20220416

शेर बहादुर र प्रचन्ड मिलेपछी चितवनमा रडाको, देशभर नै असन्तोष, तराइ पुगेर ओली फेरि पड्किए


 नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताउनु भएको छ। भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र) लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताउनु भयो । शुक्रबार चितवन आउनु भएको कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा (माओवादी केन्द्र) लाई छाड्ने गरी तालमेल हुने बताउनु भयो । सिंहको भनाइले

जिल्लामा पुनः तरंग ल्याएको छ । भरतपुरमा यसअघि नै एक पटक माओवादी केन्द्रलाई सहयोग गरिसकेकाले आलोपालोको मान्यताअनुसार यसपालि कांग्रेसले पाउनुपर्ने खनालले दोहो¥याउनु भयो । 

‘कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय त्योभन्दा तल्लो निकायले मान्न बाध्यकारी छौँ । म कांग्रेसको चितवन सभापति भएकाले पनि मान्न तयार छु । तर, निर्णय मान्ने हो कि निश्कर्षमा पुग्ने हो । जुन निकायले निर्णय गर्ने हो भोलि नतिजा अनुकुल वा प्रतिकुल हुँदा पनि त्यो निकायले पूर्ण रुपमा जिम्मा लिनुपर्छ,’ उहाँले भन्नुभयो ।

चितवन कांग्रेसले १५ दिनअघि नै संस्थागत निर्णय गरेर भरतपुर महानगरको मेयर नछाड्ने कुरा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराईसकिएको उहाँले बताउनु भयो । नजिता सकरात्मक आउने तरिका यो हो भनेर चितवन कांग्रेसले सघन छलफल गरेर केन्द्रीय समितिलाई लिखित प्रतिवेदन बुझाइसकेको भन्दै उहाँले एकात्मक खालको अवसरबाट गठबन्धनलाई स्थायित्व दिन नसकिने र जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने बताउनु भयो। ‘समयको आवश्यकताअनुसार बनेको गठबन्धनसँग तालमेल गरेरअघि बढ्ने कुरामा तयार छौँ तर तालमेल जायज हुनुप¥यो । ग्राउण्ड सुहाउँदो हुनुप¥यो,’ उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसको मूल्य, मान्यता, सिद्धान्त र विधानमा रुख चिह्नबाहेक अन्त पनि मत हाल भन्ने व्यवस्था नरहेको भन्दै उहाँले गठबन्धन गरेर अन्य चिह्नमा मत हाल्ने निर्णय गर्नु नै अनुशासनहिन काम भएको बताउनु भयो । 

विगतमा गरेको सहयोग र वर्तमान संगठनको हिसाबले भरतपुर महानगरले मेयर कांग्रेसले पाउने गरी गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने कांग्रेसको संस्थागत निर्णय रहेको उहाँले बताउनु भयो । ।

त्यही निर्णयलाई आत्मसाथ गर्दै अन्य तहमा तालमेल गर्न जिल्ला संयन्त्रमा सघन छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। ‘पटक पटक मेरो पक्षमा नै हुनुपर्छ भन्ने दृष्टिकोणबाट गठबन्धन मजबुत हुन सक्दैन । एउटा पक्षलाई निराश बनाएर अर्को पक्ष सँधै खुसी हुने प्रवृत्तिबाट गठबन्धन सघन भएर जान सक्दैन,’ उहाँले भन्नुभयो ।

चितवनमै  स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारीक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए । पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजिनामा दिएको उनले बताए । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ । उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् ।

उता सर्लाहीमा आफूलाई मधेसका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए । शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी दिएका छन् ।

विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले मधेशका नागरिकलाई मधेशको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गरे । २०४६ सालको आन्दोलनपछि २०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उनले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरे । मधेशको जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उनले दाबी गरे । एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताए । २२ वर्ष पहिला आफ्नो सरकारले ल्याएको हुलाकी सडकको अवधारणाले मधेशको विकासले काँचुली फेरेको ओलीले बताए ।

जनकपुरबाट ढल व्यवस्थापन सुरु गरेको बताउँदै मधेशका सबै ठाउँमा ढल र पानीको सुविधा पुर्‍याउने उनले बताए । आफ्नै सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सुरुगरेको उनको जिकिर छ । यसलाई एमालेको सरकारले बढाउँदै लैजाने उनले बताए ।

उनले मधेशका नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यस पटक चुनावमा अत्यधिक बहुमतसहित विजयी हुने ठोकुवा गरे । फरक प्रसंगमा बोल्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन विकास विरोधी भएको आरोप लगाएका छन् ।

यसै बिच निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारवाही गर्ने चेतावनी दिएको छ । रुपन्देहीका सञ्चारकर्मीहरूसँग शनिबार आयोजित अभिमुखीकरणमा आयोगले आचारसंहिता प्रधानमन्त्रीदेखि आम नागरिकसम्म सबैले पालना गर्नुपर्ने र कहीं कतैबाट उल्लंघन भए कारवाही हुने प्रतिबद्धता जनाएको हो । आचारसंहिता उल्लंघन भए त्यसबारे जानकारी गराउन र आचारसंहिता पालनामा सचेत गराउन पनि आयोगले सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले निर्वाचन आचारसंहिता कसैले पनि उल्लंघन गर्न नहुने बताए । आचारसंहिता उल्लंघनबारे सम्पूर्ण कुरा आयोगले मात्र अनुगमन गर्न सक्दैन, उल्लंघन भए सञ्चारमाध्यमले निगरानी गरेर जानकारी गराउनुपर्ने हुन सक्छ,’ उनले भने । पत्रकारिता क्षेत्रले पनि आचारसंहिता पालना गर्नुपर्नेमा पनि जोड दिँदै उनले सुरक्षा निकाय जस्तैं सञ्चार माध्यमको भूमिका पनि महत्वपूर्ण रहेको बताए । नागरिकले सबैभन्दा बढी विश्वास मिडियाको गर्ने र मिडियानै नागरिकमा सूचना पुग्ने पहिलो माध्यम भएकाले त्यसलाई अझ बढी विश्वस्त बनाउन उनले आग्रह गरे । उनले निर्वाचनको माहोल सिर्जना गर्न मिडियाको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए । आयोग संविधान ऐनमा रही नयाँ कार्य गर्न गर्न खोजिरहेको उनले बताए ।

‘निर्वाचन आयोगका क्रियाकलाप, नागरिकका विचार र दलका गतिविधिसम्मलाई अनुगमन गरेर सत्यतथ्य समाचार आउन जरुरी छ,’ उनले भने, ‘यसले आयोगलाई समेत गल्ती कमजोरी पत्ता लगाउन र सुधार्न सहज हुनेछ ।’

निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संवेदनशील हुनुपर्ने बताए ।

सूचना आयोगका पूर्व आयुक्त यशोदा तिम्सिनाले निर्वाचनमा सञ्चारकर्मीहरू मिथ्या सूचना र दुष्प्रचारबाट बच्नुपर्ने बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले निर्वाचन तोकिएकै मितिमा हुँदैन भन्ने भ्रम चिर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई अपमानपूर्ण व्यवहार गर्न थालिएको भन्दै त्यसरी अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।  शनिबार काठमाडौंमा भएको पार्टी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीबारे केहीलाई अझै भ्रम रहेको पनि बताए । उनले आफ्नो पार्टीबारे भ्रम रहेकाहरुले कता-कता  अवमूल्यन गर्ने गरेको सुनेको भन्दै त्यसो नगर्न चेतावनी समेत दिएका हुन् । ‘हाम्रो शक्तिको बारेमा विभिन्न पार्टीहरूलाई अझै पनि भ्रम छ । यो भ्रम भएकाले कताकता हामीमाथि अपमानपूर्ण व्यवहार गरेको सुन्नमा आएको छ’, अध्यक्ष नेपालले भने, ‘त्यही भएर हामीले भन्ने गरेका छौ यसरी आफ्नो शक्तिको अति मूल्याङ्कन गर्ने काम नगर्नुस् ।  हाम्रो शक्तिको अवमूल्यन पनि नगर्नुस् ।’ अध्यक्ष नेपालले कसले अवमूल्यन र अपमान गर्यो भनेर किटान नगरेपनि उनको भनाई गठबन्धनका नेताप्रति लक्षित रहेको थियो । अध्यक्ष नेपालले आफ्नो शक्ति निर्णायक शक्तिका रुपमा रहेको दावी पनि गरे ।

‘हाम्रो शक्ति निर्णायक शक्तिका रुपमा रहने गरेको छ । निर्णायक शक्तिका रुपमा रहेकाले नै केपी ओलीको समूहलाई वादशाहलाई घोडाबाट झारे झै झार्ने कुरामा निर्णायक भूमिका खेलेको छौ, चेतना भया’, अध्यक्ष नेपालको भनाइ छ । उनले केपी ओलीको संगत दक्षिणपन्थहरुसँग रहेको भन्दै आफुहरुले वामपन्थी र लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन गरेर दक्षिणपन्थी प्रतिगमनकारीहरुसँग संघर्ष गरिरहेको बताए । 

नेता नेपालले विशेष परिस्थितिमा पार्टी गठन गरेको भन्दै कतिपयले आफ्नो पार्टी नयाँ कि पुरानो भनेर प्रश्न उठ्ने गरेको भन्दै  दुवै प्रश्न सहि भएको बताए । ‘पार्टी नयाँ हो, आन्दोलनको हिसाबले पुरानो हो । नामको हिसाबले नयाँ र नेतृत्वको हिसाबले लामो समय खारिएका नेताहरु, कार्यकर्ताले भरिएको पार्टी हो’, नेपालको भनाइ छ । पार्टी गठन भएको छोटो समयमै निर्वाचनमा जानुपर्ने अवस्था आएको भन्दै  एक वर्षको समय पाएर चुनावमा जान पाएको भए वास्तविक शक्ति देखाउन सक्ने अध्यक्ष नेपालको भनाइ छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक