20220310

अमेरिका, बेलायत र युरोपेली देशहरुले युक्रेन माथि गरिएको रुसी आक्रमणका विरुद्ध आर्थिक प्रतिबन्धहरु शुरु गरे

अमेरिका, बेलायत र युरोपेली देशहरुले युक्रेन माथि गरिएको रुसी आक्रमणका विरुद्ध आर्थिक प्रतिबन्धहरु शुरु गरेका छन् । अमेरिका र बेलायतले रुसी इन्धन माथि प्रतिबन्ध लगाएका छन् भने युरोपेली संघले युरोपेली मुलुकमा आपूर्ति हुँदै आएको रुसी ग्यास माथिको आत्मनिर्भरता अन्त्य गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र युरोपेली संघको कदमले रुसी अर्थतन्त्रको मुख्य धमनी लाई लक्षित गरेको बताउनु भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले अमेरिकाले गरेको तेल प्रतिबन्धको स्वागत गर्नुभएको छ ।

ऊर्जा निर्यात रूसको लागि राजस्वको एक महत्त्वपूर्ण स्रोत हो । तर यो कदमले पश्चिमा मुलुकका उपभोक्ताहरूलाई पनि असर गर्ने सम्भावना भने रहेको छ । युक्रेन माथि भइरहेको रुसी आक्रमणको विरोधमा ठूला ब्रान्डहरु रुसबाट बाहिरिने क्रम जारी छ ।

पछिल्लो समय म्याकडोनाल्ड र कोकाकोला पनि रुसबाट बाहिरिएका छन् । रुसी अर्थतन्त्र इन्धन माथि मुख्य रुपमा निर्भर रहेको छ । रुस विश्वकै तेस्रो ठूलो इन्धन उत्पादक हो । इन्धन उत्पादन र आपूर्तिमा साउदी अरेबेरिया र अमेरिकापछि रुस रहेको छ ।

यसै बिच विगत ११ दिनदेखि युक्रेन विरुद्ध रुसी आक्रमण जारी छ । पछिल्ला दिनमा रुसले नागरिकलाई लक्षित गरी विद्यालय, बालकक्ष र अस्पतालमा आक्रमण आक्रमण गरेको भन्दै चौतर्फी विरोध हुन थालेको छ ।

युक्रेनी उपप्रधानमन्त्री ओल्हा स्टिफ्यानिसिनाले रुसले युक्रेनका नागरिकहरुलाई लक्षित गरी अस्पताल, विद्यालय र बालकक्षहरुमा आक्रमण गरेको बताउनु भएको छ ।

युक्रेनी सेनाको कडा प्रतिरोधका बीच रुसले युक्रेनी नागरिक विरुद्ध आक्रमण गरेको बताइएको छ । युक्रेनको इर्पिनबाट सुरक्षित गन्तब्यमा जाने क्रममा रुसी सेनाको आक्रमणमा परी हिजो एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

रुसी आक्रमण नरोकिएकाले बन्दरगाह सहर मारिउपोलमा सामूहिक उद्दार कार्य बन्द गरिएको छ । मरिउपोलमा विगत पाँच दिन देखि पानी, बिजुली र सरसफाई बन्द छ । नागरिकहरुले जगेडामा राखेको खाद्यान्न र पानी पनि सकिन लागेकाले सर्वसाधारण संकटमा छन् ।

विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य सेवा र निकायमा आक्रमण गरिएकाले उपचारको अभावमा मृतकको संख्या बढ्ने र घाइतेहरुले उपचार नपाउने भन्दै आपत्ति जनाएको छ ।

संयुक्त राष्ट्र संघका अनुसार रुस युक्रेन युद्ध शुरु भएयता ३ सय ६४ जना युक्रेनी नागरिकले ज्यान गुमाएका छन् । १५ लाखभन्दा बढी नागरिकहरु छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् ।


विश्वभर विभिन्न सहरमा युक्रेन युद्धको विरोधमा हजारौँले प्रदर्शन गरेका छन् । युद्धका कारण आम नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको र लाखौं नागरिक विस्थापित हुन बाध्य बनाएको भन्दै तत्काल युद्ध रोक्न माग गर्दै प्रदर्शन गरिएको छ ।


रुसलाई तत्काल युद्ध अन्त्य गर्न माग गर्दै हजारौं सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् । थाइल्याण्ड, बेलायत, क्रोयसिया र स्वीट्जरल्यान्डमा भएका प्रदर्शनमा युद्धको अन्त्य गर, युक्रेन बचाऔ, युक्रेनका लागि प्राथना गरौं जस्ता प्लेकार्ड बोकेर हजारौंको संख्यामा सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् ।


रुसले युक्रेन माथि गरेको युद्धको विरोधमा रुसभित्रै पनि प्रदर्शन भएको छ । रुसी स्वतन्त्र मानव अधिकार समूहको नेतृत्वमा रुसका विभिन्न सहरमा प्रदर्शन गरिएको हो । गत साता रुसले युक्रेन माथि युद्ध शुरु गरेयता युद्ध विरोधी प्रदर्शनमा सहभागी ८ हजारभन्दा बढीलाई गिरफ्तार गरिएको छ ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक