20220119

‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार !’

 - स्वयम्भूनाथ कार्की

एकादेशमा एक जङ्गल रहेछ । त्यस जङ्गलमा थुप्रै चराहरू बस्दा रहेछन् । नजिकैको बस्तीमा शिकारी पनि बस्दोरहेछ । चरा मार्न उसले जाल बिछ्याउने गर्दोरहेछ । पहिले केही चराले मन पराउने चारो भुइँमा छर्ने अनि त्यसमाथि जाल बिछ्याउने चाल चल्दै उसले एकै पटकमा निकै चराहरू मार्ने गरेको रहेछ । एक झुण्डै त्यसमा पर्ने गरेकोले चराहरूमा निकै खैलाबैला भएछ । यसरी जालमा पर्दै जाने हो भने आफ्नो जातिको अस्तित्व समाप्त हुन सक्ने चिन्ताले पिरोलिएर यसबाट कसरी बच्ने भन्ने सुझाव दिन आयोग नै बनेछ । निक्कै अध्ययनले आयोगले आफ्नो जातिको सङ्ख्या घटने कारण र त्यसको रोकथामको उपाय पत्ता लगाएछ । शिकारीले यसरी जालमा पारेर मार्ने रहेछ भन्ने थाहा पाएपछि चराहरूको महाधिवेशन बोलाइएछ ।

प्रस्ताव सर्वसम्मतबाट पास भएछ कि शिकारीले दिएको लोभमा फसेर जालमा पर्न हुँदैन ! यसका निमित्त चराहरूमा चेतनाको अभियान चलाउनु पर्दछ । प्रत्येक चरालाई शिक्षित गर्नु पर्दछ ! यसैअनुरुप सबै चरालाई कण्ठस्थ पार्न लगाइएछ कि ‘शिकारी आउने छ, मिठामिठा चारो हाल्ने छ, तर त्यो जाल हो लोभले त्यसमा नफस्नु !’ सबै चरालाई यो कुरा कण्ठस्थ भएपछि महाधिवेशन समापन भएछ । यता शिकारी पनि निकै समयदेखि चराहरू नदेख्दा अचम्ममा परेको रहेछ । तर, महाधिवेशन सकेर आएका चराहरूको हुल देखेर शिकारी प्रसन्न भएछ अनि सदाझैँ जाल थापेछ । चराहरू त्यही मन्त्र जप गर्दै आएछन् । तल शिकारीले चारो हालेको पनि देखेछन् । मन्त्र जप्दै चारो टिप्न खोजेका सबै चराहरू जालमा परेछन् । तर मज्जाको कुरा त के भने अधिवेशनले पारित गरेको मन्त्रचाहिँ उनीहरूले शिकारीले नमारुन्ज्याल जपेछन् ।

यही गति र मति हो आजको नेपाल हाँक्न खोज्ने र तिनीहरूलाई साथ दिनेहरूको । कुरा नबुझेको कसैले छैन तर सबै आफूचाहिँ अपवाद भएको दम्भ पालेर बसेका छन् । आजको नेतृत्व र प्रणाली असफल भएको कुरामा सर्वसाधारणको त कुरै छोडौँ अगुवाहरू पनि एकमत छन् । बारम्बार असफल हुँदै मुलुकलाई रसातलतर्फको यात्रामा एक खुड्किला पार गर्दे फेरि पालैपालो असफलताको गाथा वृद्धि गर्न लागिपरेका छन् । लर्ड मेकालेको पद्धतिबाट शिक्षित बुद्धिजीवीहरू बरु मुलुक समाप्त भए पनि होस्, जनता भोकभोकै मरे पनि मरुन् तर यिनै असफल दलहरूकै हातमा मुलुक सुम्पिरहनु पर्दछ भन्ने दूराग्रह राख्दछन् । यसमा सहयोग पुऱ्याउन नेपाललाई विनाशको प्रयोगशाला बनाउन धन लगानी गरी अनेक किसिमका अधिकारकर्मीहरूको जमात तैयार गरेका विदेशी शक्तिकेन्द्रहरू पनि लागेका छन् ।


पहिले राजतन्त्र संविधानभन्दा माथि (?) भयो सबै संंविधानभित्रै हुनु पर्दछ भनी कुर्लनेहरू आफैले बनाएको र जतिखेर पनि आफ्नो घरको झैँ संशोधन गर्न मिल्ने अन्तरिम संविधानको पनि पालना गर्न पर्दैन जस्तो काम गरे । झ्यालबाट भिड हेरेर विधि र विधान मिचेकोे कुरालाई ‘आवश्यकताको सिद्धान्त’ भन्दै मान्यता दिनाले न्यायपालिकाले पनि आफ्नो गरिमामा आफै धक्का हान्यो । अन्तरिमकालमा जब अरु अङ्ग धर्मराउँछन्-न्यायपालिकाले थाम्नुपर्ने थियो । के भयो वा के गरियो त्यो नेपालीको अनुभव हो । तर सङ्क्रमण सकिएपछिको वर्तमानमा न्यायपालिकाको कु न हविगत छ अनि न्यायमुर्तिहरूको तेजोबध कसरी भएको छ वा छैन त्यो न्यायक्षेत्रमा काम गर्नेहरूले नै अनुभव गर्ने कुरा हो ।


जमिनको हदबन्दीलाई मात्र भूमिसुधार मान्ने अनि जमिनसँग जोडिएकाहरूमा नै सामन्ती खोज्ने स्वघोषित विज्ञहरूको विज्ञताले खान पुग्नेसम्म पनि उत्पादन हुन छोडेको छ । राजनैतिक दल र तिनका सदस्यहरूको अयोग्यताको गाथा अरुले गाइदिनै पर्दैन । उनीहरू आपैm ढोल नगडा बजाएर सुनाउँदैछन् । बारम्बार गलत हुने ब्याख्या दिएर, आफूलाई पूर्वपन्थी, दक्षिणपन्थी, वामपन्थी वा पश्चिमपन्थी बुद्धिजीवी घोषित गरेर वा गराएर बुद्धिजीवीहरू आफै पतन भइसके । कुनै पनि पन्थको बुद्धिजीवी हुँदैन बरु बुद्धिजीवीले पन्थको स्थापना गर्दछ भन्ने साश्वत सत्य नै थाहा नपाउनेहरूलाई बुद्धिजीवी त होइन बरु बुद्धिकर्मी भन्नुपर्ने हुन्छ । जसरी यौनकर्मीले यौन बेचेर जीविका गर्दछ त्यसैगरेर यस्ता बुद्धिकर्मीहरू बुद्धि बेचेर जीविका गर्दछन् ।


खरानीको राम्रो व्यापार हुन्छ भनेर घर पोली त्यसको व्यापार गरिँदैन । तर नेपालमा त्यही नै गरियो र अझै गरिँदै छ । पुरानो नभत्काइ नयाँ बन्दैन भनेर पुरानो भत्काइयो अर्थात् घर पोलियो । खरानीको व्यापार पनि राम्रो भएन । सङ्घीयतारुपी नयाँ संरचना बनाउन सरकार संसारभरी कटौरा थाप्दैछ । मुलुक बामे सर्न पनि नसकेको अवस्थामा छ तर हुङ्कार भने दौडेर ओलम्पिकमा प्रथम हुने खालको छ । बुद्धिकर्मीहरूले भनेको लोकतन्त्र साइबर कानुन, अपराधसंहिता आदिमा हतकडी धारण गरेर बसेको छ । सम्पुर्ण सम्पत्ति पार्टीलाई बुझाएर कायम गरेको साम्यवाद सर्वहाराको काँध चढेर विलासी जीवनमा रमाएको छ । पुरानो भत्काउन उकास्ने कतिपय बुद्धिकर्मीहरू गन्गनाउन शुरु गर्दैछन्- ‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार !’


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक