन्दै आफ्ना लागि मैदान खाली रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले एमालेभित्र रहेको गलत र अहंकारी प्रवृतिले जनविश्वास गुमेको भन्दै आफ्ना लागि मैदान खाली रहेको बताए । नेपालले भने– एमालेले जनविश्वास कायम राख्न सकेन । हामी अन्तिमसम्म पनि सहज बाटो (एमाले एकता)को पक्षमा छौं । तर न रुन सकिने, न हाँस्न सकिने जस्तो अवस्था नआओस । सहज बाटो नै रोज्न खोजेका छौं, अपमान सहेर एकता हुन्न, त्यो बेला असहज बाटो लिनु बाध्यता हो । एमालेमा वामदेव गौतमजस्तो अपमानित भएर भाग्नुपर्ने र घर न घाटको अवस्था आउने अवस्था आफ्नो लागि स्वीकार्य नहुने नेपालले बताए । असहज बाटो रोज्ने आफ्नो चाहना नभए पनि बाध्यता हुन सक्ने भन्दै उनले एमाले विभाजनको संकेत गरेका छन् ।

यसै बिच लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री एवम् नेकपा (एमाले) नेता शंकर पोखरेलले कम्युनिष्ट विरोधी शक्तिहरुले आफ्ना नेताहरुलाई ‘प्रोभोक’ गरेको दावी गरेका छन्। शनिबार एमाले बाँके जिल्ला कमिटीको १७ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने : कम्युनिष्ट विरोधी शक्तिहरुले हाम्रा नेताहरुलाई प्रोभोक गरे। हाम्रा नेताहरुविरुद्ध प्रयोग गरे। र, अहिलेको परिस्थितिमा हामी छौं।’ पोखरेलले प्रतिनिधिसभा विघटन कारण नइ नेकपा विवादको परिणाम भएको बताए। भने, ‘कतिपयले नेकपा भित्रको विवाद प्रतिनिधिसभा विघटनका कारण भन्छन्। त्यो गलत हो। त्यसभन्दा पहिले नै नेकपामा विवाद शुरु भइसकेको थियो । प्रतिनिधिसभा विटघन कारण नभइ परिणाम हो।’

यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकार माधव नेपालको दह्रो साथ भएका कारणमात्र वहुमतमा रहेको भन्दै कुनै पनि बेला अल्पमतमा पर्ने खतरा औंल्याएका छन् । शनिवार शुरु भएको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिको विश्लेषण गर्दै जसपाको महन्थ ठाकुर पक्ष आफूहरुसँग नरहने भन्दै माधव नेपाल एमालेमा फर्र्किएको अवस्थामा सरकार खतरामा पर्ने बताए । प्रचण्डको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने : माधवजी दह्रिलोसँग उभिएका कारणमात्रै हाम्रो वहुमत पुगेको हो र केपी ओलीलाई ढाल्न सकिएको हो । यो सरकार कुनै पनि बेला अल्पमतमा पर्ने खतरा छ,हामी धेरै हौसिन जरुरी छैन । प्रचण्डले अहिलेको गठबन्धन भत्काएर ओलीकै सरकार ल्याउने षडयन्त्र भइइरहेको भन्दै प्रतिगमनको खतरा कायमै रहेको विश्लेषण सुनाए । उनले जसपाको उपेन्द्र पक्षका २० जनासहित कांग्रेस र माओवादीको सिट संख्या जोड्दा १३१ मात्र हुने र बहुमतका लागि १३६ सांसद चाहिने भएकाले माधव नेपालको साथ महत्वपूर्ण रहेको बताए ।

विगतमा जस्तो आजको बैठकमा माधव नेपालको रणनीतिबारे प्रचण्ड खुलेर नबोलेको ती केन्द्रीय सदस्यले बताए । रणनीति लिक हुने भएकाले माधव नेपालको बारेमा प्रचण्डले सांकेतिक कुरा गर्दै भने– माधवजीको बारे धेरै नभनौं,आशा गरौं ठिकै होला ।

उता नेकपा माओवादी केन्द्रले केपी ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई कम्तिमा आउने तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सारेको छ । शनिवार काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने नीति रहने उल्लेख छ । आफ्नो प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने समेत योजना अघि सारेका छन् । उनले ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत बताएका छन् । नेपाल प्रेसका अनुसार एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको भन्दै प्रचण्डले आफ्नो प्रतिवेदन मूल रुपमा ओलीविरुद्ध केन्द्रित गरेका छन ।

नेकपा माओवादी केन्द्रले असोज १० देखि पुस ११ सम्म सबै तहका पार्टी कमिटीहरुको सम्मेलन सम्पन्न गर्ने कार्ययोजना पेश गरेको छ । शनिवार शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले गरेको प्रस्ताव अनुसार भदौ मसान्तसम्म सदस्यता नविकरण र नयाँ सदस्यता वितरण टुंग्याउने उल्लेख छ । त्यस्तै असोज १० गते देशैभर एकैदिन सबै सेल कमिटी र टोल भेला गर्ने प्रस्ताव सांगठानिक कार्ययोजनामा गरिएको छ । त्यसपछि असोज २० गते वडा सम्मेलन गर्ने र २० गते एकै दिन गाउँपालिका र नगरपालिकाको सम्मेलन सम्पन्न हुनेछ । कात्तिक ३० गते जिल्ला सम्मेलन, मंसिर १५ गते प्रदेश सम्मेलन र पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव प्रचण्डको छ । तत्काल महाधिवेशनको अवस्था नरहेकाले सबै तहमा सम्मेलनहरु गर्ने प्रस्ताव बैठकमा आएको केन्द्रीय सदस्य युवराज चौलालगाईले जानकारी दिए । सम्मेलनमा नेतृत्व र संगठनका विषय पनि आउने उनको भनाइ छ ।

सदस्यता नविकरण/वितरण : भदौभर

सेल र टोल समिति भेला : असोज १०

वडा सम्मेलन देशैभर : असोज २०

स्थानीय तह सम्मेलन : असोज ३०

जिल्ला सम्मेलन : कात्तिक ३०

प्रदेश सम्मेलन: मंसिर १५

राष्ट्रिय सम्मेलन : पुस ११–१३

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक