20220328

आरोप, प्रत्यारोप, छेडखानीमै ब्यस्त नेता र दलहरु, देश र जनताका लागि कोही देखिएनन जिम्मेवार !

 नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैसाखी टेकेर एमालेसँग लड्न नसकिने बताएका छन् । उनले गठबन्धनप्रति लक्षित गर्दै बैसाखी टेकेर मात्र होइन सबै मिलेर आए पनि एमालेलाई हराउन नसक्ने दाबी गरे । एमाले कपिलवस्तुले सोमबार आयोजना गरेको पार्टी प्रवेश तथा वृहत् जनसभामा बोल्दै अध्यक्ष ओलीले बलियो साँढे नेपाली काँग्रेसले बैसाखी टेकेर दायाँ र वाँया गरेको बताए ।

उनले एमालेले जिते मात्र राष्ट्र समृद्ध हुने दाबी गरे । सम्बोधन गर्दै नेता ओलीले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासले मुलुकमा परिवर्तन आउने बताए । अध्यक्ष ओलीले एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने दाबी गरे ।

उनले धेरै समय आफ्नो कार्यकालमा भएका काम को चर्चा गरेका थिए । उनले प्रधानमन्त्री हुँदा विकासको लहर चलेको बताउँदै हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमान स्थल, देशमा तुइन विस्थापन जस्ता देश विकासको योजना आफ्नो पालामा भएको दाबी गरे ।

कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष विष्णु पौडेलले एमालेको खबरदारी कै कारण स्थानीय तहको निर्वाचन हुन लागेको बताए । उपाध्यक्ष पौडेलले स्थानीय निर्वाचनमा एमालेलाई हराउन कसैसँग तागत नभएको दाबी समेत गरे ।

एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधनका क्रममा ओलीको परिकल्पना अनुसार नेपालको विकास हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै एमाले सचिव टोप बहादुर रायमाझीले एमालेप्रति जनताको विश्वास बढेको बताए । एमाले प्रवेशपछि बोल्दै सङ्घीय सांसद वृजेश कुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको हुँदा कार्यकर्तासहित प्रवेश गरेको बताए ।

अब समग्र मधेसमा एमालेले स्थानीय तहको निर्वाचन जित्ने समेत गुप्ता बताए । गुप्तासँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्म बहादुर लाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं. १ वडाध्यक्ष सुदिप पौडेल, वडा नं. ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं. १२ का वडाध्यक्ष ओम प्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं. ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नं. ८ अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गरेका थिए ।

सांसद गुप्ता ७ हजार कार्यकर्ता सहित प्रवेश गरेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले दाबी गरे । यसै गरी कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्ता सहित एमाले प्रवेश गरेको उनको दाबी छ ।

यसै बिच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताए । 

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवातर्फ लक्षित गर्दै थापाले अहिले गठबन्धनका नाममा अरु पार्टीलाई भोट हाल्न लगाइएका मतदातालाई कांग्रेसमा फर्काउन सकिन्छ भनेर प्रश्न गरे । ‘अहिले रुखबाहेक अन्त भोट हाल्न लगाएका मतदातालाई कांग्रेसमा फर्काउन सकिन्छ ?’, उनले सोधे ।

गगनले थपे, ‘देशभरका लाखौं मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हँसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’

अरु सदस्यलाई जस्तै थापालाई पनि समयको पाबन्दी थियो । उनले बोल्दा बोल्दै ५ मिनेट सकिएको जानकारी समय सूचकले घण्टी बजाएर दिएपछि उनले आफ्नो भनाइ टुंग्याएका थिए ।

बैठकमा महामन्त्री थापाले भने, ‘नेपालमा कम्युनिस्टबाट लोकतन्त्रलाई खतरा छ भनेर हामीले बारम्बार भन्यौं, के अब कम्युनिस्टलाई मिल्न नदिएर लोकतन्त्र बचायौं भनेर जाने हो ? कम्युनिस्टबीच तालमेल हुन नदिनु नै लोकतन्त्र हो त ?’

उता नेपाली कांग्रेसमा चुनावी गठबन्धनको पक्षमा प्रमुख नेताहरू प्रखर रूपमा खुलेका छन् । केन्द्रीय कार्य समितिको जारी बैठकमा सभापति शेरबहादुर देउवालाई उनको समूहभन्दा इतरका नेताहरूको समेत बलियो समर्थन देखिएको छ । 

सोमबारको बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीलाई बलियो बन्न नदिन पनि कांग्रेसले माओवादी र नेकपा एकीकृत समाजवादीलाई मत दिनुपर्ने बताए ।

उनले अहिलेका लडाइँ एमालेविरुद्ध भएकाले गठबन्धन जरुरी रहेको जिकिर गरेका छन् ।

बैठकमा पौडेलले भने, ‘केपी ओलीलाई कुनै हालतमा बलियो बन्न दिनु हुँदैन । बरु समाजवादी र माओवादीलाई मत दिएर एमाले साइजमा राख्नुपर्छ । यो लडाइँ एमालेविरुद्ध हो । त्यसैले गठबन्धन जरुरी छ ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीले आगामी चुनावमा केन्द्रबाट जबरजस्ती गठबन्धन लाद्नु गलत हुने बताएका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले गठबन्धन केका लागि गर्ने भन्दै प्रश्न उठाए ।

कोइरालाले भने, ‘गठबन्धन कोसँग किन र केका लागि गर्ने ? गठबन्धनभन्दा पार्टी एकतामा जोड दिऊँ ।’

उनले गठबन्धन गर्नेभन्दा पनि तलैबाट पार्टीभित्र एकता र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कोइरालाले थपे, ‘गठबन्धन माथिबाट गर्ने, तर तलका कार्यकर्ताबीच चाहिँ एकता हुन नसके के हुन्छ अवस्था ? हामीले त्यसमा ध्यान दिन जरुरी छ । केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं ।’

त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर आफूलाई धोखा दिई एमालेमै बसेका नेताहरू अवसरवादी र ओलीका दास भन्दै उनीहरू कुनै पनि बेला कुटिन सक्ने टिप्पणी गरेका छन् । 

नेकपा एस निकट युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गदै अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेर १० बुँदेका नाममा एमालेमा बसेकाहरू निरीह रहेको र उनीहरूलाई फरक मत राख्न समेत अधिकार नरहेको बताए ।

उनीहरूको सहारा र सल्लाहमा ओलीविरुद्ध लडाइँ लडेकोमा उनीहरूले अन्तिममा धोखा दिएको नेपालले बताए । नेपालले केपी ओलीले पार्टीभित्र पहिले देखिनै गुन्डा र साइबर स्यालहरूको जमात तयार पारेकाले त्यहाँभित्र फरक मत राख्नेहरूलाई कुनै पनि बेला हातपात हुन सक्ने बताए । 

अध्यक्ष नेपालले केपी ओली अझै पनि राजावादीहरूसँगको षड्यन्त्रमा रहेको बताउँदै पाँच दलीय गठबन्धन तीनै तहको चुनावमा हुने बताए । उनले युवा संघलाई गाउँ तहदेखि नै चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् ।


उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पा नवनिर्वित भ्यूटावरको उद्घाटन गरेका छन् । उनले क्रान्तिकालमा मात्रै नभएर रोल्पाले शान्तिकालमा पनि विकास-निर्माण र समृद्धिको नेतृत्व गर्न सक्छ भन्ने स्पष्ट भएको बताए ।

जनयुद्धको पछिल्लो दुई वर्ष आफूले रोल्पाका गाउँबस्तीमा बिताएको प्रचण्डले स्मरण गरेका थिए ।

उनले सुनाए, ‘लडाइँका बेला अप्ठेरो पर्‍यो भने म रोल्पा आउने गर्थेँ । भेटघाट र अन्तरक्रिया गरेपछि नयाँ ऊर्जा प्राप्त हुन्थ्यो । नयाँ योजना बनाएर क्रान्तिलाई निर्णायक तहमा पुर्‍याउने अठोट लिएर जान्थेँ ।’

प्रचण्डले अहिले पूर्वाधार विस्तारमा रोल्पाले राम्रो प्रगति गरेको भन्दै खुसी व्यक्त गरे ।

‘रक गार्डेन र भ्यूटावरले राम्रो पर्यटकीय गन्तव्यका रूपमा रोल्पालाई विकास गरेको छ । यसलाई स्वर्गद्वारीसँग् जोडे देशभरिबाट नै पर्यटक आउनेछन् ।’

भ्यूटावरले जनयुद्ध संग्रहालयको पनि भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

‘म असाध्यै खुसी र गौरवान्वित भएको छु’ प्रचण्डले भने ।

यसै बिच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनः स्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् ।

राप्रपा नेपालले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो १५ वर्षको राजनीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनः स्थापनको सम्भावनालाई समाप्त पारेको बताए ।

राजसंस्थाको पुनः स्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्वराजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम मात्र गरेकाले राजसंस्था पुनः स्थापनाको सम्भावना समाप्त भएको अध्यक्ष थापाले प्रस्ट पारे ।

उनले राजसंस्था पुनः स्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्व राजा र उनको सचिवालयले गरेको चलखेलका कारण आफू नयाँ बाटोतर्फ लागेको प्रस्ट पारे ।

अध्यक्ष थापाले आउने स्थानीय तहको निर्वाचनबाट धेरै अपेक्षा नराखे पनि देशकै सम्पूर्ण स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवार चुनाव लड्ने जानकारी दिए ।

प्राप्त अर्को समाचार अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकको निर्णयप्रति असहमति जनाउँदै पार्टीका नेता  भीम चापागाईँले पार्टीमा नरहेको घोषणा गरेका छन् ।

पार्टीका व्यूराे सदस्य रहेका नेता चापागाईँले कपिलवस्तुमा केन्द्रीय समिति बैठक सकिए लगत्तै सोमबार विज्ञप्तिमार्फत पार्टीमा नरहेको घोषणा गरेका हुन् ।

क्रान्तिकारी पार्टीले स्पष्ट राजनीतिक लाइन पास गर्नुपर्नेमा दोधारे नीति लिएको भन्दै त्यसमा आफ्नो असहमति रहेको चापागाईँले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले नेतृत्व तहमै आएको सैद्धान्तिक विचलनकै कारण बैठकले स्पष्ट राजनीतिक लाइन लिन नसकेको बताएका छन् ।

पार्टीको मुख पत्र रातो खबरको जिम्मेवारी सम्हाल्दै मनाङको सेक्रेटरीसमेत भइसकेका चापागाईँले यसअघिको चुनाव बहिस्कारको क्रममा होनहार योद्धाको शहादत र कयौँ योद्धा घाइते हुनको साथै दर्जनौँ योद्धा अझै पनि जेलमै रहेको अवस्थामा पार्टीले घुमाउरो तरिकाले पार्टी संसदीय भासमा नै फस्ने खेलमा लागेको बताएका छन् ।

‘संसदीय चुनाव धोको हो भन्दै यसअघि बहिस्कार गर्ने क्रममा होनहार योद्धाको शहादत र कयौँ योद्धा घाइते हुनको साथै दर्जनौँ योद्धा अझै पनि जेलमै छन् । घुमाउरो तरिकाले पार्टी संसदीय भासमा नै फस्ने खेल नेतृत्वबाट नै हुनु आफैमा ठूलो विडम्बना हो । जुन कल्पनाभन्दा बाहिरको कुरा थियो । यसबाट म लगायत सम्पूर्ण क्रान्तिकारी योद्धा, मुक्ति कामी जनसमुदाय र क्रान्तिकारी आन्दोलनप्रति ठूलो कुठाराघात भएको छ । पार्टीको केन्द्रीय समितिले लिएको दोधारे राजनीतिक लाइनप्रति असहमति राख्दै आजका मितिबाट म नेपाल कम्युनिस्ट पार्टीमा नरहेको यसै विज्ञप्तिमार्फत जानकारी समेत गराउँदछु।’ विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक