20220615

कविता : पागल पन

खोइ कुन्नि किन हो  
कलियुगमा पनि,
आफ्ना लागि मात्र भनेर  
बाँच्न रहर लागेन कहिल्यै   
आफ्ना लागि मात्र भनेर
सुख सयलहरूमा रमाउँदै, 
नाच्न रहर लागेन कहिल्यै  
सोंच्दथें आफू मात्रै त, 
बाँचेकै छन् किरा फट्याङ्ग्रा हरू पनि    
बाँचेकै छन् पशु पन्छी हरू पनि 
मान्छे हुँ मान्छे म  
म माथि उठ्नु पर्छ 
माथिल्लो सोच सोच्नु पर्छ 
आफ्ना लागि मात्र होइन
अरूका लागि पनि बाँच्नु पर्छ 
यी र यस्तै सोच्दा सोच्दै 
आफैले आफैलाई घोच्दा घोच्दै 
बिचरा म बबुरो
जीवनका कैयौँ उकाली ओरालीहरू 
पार गर्दा गर्दै
यात्राहरू भर्दा भर्दै  
ओराली लागेको हरिणको चाल जस्तै
बेहाल भएको हाल जस्तै 
बेहाल भएको छु म पनि ।    
बगिरहेछु निरन्तर नदीको पानी जस्तै   
 कहिले हराउँछु मरुभूमिहरूमा 
भित्र भित्रै बाट निसास्सिँदै निस्किन खोज्छु 
समुन्द्रको खोजीमा 
तर,
बिचमै कसैले बाँध बाँध्छन् मलाई 
लैजान्छन् टनेलमा 
हाल्छन् ठुलो पोखरी र बाँध भित्र  
निकाल्छन् बिजुली 
र फ्याँकी दिन्छन् अर्को तिर 
सम्हालिन्छु, धैर्यता राख्छु 
लगातार अगाडी बढ्न खोज्छु 
फेरी थुन्छन् मलाई 
कसैले खान्छन् मलाई 
कसैले लान्छन् मलाई
खेतबारीमा गर्छन् प्रयोग  
म जता पनि प्रयोग हुँदै 
स्वार्थ पुरा भए पछि फालिँदै  
बढिरहेछु अगाडी 
थाहा छैन भेट्छु कि भेट्दिन समुन्द्र 
वा हराउँछु म मरुभूमिहरूमा  
आफ्नाहरूका लागि बाँच्दा बाँच्दै 
म भनेर होइन
हाम्रा लागि भनेर
जिन्दगीको नाच नाच्दा नाच्दै  
मेरा दाइ भाइ 
मेरा दिदी बहिनी 
मेरा फुपूहरू 
मेरा मावली 
मेरा ससुराली 
मेरा साथीभाइ 
मेरो समाज 
मेरो देश 
मेरो माटो 
पुकार्दा पुकार्दै 
पागलखाना भित्र 
खुट्टा बाँधिएको बन्धक 
एउटा पागल जस्तो 
लगातार चिच्याइरहे जस्तो 
नियति बनेको छ मेरो चिच्याउनु 
म सद्दे छु, 
म सत्य छु 
तर पत्याए पो !
पागलै त ठान्दा हुन आफ्नाहरू पनि 
पागलै त मान्दा हुन पराइहरू पनि ! 
तर म पागल हुँदै होइन 
मलाई थाहा छ, 
राम्रोसँग थाहा छ 
तर म पागल हुँदै होइन 
म पागल छँदै छैन 
तर उनीहरुले पत्याए पो !

- रामप्रसाद खनाल, जुन १५, २०२२।

 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक