20220205

हत्याकाण्डका अभियुक्तमध्ये फरार रहेका दुई पक्राउ

 मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा भएको हत्याकाण्डका अभियुक्तमध्ये फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार हत्याकाण्डका फरारमध्ये पक्राउ पर्नेमा सुनसरी देवानगन्ज–६ का १८ वर्षीय मोहमद हकिम र मोरङ रंगेली–३ का २२ वर्षीय मोहमद सुभाम रहेका छन् । ‘उनीहरूलाई हामीले हिजो साँझ मोरङबाटै पक्राउ गरेका हौं,’ एसपी जिसीले राजधानीसँग फोन सम्पर्कमा भने, ‘हाम्रा आफ्नै अनुसन्धानका टेक्निकहरू छन्, सोही टेक्निकलाई फलो गरेर पक्राउ गरेका हौं ।’


यसअघि शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै तीन जना अभियुक्तलाई सार्वजनिक गरेको थियो । सिरहा नगरपालिका–२१ स्थायी घर भई हाल काठमान्डौं बल्खु बस्दै आएका अनिलकुमार मण्डल, उनका दुई सहयोगी मोरङ जहदा गाउँपालिका–४ स्विनीका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान ७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलमलाई यसअघि नै मोरङ प्रहरीले सार्वजनिक गरेको हो ।


प्रहरीले थप दुई जनालाई शुक्रबार साँझ पक्राउ गरेर शनिबार सार्वजनिक गरेको हो । ‘पछि पक्राउ परेकाहरू गरीब मजदुर हुन्, दैनिक ज्यालादारीमा निर्भर रहँदै आएका उनीहरू ४० हजारको लोभमा हत्यामा संलग्न भएको खुलेको छ,’ एसपी जिसी भन्छन्, ‘क्विक अप्रेसन फलो गरेर उनीहरूलाई पक्राउ गरेका हौं, ज्याला मजदुरी गर्दै आएकालाई ४० हजारको लोभ देखाइएको रहेछ ।’ एसपी जिसीका अनुसार अनिलकुमार मण्डलले अमित भनिने दिनानाथ साहलाई लेभर खोज्ने जिम्मा दिएकाले उनैले प्रतिव्यक्ति ४० हजार दिने लोभमा ती दुई जनालाई काम लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा हत्या गरेर खाल्डो खनी गाडिएको अवस्थामा गत माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका–४ का शम्भुकुमार चौधरी र माघ १३ गते धरान ३ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो । यस्तै, माघ २० गते ललितपुरको गोदावारी नगरपालिका–१२ ठेचो चरंगखेलस्थित गोदाम घर रहेको कम्पाउन्ड क्षेत्रमा तेह्रथुमको संक्रान्ति २ घर भई हाल काठमाडौं ८ गोठाटार बस्दै आएका मोहन लिम्बुको पनि शव फेला पारेको थियो । तीनवटै हत्या एकै किसिमको भएपछि घटना रहस्यमय बनेको थियो । एपसी जिसीका अनुसार अरूहरूको पनि संलग्नता हुनसक्ने भएकाले प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक