20220419

दलहरु गठबन्धन र भागबण्डामै ब्यस्त, कोही भन्दा कोही कम भए पो ! देशको दुर्दशा !!

 सत्तारुढ दलहरु महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सो सहमति जुटेको हो । सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक/एक वटा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका भागमा परेको छ । बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा काठमाडौं,

ललितपुर र विराटनगर महानगरपालिका परेको छ । यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको भागमा पोखरा र जनता समाजवादी पार्टीको भागमा वीरगन्ज महानगरपालिका परेको छ ।

उता नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज काठमाण्डाै‌मा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताए । “गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएका छौँ, कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ, गठबन्धन अहिले तोड्नु हुँदैन, निर्वाचनमा एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ,” प्रधानमन्त्री देउवाले भने ।

सभापति देउवाले जबसम्म गाउँ र स्कूल तहमा नेविसङ्घ गठन हुन सक्दैन तबसम्म नेविसङ्घ बलियो हुन नसक्ने बताए । “नेविसङ्घको सङ्गठन देशभरका कलेज र क्याम्पससम्म फैलिएको छ, तरपनि हामी किन स्ववियु निर्वाचनमा हारिरहेका छौँ, यस’bout नेविसङ्घ गम्भीर हुनुपर्छ, स्कूल जित्न सकेमात्र कलेज र क्याम्पसमा जित्न सक्छौँ ,” उनले भने । गाउँगाउँ र स्कूल स्कूलसम्म नेविसंघ बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।

सभापति देउवाले पार्टीभित्र भागवण्डामा झगडा हुने भएकाले नेविसङ्घको कार्यसमिति विस्तारमा समस्या हुने गरेको बताए । उनले आफू नेविसङ्घको अध्यक्ष भएर प्रधानमन्त्री भएको बताउँदै अब मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने पालो युवा विद्यार्थीको भएको बताए ।“राजनीति गरेर मात्र अब चल्दैन पढाइसमेतमा योग्य हुनुपर्छ”, सभापति देउवाले भने । कांग्रेस एक भएर अगाडि बढे आगामी निर्वाचनमा कुनै शक्तिले हराउन नसक्ने दावी समेत उनले गरे । स्थापना दिवसको उक्त कार्यक्रममा सभापति देउवाले नेविसङ्घका संस्थापक सभापति विपिन कोइराला, उपसभापति सनद रेग्मी, महामन्त्री टिका पोखरेल, सदस्य रामचन्द्र पौडेल, सुरेन्द्रबहादुर विष्ट, केदार न्यौपाने, भरत पाण्डे, दामोदर गौतम, चक्रराज पन्त, बसन्त गुरुङ, राजन्द्रबहादुर शाहलगायतलाई सम्मान गरेका थिए ।

यसै बिच नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।घोषणापत्रमा समाजवादीले २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमलाई समावेश गरेको छ । घोषणापत्र अनुसार प्रत्येक घर परिवारलाई मासिक दुई सय युनिट बिजुली निःशुल्क उपलब्ध गराउने, घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्नेसम्मका कार्यक्रम छन् ।

नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको समाजवादी पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको छ । यसअघि एमालेबाटै निर्वाचन लडेको समाजवादी यस पटक भने सत्तारूढ पाँच दलीय गठबन्धनबाट अघि बढिरहेको छ ।

यसै गरी एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेहरुलाई सहि पार्टीका आएको बताएका छन् । पुस ८ गते पछि ३ पटक पर्सा आइपुगेका अध्यक्ष ओलीले मंगलबार वीरगन्जको घण्टाघर चोकमा भएको वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

कुनै समय मधेश विरोधी नेता भनेर चिनिएका ओलीलाई वीरगन्जमा टेक्नै नदिने समेत भनेका थिए मधेशी दलका नेताहरुले । मंगलवार पर्सा पुगेका अध्यक्ष ओलीले अरु पार्टीमा कतै अल्मलिएका र अल्झिएका नेता कार्यकर्तालाई देश बनाउने पार्टी एमालेमै नै आउन आग्रह गरे । ‘एमाले सबैको पार्टी हो, केही साथीहरु कतै अल्मलिएर अल्झिएर बस्नु भएको छ भने देश बनाउने पार्टीमा आउनुस् ।’ उनले भने । अविश्वासी दलहरुको भ्रममा परेर कसैले पनि अब अल्मलिन नहुने उनको भनाई थियो ।

यस अगाडी दुई पटक बीरगञ्ज आएका ओलीले पर्साको वीरगन्ज महानगरपालिका र जगरनाथपुर गाउँपालिकाका मेयर र अध्यक्ष लगायतलाई एमालेमा प्रवेश गराएका थिए । यस पटक पनि सखुवाप्रसौनी गाउँपालिका र बहुदरमाई नगरपालिकाका उपाध्यक्ष र उपप्रमुख लगायतलाई पार्टीमा प्रवेश गराएका छन् ।

गठबन्धन दलतर्फ कटाक्ष गर्दै न्यायलय तर्फ पनि तिखो प्रहार गर्दै ओलीले भने ‘विश्वमा कहिँ पनि अदालतले सरकार बनाउदैन । यो गलत र अपवित्र ढंगले बनाइएको सरकारकै कारण देशमा आर्थिक तरलता भएको छ ।’ भिजन र काम गर्ने अठोट नभएको सरकारका कारण देश संकटमा परेको उनले बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सुनकोशीको पानी मरिन डाइभर्सन गरी तराईका खेत सिंचित गरेर कृषि फसल बढाई निर्यातसम्म गर्नु पर्छ भनी भिजनका साथ काम गर्ने एमाले मधेश विरोधी नहुने दावी गरे । फेरि आफू यो पटक वीरगन्ज आएको यो ठाउँको समृद्धिको लागि कायापलट गर्ने भिजनका साथ काम गर्न साथ दिन आएको उनको भनाइ छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक