20220303

रुसले युक्रेनमा आक्रमण गरेको आठौँ दिन बिहीवार मुख्य सहरहरूमा व्यापक बमबारी, दोस्रो विश्वयुद्धका बेला नाजीले सेन्ट पिटर्सबर्ग सहरमा आक्रमण गर्दाताकाको जस्तै अवस्था उत्पन्न

 रुसले युक्रेनमा आक्रमण गरेको आठौँ दिन बिहीवार मुख्य सहरहरूमा व्यापक बमबारी भइरहेका छन्। ब्ल्याक सीको बन्दरगाह सहर खेअरसान रुसको कब्जामा जाने पहिलो मुख्य सहर भएको छ। अर्को बन्दरगाह सहर मारिउपोलमा रुसी घेराबन्दीले मानवीय सङ्कट उब्जिएको मेयरले बताएका छन्।

किएभ नजिक रुसी बख्तरबन्द गाडीहरूको लस्कर यथावत छ। राजधानीमा ठूल्ठूला विस्फोटन भएका छन्। युक्रेन र रुसबीच दोस्रो चरणको शान्तिवार्ता हुँदैछ। रुसद्वारा युक्रेनमा गरिएका आक्रमणबारे हामीले निरन्तर समाचार दिँदै आएका छौँ।

उता युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलका मेयरले रुसी सेनाको घेराबन्दीका कारण त्यहाँ दोस्रो विश्वयुद्धका बेला नाजीले सेन्ट पिटर्सबर्ग सहरमा आक्रमण गर्दाताकाको जस्तै अवस्था उत्पन्न भएको बताएका छन्।

“उनीहरूले यहाँपनि घेराबन्दी गर्दैछन् जस्तो लेनिनग्राद (सेन्ट पिटर्सबर्गको तत्कालीन नाम)मा भएको थियो,” भादिम बोइचेन्कोले भने।

रुसी सेनाले सहरको बिजुली, खानेपानी, खानेकुरा, न्यानो पार्ने प्रणाली सबैको आपूर्ति अवरुद्ध पारिदिएको उनले बताए।

गैरसैनिकहरूको उद्धार विथोल्न रुसी फौजले रेलसम्पर्क समेत ध्वस्त पारिदिएको उनले बताए।

यो सप्ताहान्तमा त्यहाँको तापक्रम माइनस २ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण छ।

यसै बिच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानीमा युक्रेनलाई असैनिकृत गरिदिने र तटस्थ बनाइदिने आफ्नो उद्देश्य सफलतापूर्वक सम्पन्न हुने बताएका छन्।

उनीहरूबीच भएको टेलिफोन कुराकानीबारे दिइएको विवरणमा युक्रेनद्वारा वार्तामा गरिने ढिलाइले केवल रुसका मागहरू बढ्दै जाने पुटिनले बताएको उल्लेख छ।

साथै पुटिनले बुधवार माक्रोँले गरेको एक सम्बोधनप्रति आफ्नो विमति जनाएका थिए।

सो सम्बोधनमा माक्रोँले युद्ध सुरु गर्न केवल पुटिनमात्र जिम्मेवार रहेको बताएका थिए।

युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (UNHCR) ले बिहीबार जनाएको छ ।  

आफ्नो ट्विटर ह्यान्डलमा UNHCR उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौँ ।    

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू – डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाव युद्धमा परिणत भएको छ ।   

यसैबीच, संयुक्त राष्ट्र सङ्घको महासभामा बुधवार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन् ।

रुसले युक्रेन अतिक्रमण गरेको एक साता बितेको छ।

यतिखेर युक्रेनका मुख्य सहरहरूमा रुसी आक्रमण निकै तेज पारिएको छ।

तर हालसम्म एउटामात्रै मुख्य सहर रुसी कब्जामा पुगेको छ।

बिहीवार भएका मुख्य घटना यसप्रकार छन्:

रुसी सेनाले रणनीतिक महत्त्वको बन्दरगाह सहर खेअरसन आफ्नो नियन्त्रणमा लिएको छ। रुसले कब्जा गरेको यो पहिलो महत्त्वपूर्ण सहर हो।

अघिल्लो बिहीवार यता १० लाखभन्दा धेरै मानिसले युक्रेन छाडेका छन्। तीमध्ये आधा जति छिमेकी पोल्यान्डमा गएको संयुक्त राष्ट्रसङ्घले बताएको छ।

द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा भएका सम्भावित युद्ध अपराध तथा मानवताविरुद्ध अपराधको अनुसन्धान थालेको छ।

कैयन् सहरहरूमा व्यापक बमबारी भइरहेको छ। मारिउपोल सहरमा घाइतेलाई मद्दत गर्न समेत गाह्रो परिरहेको मेयरले बताएका छन्।

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले तेस्रो विश्वयुद्ध भएमा परमाणुयुद्ध हुने चेतावनी दिएका छन्। तर रुसले त्यसबारे सोचबिचार नगरेको उनले बताए।

राजधानी किएभमा ठूल्ठूला विस्फोटन भएका छन्। हालसम्म सहर युक्रेनी सरकारकै नियन्त्रणमा छ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक