20220125

भागबन्डा नमिल्दा विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त !

 सत्तारुढ दलहरु बिच भागबन्डा नमिल्दा विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत पद नै रिक्त रहनु राम्रो नभएको भनाइ कूटनीतिज्ञहरूको छ ।

विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न नेपाल सफल भएको छ । परराष्ट्रविद् मदनकुमार भट्टराई असल सम्बन्ध स्थापित गर्न अत्यावश्यक माध्यमका रूपमा रहेको राजदूतावास खाली रहँदा नाम मात्रको कूटनीतिक सम्बन्ध रहन जाने बताउनुहुन्छ । यसरी राजदूत पद खाली रहँदा नेपालको आफ्नो प्रतिनिधित्वमा विदेशमा सवाल उठ्नसक्ने उहाँको भनाइ छ ।

तीन देशका राजदूतको संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको छ तर संयुक्त अधिराज्य बेलायतबाट मात्रै अहिलेसम्म स्वीकृति (एग्रिमो) प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझैसम्म स्वीकृति प्राप्त नहुँदा राजदूत नियुक्तिमा ढिलाइ भइरहेको छ ।


नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा राख्न विभिन्न मुलुकमा ३० वटा दूतावास स्थापना गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्क, जेनेभा र भियनामा गरी तीनवटा स्थायी नियोग कायम गरिएको छ । ल्हासा, कलकत्ता, हङकङ, जेद्दा, न्युयोर्क, ग्वान्जाओ र छेन्दुमा गरी विभिन्न सातवटा महावाणिज्य दूतावास रहने परराष्ट्र मन्त्रालयको साङ्गठनिक संरचना छ ।


तर हाल १० वटा मुलुकमा मात्र राजदूत रहँदा अन्तर्राष्ट्रिय गतिविधि निष्क्रिय भएको गुनासो बढेको छ । केहीको हकमा एउटै दूतावासले चार–पाँचवटासम्म मुलुकसँगको द्विपक्षीय र बहुपक्षीय सम्बन्ध हेर्दै आएका छन् । गत कात्तिकमा राजदूत सिफारिस हुनुभएका तीन जनालाई पनि हालसम्म नियुक्त गरिएको छैन । त्यस समयमा अघिल्लो सरकारका पालामा पठाइएका राजदूत फिर्ता बोलाएर भारतका लागि डा. शङ्कर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिएको थियो । संसदीय समितिबाट उहाँहरूको सार्वजनिक सुनुवाइ सकिए पनि नियुक्ति भएको छैन । उहाँहरूको पदभार हस्तान्तरण हुने प्रक्रियामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


राजदूत फिर्ता बोलाइएका मुख्य देशहरूमध्येकै रहेको उत्तरी छिमेकी मुलुक चीनका लागि भने त्यो बेलामा राजदूत सिफारिस भएको छैन । अझ नेपाली कामदारको बढी आवतजावत हुने मुलुकहरू दक्षिण कोरिया, श्रीलङ्कालगायतका राजदूत नहुँदा कार्यसम्पादनमा असर पर्ने गरेको विभिन्न मुलुकमा रहनुभएका नेपाली नागरिकले बताउनुभएको छ । खाली रहेका २० मुलुकमै राजदूत पठाउने गरी परराष्ट्र मन्त्रालयले अहिले पहल गरिरहेको प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उहाँका अनुसार परराष्ट्र मन्त्रालयबाट पठाइने राजदूतका दाबेदारको नामको सूची तयार छ । तर, राजनीतिक आधारमा नियुक्त गरिने राजदूतको नाम मन्त्रालयमा आउन नसक्दा प्रक्रिया अड्किएको छ । उहाँले भन्नुभयो, “हाम्रातर्फबाट पठाउने विषयमा कुनै ढिलाइ भएको छैन, राजनीतिक दलहरूले पठाउने नाम भने अहिलेसम्म आएको छैन ।” उहाँले राजनीतिक दलहरूले नाम पठाएपछि बाँकी प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक