20220416

सन्दर्भ स्थानिय निर्वाचन : चुनावी तालमेल, निर्णय एक, प्रश्न अनेक

 - प्रा. पुरुषोत्तम दाहाल
 नेपाली कांग्रेसले सत्तागठबन्धन दलहरूसँग चुनावी तालमेल गर्ने संस्थागत निर्णय गरेपछि अनेक सम्भावित प्रश्नहरूको जन्म भएको छ ।  उत्तरापेक्षी प्रश्नहरू : 

(१) नेपाली कांग्रेसले यो निर्णयको आधार केलाई मानेको छ ? के यी सही हुन् ? 

(२) स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै चुनावी तालमेलको आवश्यकता किन महसुस गर्दैछ कांग्रेस नेतृत्व ?

(३) के सात वर्षसम्मको देउवा नेतृत्व यति कमजोर भइसक्यो कि कम्युनिष्ट पार्टीको बैसाखी अनिवार्य भएको छ ? 

(४) अथवा अरू केही पार्टीको बैसाखी हुनै पर्ने बाध्यात्मक परिस्थिति कांग्रेससँग छ ?

(५) के सम्पूर्ण स्थानमा कांग्रेसजनले यो निर्णयलाई अनुशासनका रूपमा अनिवार्य पालना गर्लान् ? 

(६) पालना नगरेको अवस्थामा कांग्रेसमाथि अरू दलको विश्वास कतिसम्म रहन्छ ? 

(७) अनि सबैभन्दा महत्वपूर्ण प्रश्न हो : नयाँ पुस्तामा पार्टीको पहुँच विस्तार गर्ने र हिजो विरोधमा रहेकाहरूलाई पनि आफ्नातर्फ आकर्षित गर्ने अवसर भनेको निर्वाचन नै हो । तर, जहाँ गठबन्धन हुन्छ त्यहाँका हजारौं युवा मतदातालाई कांग्रेस नेतृत्वले अर्को पार्टीमा मतदान गर्न आहृवान गरेपछि यो पार्टीको भविष्य कस्तो होला ?

(८) के नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई अपराजेय शक्ति स्वीकार गरेको हो र उसको शक्तिसँग आफू पराजित हुने विश्वासमा भयभीत भएको हो ? 

(९) के गठबन्धन दलका मतदाताहरूले नेपाली कांग्रेसका उम्मेदवारलाई सहमतिअनुसार मत दिने विश्वास छ ?

(१०) माओवादी केन्द्र र नेकपा समाजवादी जस्ता दलहरू के अब कांग्रेसको सहयोगमा पूर्ण लोकतान्त्रिक विचार, पद्धति र लक्ष्यमा विश्वास जनाउनेछन् र साम्यवादी सपना बाँड्न, पार्टीको नाम र अन्तर्राष्ट्रिय झण्डा त्याग्न तयार हुन्छन् ? 

(११) आजको यक्ष प्रश्न हो : कांग्रेससँग मिलेर शक्ति आर्जन गरेपछि माओवादी र नेकपा समाजवादी एमालेसँग मिल्ने र अरू सबै कम्युनिष्ट पार्टीहरू नेपाली कांग्रेस र लोकतान्त्रिक प्रणालीविरुद्ध गोलबद्ध हुँदैनन् भन्ने कुनै विश्वसनीय संकेतहरू छन् ? 

(१२) यदि भोलिका दिनमा कमजोर कांग्रेसले फेरि अर्को लडाइँ लड्ने अवस्था आउने छैन भनेर आजको कांग्रेस नेतृत्वले प्रत्याभूत गर्नसक्छ ? 

(१३) नेपाली कांग्रेसका सदस्यहरूमध्ये करिब साठी प्रतिशत आज पनि हिन्दूराष्ट्रका पक्षमा स्पष्ट देखिन्छन् । तर, कांग्रेसले माओवादी र समाजवादीलाई मत दिन निर्देशन गरेपछि त्यो मत राष्ट्रिय प्रजातन्त्र पार्टी (लिङ्देन नेतृत्व)मा पुग्यो भने कांग्रेसका लागि पुग्ने क्षतिको जिम्मेदारी कसले लिने ? र 

(१३) नेकपा एमालेको शक्ति क्षयीकृत हुन्छ कि पदीय संख्यामात्रै घट्ने हो गठबन्धनबाट ? यी प्रश्नहरू कसैका लागि अप्रिय होलान् तर नेपाली कांग्रेसको जीवनका लागि अनिवार्य र महत्वपूर्ण हुन्छन् ।

(२) कांग्रेसमा दुई चरित्र

सात वर्ष भए छ वर्तमान सभापति शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको र साथ लागिरहनु भएको वरिष्ठ नेता रामचन्द्र पौडेल । उहाँहरूका विषयमा विगतमा एउटा स्पष्ट दृश्यचित्र थियो ः देउवा कुनै पनि काम गर्न नचाहने, सकेसम्म टार्न खोज्ने वा ढिलो गर्ने अनि पौडेल हरहालतमा काम गर्न नदिने । कांग्रेसमा बितेका करिब छ वर्षको मूल्यांकन यसरी नै गर्नुपर्ने हुन्छ । तर चौधौं महाधिवेशनको खेलमा पौडेल अत्यन्त नाटकीय रूपमा देउवाको सहयोगी हुनुभयो र अहिले उहाँ देउवा नेतृत्वको सरकारको बचाउमा आफ्ना विचार, नीति, रणनीति सबैको उपयोग गरिरहनु भएको छ । 

एक प्रकारले पौडेलको यो प्रयासले विगतमा चिरा परेको कांग्रेसलाई पुनर्संगठित गराउँन सक्छ होला तर उहाँसँगका साथीहरू अहिले डा.शेखर कोइरालाको तम्बुभित्र लुकेर शक्ति विस्तारमा जुट्नु भएको छ । यसरी हेर्दा पौडेलका लागि देउवा समर्थन भविष्यमा राष्ट्रपति पदका लागि सहजमार्ग रचनामात्रै सिद्धान्ततः देखिन्छ । गठबन्धनका पक्षमा उहाँ उभिनुको अर्थ यसभन्दा बाहेक अरू केही लगाउन यतिखेर सकिँदैन । 

(३) ढिलो भएको यो सहकार्य 

वस्तुतः देउवा र पौडेल सहयोगी भएर पार्टी अघि बढाउने समय निकै ढिलो भएको छ । पौडेल त्यस समूहमा निर्णायक भएको अवस्थामा पहिले नै यसरी काम गरेको भए कांग्रेसका लागि यति चाँडै कुनै अर्को बैसाखीको आवश्यकता पर्दैनथ्यो । २०७४ को निर्वाचन परिणामका आधारमा उहाँहरूबीचको अन्तरविरोध र द्वन्द्वको परिणाम आज नेपाली कांग्रेस नेपालको सम्पूर्ण जनसंख्याको करिब एघार प्रतिशतमा खुम्चन पुगेको छ । सबै कम्युनिष्ट पार्टीहरूको जनमत जोड्ने हो भने करिब बीस प्रतिशतमा देखिन्छ ।

यसरी हेर्दा यदि कम्युनिष्टहरू एकजुट भएमा वर्तमान लोकतान्त्रिक प्रणालीको विकल्प सहजै उनीहरूको सिद्धान्त अनुरूप दिनसक्ने छन् । जति टुक्रा भए पनि अन्तिममा उनीहरूबीच मिलन हुँदैन भन्ने केही छैन । यस्तो समयमा माक्र्सवाद, लेनिनवाद, माओवादमा आज पनि पूर्ण प्रतिबद्धता जनाउने माओवादी र माधवकुमार नेपालको समाजवादीलाई नेपाली कांग्रेसले ऊर्जा दिनु उचित छ वा छैन ? हो, तीन वर्षको शासनमा नेपाल कम्युनिष्ट पार्टीका नेता केपी ओलीले वर्तमान संविधानमाथि सकेसम्म ज्यादती गरेकै हुन् । उनको अहंकारले सीमा लंघन गरेकै हो ।

(४) विगत निर्णायक गल्तीको स्मरण 

यति भएर पनि एमालेका अधिकांश नेताहरू वर्तमान राजनीतिक प्रणालीको विकल्पका पक्षमा देखिँदैनन् । उनीहरूले ०४७ को संविधानबाट आरम्भ गरेको जनताको बहुदलीय जनवाद भन्ने विचारलाई अहिले पनि मूल सिद्धान्त मानिरहेका छन् र यो विचारलाई नछाडेसम्म उनीहरू लोकतन्त्रका विकल्पमा उभिनु राजनीतिक बेइमानी हुनेछ । २०७२ मा वर्तमान नेपालको संविधान जारी गर्नासाथ यदि नेपाली कांग्रेसले पूर्वसमझदारी विपरीत एमालेसँगको सहकार्य नतोडेको भए, ओलीका विरुद्ध सुशील कोइरालालाई प्रधानमन्त्रीका लागि प्रतिस्पद्र्धामा न उतारेको भए २०७४ को परिदृश्य निकै भिन्न हुन सक्तथ्यो । जसले जुनरूपमा कांग्रेसमा यस्तो विपरीत र दूरगामी दुर्भाग्यपूर्ण अवस्था सिर्जना ग¥यो । यथार्थमा त्यसको मार कांग्रेसजनले मात्रै होइन नेपालको लोकतान्त्रिक पद्धतिले समेत लामो समयसम्म सहनै पर्ने हुन्छ ।

(५) कांग्रेस बहुमतमा हुँदैनथ्यो

हुन त २०४८ देखिको प्रतिनिधि सभाको निर्वाचन परिणामको मिहीन मूल्यांकन गर्ने हो भने नेपाली कांग्रेसको बहुमत कुनै पनि निर्वाचनमा हुने देखिँदैन । ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ को मत परिणामको लेखाजोखा नेपाली कांग्रेसमा भएको छैन । ००७ सालको परिवर्तनविरोधीहरू र ०१७ का परिवर्तन पक्षधरहरूले निरन्तर गरेको प्रहारको प्रभाव नेपाली जनतामा व्यापक छ । त्यो प्रभावलाई परास्त गर्ने, खण्डित गर्ने सशक्त सोच, संयन्त्र, अभियान कांग्रेसमा भएन र सदा प्रतिरक्षात्मक नै हुनपुग्यो । 

अहिले त्यो अवस्था घट्नुको साटो बढेर गएको छ । पार्टी सभापति देउवाको पार्टी नेतृत्वकाल वा सरकारको नेतृत्वकाल हरेक समय कांग्रेस थप प्रतिरक्षात्मक भएको छ । कोइराला नेतृत्वको समय पनि कम विवादास्पद थिएन । ००७, ०४६ र ०६३ को परिवर्तनलाई संस्थागत गर्ने नेतृत्व दिने र सबै परिवर्तनको नायक कांग्रेस नै हो भन्ने सत्यलाई विवादले नै छायाँमा पारेको थियो ।

(६) तालमेल र राप्रपाको पुनर्जागरण 

०७२ को संविधानले अझै संस्थागत रूप लिन सकेको छैन । राजसंस्था, धर्म र संघीयतालाई लिएर अहिले पनि देशमा सशक्त मुद्दा बनिरहेको अवस्था छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही मुद्दामा नयाँ नेतृत्वको अल्पकालमा नै सशक्त जनमत सिर्जना गरेको देखिन्छ । कमल थापा र पुरानो पुस्ताका पञ्चहरूको नेतृत्व विस्थापन हुनासाथ राजेन्द्र लिङ्देनको नेतृत्वले आश्चर्यजनक फड्को मार्दै गएको छ । यदि पृथ्वीनारायण शाहको नेतृत्वयता हेर्ने हो भने हरेक परिवर्तनमा आदिवासी जनजातिको बाहुबलको अहं भूमिका रहेको छ । पहिलो र दोस्रो विश्वयुद्धमा नेपालको यो समुदाय अंग्रेजहरूका लागि समेत उपयोगी सिद्ध भएको थियो र आजसम्म बेलायतले त्यस उपयोगको निरन्तरता कायम गरिरहेको छ । 

००७ सालमा बीपी कोइराला नेतृत्वले विचार र योजना दिए पनि परिवर्तनमा आदिवासी जनजाति समुदायको निर्णायक सहभागिता थियो । यदि ००७ का शहीदहरूको सूची हेरेमा त्यो स्पष्ट हुन्छ । ०१८ र ०३१ को सशस्त्र आन्दोलनमा सर्वाधिक शहीदहरू जनजाति समुदायबाटै थिए । यस परम्परामा माओवादी सशस्त्र हिंसा पनि थपियो । ०५२ देखि ०६२ सम्मको हिंसामा पुष्पकमल दाहाल, बाबुराम भट्टराईहरूको वैचारिक दीक्षा प्रमुख रहे पनि बाहुबलको उपयोग मगर, तामाङ, राई, लिम्बू, गुरुङ आदिकै देखिन्छ । 

आदिवासी जनजाति समुदायका बलमा माओवादी एकपछि अर्को सिँढी चढ्न सफल भएको थियो । सम्भवतः यो इतिहासको दृष्टान्तलाई अर्को एक पटक वा अन्तिम पटक राजावादीहरूले बुझेको हुनसक्छ । हिजोका दिनमा बल्लतल्ल सास फेरिरहेको र पछिल्लो समय कमल थापाको नेतृत्वमा धुक्धुकीमात्रै बाँकी रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा एक्कासि स्पन्दन त्यसै आएको होइन । लिङ्देनको उपस्थितिले यो सम्भव भइरहेको छ ।

(७) निर्वाचन परिणामको संकेत  

स्थानीय निर्वाचनमा पद संख्या गठबन्धनले नै बढाउनेछ । जुन स्वाभाविक हो । नेपाल कम्युनिष्ट पार्टी एमाले जतिसुकै भने पनि भनेअनुसार कमजोर भएको छैन होला । सायद त्यसपछिको शक्ति भने लिङ्देन नेतृत्वले जनमतबाट पाउने अनुमान गर्न सकिन्छ । तर, उसले पाउने मतले राष्ट्रिय निर्वाचनको पूर्वसंकेत पाउन सहज हुनेछ । अहिले एमाले, राप्रपा लिङ्देन र कमल थापाको गठबन्धनको चर्चा चलिरहेको छ । त्यसमा लोसपा जोडिने अर्को अनुमान चलिरहेको छ । निश्चित भएको छैन । यदि इमानदारीपूर्वक त्यो गठबन्धन भयो र मतदान तदनुरूप रहृयो भने परिणाम फरक हुन पनि सक्दछ । यी अतिरिक्त विषय हुन् कांग्रेसका लागि । 

स्थानीय निर्वाचनदेखि नै कांग्रेसका मतदातालाई तालमेलमा अभ्यस्त गराउँदा अरूलाई त घाटा हुँदैन, बरू नाफा नै हुनेछ । तर, नेपाली कांग्रेस भने जनमतमा हिजोभन्दा भोलि झन् कमजोर हुने निश्चित छ । यो कुनै भविष्यवाणी होइन । यद्यपि नेपाली कांग्रेसले आवश्यकता र अवस्था हेरी तालमेलको निर्णय गरेको हुनाले कांग्रेसजनका लागि अझै केही ठाउँ भने सुरक्षित देखिन्छन् । तर, आरम्भमा गरिएका सबै प्रश्नहरूको उचित विमर्श नेपाली कांग्रेसका सदस्यहरूले गर्नु र परिणामको सम्भावना खोज्नु कांग्रेसका लागि हितकर नै हुने मेरो धारणा छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक