20220525

रवीन्द्र मिश्र, अनैतिक भिड र वास्तविकता : विवेकशील साझा पार्टी भित्र विवेक भएका यदि कोही हुनुहुन्छ भने... !


 - रामप्रसाद खनाल 

रवीन्द्र मिश्रले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै पार्टी अध्यक्षबाट राजीनामा दिए । अनैतिकहरूको भिडमा उनको नैतिकताको मूल्य कसैले बुझ्लान् नबुझ्लान् तर म भने एउटा स्वतन्त्र र सचेत नागरिकका हैसियतले उनको नैतिक आचरण र उनले राम्रो गर्न जुन प्रयास गरे त्यसको खुलेर प्रशंसा र सम्मान गर्दछु ।

 उनको पार्टी भित्रैबाट केही छेस्के प्रवृत्तिले उनलाई सुरु देखी नै असहयोग गर्दै आए तर उनको भिजन र देशमा उनले गर्न खोजेको राजनीति प्रति मैले खोट लगाउनै पर्ने ठाउँ देखेको छैन भलै उनमा पनि मान्छे चिन्न नसक्नु, बहकिनु, अलिकति राजनीतिको जरो सम्म पुगेर राजनीतिक संस्कारलाई बुझ्न नसक्नु जस्ता केही कमजोरी अवश्य देखिए ।

 रवीन्द्र मिश्रले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने अवस्था आउनु नै देशको लागि एउटा ठुलो दुर्भाग्य हो । देशको लागि केही गर्छु भनेर आफ्नो आकर्षक जीवनशैली बाट अलग भएर रवीन्द्रले जे जति गर्ने प्रयास गरे, अपराधी र राक्षसी राजमा त्यसको कुनै मूल्य नहोला तर बुझ्नेहरूको देशमा भएको भए उनको उच्च मूल्याङ्कन हुने थियो ।

 केही गर्छु देशको लागि भन्ने रवीन्द्र मिश्र हरूलाई हराउँदै खुसी मनाउनु अनैतिक भिडलाई प्रोत्साहन गर्नु हो भन्ने लाग्छ मलाई । देशको लागि केही गर्छु भनेर यसरी समर्पित हुने रबीन्द्रहरु र तिनका पार्टी हार्दै जानु, अपराध र आतङ्कका मतियारहरू जित्दै जानु लाई मैले कुनै हालतमा पनि राम्रो भयो भन्न सक्दिन । यसरी रवीन्द्र मिश्रहरूलाई एक्लाउँदै जाने हो भने भोलि आउँछ को ? कस्तो नजिर बस्छ ? छातीमा हात राखेर सोच्न म सबैलाई हार्दिक आग्रह गर्दछु । 

विवेकशील साझा पार्टी भित्र विवेक भएका यदि कोही हुनुहुन्छ भने रवीन्द्रको राजीनामा फिर्ता गराएर रवीन्द्रलाई फर्काउनुहोस् । 

मलाई थाहा छ - अनैतिकहरूको भिड र जमातले अब रवीन्द्र मिश्रको खोइरो खन्न सुरु गर्ने छन् तर म भन्छु - रवीन्द्र मिश्र तिम्रा देऊ "बा", बाल्कोटे "बा", अपमान "बा" र अपराध र आतङ्कका "बा" हरू भन्दा हजार गुणा ठिक छन् । यिनले राष्ट्र लुटेका छैनन्, जनता लुटेर राक्षसी र भ्रस्ट राज चलाएका छैनन् । सुन्दा तितो लाग्ला, तर सत्य यही हो । बुझे भईगो । 

रबीन्द्रजी, तपाईं राजनीतिमा न आउनु थियो आउनु भयो तर अब अलग हुने तपाईंलाई छुट छँदै छैन । कत्ति पनि निराश नहुनु होला । तपाईंलाई एक दिन जनताले चिन्ने छन ढिलो होला तर अबस्य चिन्ने छन । धन्यवाद । 

****


रबीन्द्र मिश्रको राजीनामा यसरी आयो आज !   

विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा

स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।

हाम्रा उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।

गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु। तपाईँहरूप्रतिको श्रद्धाभाव शब्दमा व्यक्त गर्न सक्दिन। तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु।

विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका छन्। त्यो तपाईँहरूकै देन हो। विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुनेछ।

मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु। त्यस्तै, सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु।

पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै छ। मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निःसङ्कोच क्षमा याचना गर्दछु। पार्टीको साख केन्द्रीय समितिका साथीहरूको नेतृत्वमा पुनर्स्थापित हुने विश्वास लिएको छु। सो प्रयासमा मेरो पूर्ण सहयोग रहने छ।

नेपालको जय होस्!

रवीन्द्र मिश्र

विवेकशील साझा पार्टी

११ जेठ २०७९

      ****


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक