20220109

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो, माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न सिफारिस

 कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । अघिल्लो भन्दा यो हप्ता कोरोना सङ्क्रमितको अस्पताल भर्ना दर दोब्बर सङ्ख्यामा वृद्धि भएको कोभिड–१९ युनिफाइड अस्पतालका प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले बताउनुभयो । प्रा.डा. बस्नेतले केन्द्र तथा प्रदेशका सबै कोभिड अस्पतालहरूमा कोरोना संक्रमित सङ्ख्या बढेको हुँदा सबै युनिफाइड कोभिड अस्पतालहरूमा आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।  

यस्तै, गत असोज महिनायता सयको दर झरेको संक्रमित सङ्ख्या आज बढेर १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।आज ८ हजार ८ सय ४८ नमुनाको पिसिआर परीक्षण गर्दा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ नमुना एन्टीजेन परीक्षणबाट ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज संक्रमित २ सय २४ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको छ । 

यसै बिच कोरोना सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ प्रजाति आमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएपछि सिसिएमसीका तर्फबाट त्यस्तो सिफारिस भएको हो ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मात्रै देशभर एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमणको मात्रामा पछिल्ला दिनमा व्यापक वृद्धि भएको छ । कम्तीमा पनि १५ दिन विद्यालयलगायत बढी भिडभाड हुने सार्वजनिक स्थानलाई बन्द गर्न सिफारिस गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रका सहसचिव एवं प्रवक्ता सुनिता नेपालका अनुसार कोरोनाका बढ्दो जोखिमलाई ख्याल गर्दै तत्कालका लागि आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरिएको छ ।


सिसिएमसीले गरेको सिफारिसलाई कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ । केही विद्यालयले हिउँदे बिदा गरेका छन् । केही विद्यालय तथा कलेजमा परीक्षा जारी छ । परीक्षा जारी रहेका कलेजलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । हिउँदे बिदा गरेका विद्यालयलाई भने आगामी माघ १५ सम्म लैजान भनिएको छ । 


आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थिति थियो । बैठकले बढी भिडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । 


राजनीतिक दललाई भिडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सव लगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ । बैठकले जिल्लाको अवस्था हेरे थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक