20210812

कम्तीमा ४५ लडाकू मारिए, विद्रोही तालिवान लडाकूले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी !

 अफगानिस्तानको हेल्मान्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् । सो घटनामा परी अरु २२ जना घाइतेसमेत भएको सुरक्षा अधिकारीले बिहीबार जानकारी दिएका छन् ।  “हेल्मान्ड प्रान्तको नाहर सराज जिल्लामा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् भने २२ घाइते भएको,” रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । 

घटनास्थलबाट सुरक्षाकर्मीले यातायातका साधन, विस्फोटक पदार्थलगायत लडाकूले प्रयोग गर्दै आएका महत्वपूर्ण सामग्री नियन्त्रणमा लिएका छन् । त्यसैगरी बल्ख प्रान्तमा पनि अरु २७ लडाकू मारिनुका साथै चार घाइते भएको रक्षा मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । 

त्यसैगरी हेरात प्रान्तमा पनि २१ तालिवान लडाकू सुरक्षा कारबाहीका क्रममा मारिएको ती सुरक्षा अधिकारीले जनाएका छन् । तालिवान लडाकूले देशका विभिन्न क्षेत्रमा हिंसात्मक क्रियाकलाप बढाएका छन् भने सरकारी सुरक्षाकर्मीले पनि त्यसका जवाफी सुरक्षा कारबाही चलाएका छन् । 

यसै बिच विद्रोही तालिवान लडाकूले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् । रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नी शहर नियन्त्रणमा लिएको लडाकूले बिहीबार जानकारी दिएका छन् ।  घटनास्थल राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्दछ । योसँगै तालिवान लडाकूले अफगानिस्तानमा अहिलेसम्म १० प्रान्तीय राजधानी कब्जा गरेको दाबी गरेका छन् । 

पछिल्लो चरणमा विद्रोही लडाकूले एक हप्तादेखि विभिन्न प्रान्तीय राजधानी नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएका छन् । लडाकूले घाज्नी सहर नियन्त्रणमा लिएका छन्, एक अधिकारीले पत्रकारसँग भने । उनका अनुसार घटनास्थलमा लडाकू र सरकारी सुरक्षाकर्मीका बीचमा अहिले पनि भीडन्त भइरहेको छ ।

सरकारले अफगानिस्तानका धेरै ठाउँमाथिको नियन्त्रण गुमाउदै गएको छ । विषेश गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकूले आफ्नो पकड बढाउदै लगेका हुन् ।  

अफगानिस्तानको सुरक्षामा द्रुतरुपमा देखिएको गिरावटको मुख्य कारण अमेरिकी सेनाको हतारमा भएको फिर्ती नै हो । तर अमेरिकी राष्ट्रपतिले भने सेना फिर्ता गरेकोमा पछुतो नभएको बताउनु भएको छ । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताउनु भएको हो । 

यद्यपि राष्ट्रपति बाइडेनले अफगानिस्तानका लागि संघर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गर्नुभएको छ । बीस वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ ।

तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरु शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ ।




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक