20220323

कविता : वगैचाबाट नालीमा पुगेको फूल !

  - पुरुषोत्तम दाहाल

सप्तरंगी वगैचामा 
मुस्कुराइ रहेको त्यो फूल
 स्वच्छ पवन छर्ने सुगन्धपूर्ण 
 परिभ्रमकहरुका लोभी आँखाले 
 चुम्वन गरिरहेका भेटिन्थे ।
 बाल वृद्ध ,वगैचामा टहल्न आउनेहरु
 युवा मनमुटुको स्पन्दन थियो त्यो फूल
 प्रेमील जोडीको अनुराग थियो 
 जति वूढो भए पनि 
 लाग्थ्यो ः  उन्मत्त वैंसको 
सौन्दर्य सीमा छैन उसमा ।
कहिल्यै न चाहुरिने , 
कहिल्यै नसुक्ने ,
कहिल्यै न झर्ने 
 कहिल्यै न थाक्ने
 जीवन्त मुस्कान अनुहारमा मुस्कुराइ रहेको
पातहरुसंगै थियो त्यो फूल
अनेक हुरी वतासमा त्यो फूल झरेन
मान अपमानको वाण वर्षामा 
उसको कहिल्यै मृत्यु भएन ।
 कतिलाई लाग्थ्यो 
त्यसलाई टिपेर शीरमा सिउरौं कि 
 कतिलाई लाग्थ्यो ः
 ओठ र गालामा नै टाँसौ कि 
 कतिलाई लाग्थ्यो ः 
 आफ्नै विच्छ्यौनालाई 
सुकोमल सौन्दर्य र सुगन्धले भरौं कि 
 मानिसहरुले त्यो फूललाई 
देवताको शीरमा  चढाउन चाहेनन् , 
किनकि ओइलाउँथ्यो र कुहेर जान्थ्यो ।
त्यो फूललाई वगैचामा नै हेर्न चाहेका थिए । 
तर हठात् फूल आफै भूँइमा खसे छ 
र ढलमा वग्दै वग्दै हराए छ ।
आज,
वगैचा शून्य थियो । 
मानिसहरुको कुनै भीड थिएन 
फूल कुहिएर कता गयो ?
कसैले भने ः ढल टुकुचामा जोडिएको छ 
कसैले भने ः ढल वाग्मतीमा पुगेको छ 
जहाँ पुगेपनि शीरमा सजाउन नसकेको 
फूल कुहुने भएको छ
र वगैचा रिक्त, रिक्त जस्तो भएको छ ।

२०७८ । १२ । ९ ।
हालः केही दिनकालागि  रिच्मण्ड भर्जिनिया

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक