20211002

कविता : रगतको पोलाई !

"रगतले पोल्छ" 

त्यसै भनेका होइनन् रहेछन् बुढापाका 

पोल्दो रहेछ, 

भतभती पोल्दो रहेछ !

पोल्ने रगत, 

कसै कसैलाई ठाडै सुकाउँदो रहेछ 

कसै कसैलाई डिप्रेसनमा पुर्‍याउँदो रहेछ 

कसै कसैलाई त झन्....,

आत्महत्या गरूँ गरूँ जस्तो पो बनाउँदो रहेछ !  

कतिखेर बरबराउने,

कति खेर रुन मन लाग्ने, 

अचम्मकै पोलाई हुँदो रहेछ रगतमा ! 

कति खेर फेरी जङ्गल जान मन लाग्ने 

कतिखेर बालुवाटारमा बम वार्ड गर्न मन लाग्ने 

कति खेर जुट्न मन लाग्ने 

कतिखेर फुट्न मन लाग्ने 

यता जाम कि उता जाम अस्थिर बनाउने 

वल्ला घरको नरे, पल्ला घर सरे जस्तै 

सरी रहने, 

शक्ति र भक्तिका लागि मरिरहने 

छिन मै हाँस्ने 

छिन मै रुने    

जे पनि गर्ने 

जसो पनि बोल्ने 

मानसिक अस्पताल भित्र,

शैयामा बरबराउने बिरामी जस्तो ! 

कतिखेर भावुक हुन मन लाग्ने 

अचम्मकै हुँदो रहेछ रगतको पोलाई !

त्यसैले रगत सँग नखेल्दा राम्रो 

रगतको होलीबाट टाढै हुँदा राम्रो 

रगतसँग खेल्न त परैको कुरा,

रगत नछुँदा नै राम्रो 

रगतलाई शरीर भित्रै खेल्न दिएको राम्रो 

मुटुलाई फिल्टर गर्न दिएकै राम्रो 

रगतको होली नबगाएकै राम्रो 

यस्तै छ जिन्दगीको अनुभव र ठम्याइ हाम्रो    

नपत्याए रगतले पोलेकाहरूलाई सोध्नुस ! 

- रामप्रसाद खनाल, अक्टोबर ०२, २०२१


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक