20220627

वर्षौंदेखि सिद्धबाबा सडकमा धुलो र हिलोसँगै आउने पहिरोबाट धेरै यात्रुलाई सास्ती, समस्या बल्झिँदै


 - तेजेन्द्र के.सी.

बुटवल । वर्षौंदेखि सिद्धबाबा सडकमा धुलो र हिलोसँगै आउने पहिरोबाट धेरै यात्रुलाई सास्ती भएपछि वैकल्पिक काम पनि अगाडि बढाइएको छ । एकपछि अर्को गर्दै वैकल्पिक मार्गको सडक निर्माणको चर्चा सुरु गरे पनि अझैसम्म निर्धक्क रुपमा वर्षात्को बेला सडकमा सवारी चलाउने अवस्था छैन ।

सिद्धबाबाको सुरुङमार्गदेखि  झुस्सा दोभान सडक निर्माणसम्म प्रक्रिया अगाडि बढेका छन् । यस्तै बुटवल–बेलबास नुवाकोट पाल्पा सडकको पनि काम अगाडि बढेको छ । सङ्घीय सरकार, प्रदेश  सरकार  र स्थानीयले आआफ्नै ढङ्गबाट बजेट छुट्टाउने गरे पनि अझैसम्म पूर्ण रूपमा यात्रुहरू सिद्धबाबामा पहिरो जाँदा वैकल्पिक रूपमा सडक प्रयोग गर्ने अवस्था छैन ।

सडक बने पनि अझैसम्म सवारी सधानहरूले ती सडकहरूमा निर्धक्क रूपमा चल्न नपाएकोले त्यसको अर्थ नभएको दोभानका दलबहादुर गरुड बताउँछन् ।उनले भने, “पटक पटक वैकल्पिक मार्गको चर्चा गरे पनि काम अझै पूर्ण भएर हामीले निर्धक्क रूपमा सवारीमा आऊजाऊ गर्न सकिएको छैन, अहिलेसम्म सबै कछुवा गतिका वैकल्पिक मार्ग भएका छन् ।”

हुन पनि उनले भने जस्तै सिद्धबाबा सुरुङ मार्ग बनाउन आर्थिक वर्ष २०७०–७१ मा पहिलो पटक बजेट छुटाइएको थियो । त्यसयता अध्ययन, डीपीआरलगायतका शीर्षकमा बजेट आए पनि अझै काम देखिने गरी काम नभएको सडक कार्यालयले जनाएको छ ।

यसमा मूलतः सङ्घीय सरकारले काम अगाडि बढाएको छ । तर वैकल्पिक मार्गको लागि प्रदेश र स्थानीय तहहरूले वैकल्पिक सडकको ट्रयाक खुलेका छन् । बुटवलको बेलबास नुवाकोट हुँदै पाल्पाको तिनाउ गाउँपालिका जोड्ने अर्को १८ किलोमिटर लामो सडक पनि खोलिएको भए पनि बर्खामा जानको लागि अझै पूर्ण रूपमा तयार भएको अवस्था छैन । यहाँ बुटवलबाट नुवाकोटसम्म सडक निर्माण भए पनि पाल्पातिरको सडकमा समस्या देखिएको छ ।

स्थानीय तिनाउ गाउँपालिकाको नेतृत्वमा गएको वर्ष करिब ९० लाखमा वैकल्पिक सडकको ट्रयाक खुलेको छ । त्यहाँ अन्य स्थानीय तहले पनि लगानी गरेका छन् । अर्को, वैकल्पिक  मार्गको धेरै चर्चा भएको सडक  बुटवलको चरङ्गदेखि झुस्सा सम्म हो । २२ किलोमिटर क्षेत्रफल रहेको सडकलाई लुम्बिनी प्रदेश सरकारले २०७५ सालमै प्रदेश सरकारले १० करोड रुपैयाँ छुट्टाएको थियो ।

जिल्ला समन्वय समिति पाल्पाले ट्रायक खोल्न नै एक करोड छुट्टाएको थियो तर अहिलेसम्म त्यो सडक पुरा भएको छैन । प्रदेश सरकारले निरन्तर बजेट छुट्याउँदै आएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा यो सडकका लागि सात करोड १६ लाख ५० हजार रकम विनियोजन गरेको छ । यो बजेट कामका हिसाबले निकै कम रहेको प्राविधिकहरू बताउँदै पूर्ण रूपमा सम्पन्न हुन नसेको बताउँछन् ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रको जोखिमयुक्त खण्डको वैकल्पिक मार्गको रूपमा निर्माणाधीन धागो कारखाना–चरङ्गे–झुम्सा सडकमा आवश्यक पर्ने पुल  निर्माण तथा अन्य काम भए पनि बढेका छन् ।यातायात सञ्चालन योग्य बनाउनको लागि काम अगाडि बढाए पनि पर्याप्त मात्रमा रकम नहुँदा अझैसम्म पूर्ण हुन नसेको रुपन्देही सडक पूर्वाधार कार्यालयका इन्जिनियर ललित न्यौपानेले बताए ।

हालसम्म रुपन्देही खण्डको सडकमा पुल, कल्भर्ट निर्माणका क्रममा २० करोड रुपैयाँ खर्च भएको छ । मुढाबास खण्डमा अर्को वर्षबाट बल्ल स्थायी संरचना निर्माणको काम सुरुवात हुने गरी बजेट आएको बताए ।अहिले चरङ्गेदेखि साढे आठ किलोमिटर सडकमा ग्राभेलको काम पनि सकिएको छ । अझै ४ किलो मिटर समस्या रहेको उनले बताए ।

त्यहाँ केही पुलहरु कारणले पूर्ण रुपमा सवारीहरू सञ्चालन गर्न अझै कठिन रहेको छ । सामान्य रूपमा यी दुवै वैकल्पिक सडकबाट मोटरसाइकल र जिप र साना गाडीहरू चल्ने गर्दछन् तर वर्षामा समस्या देखिन्छ । वैकल्पिक मार्ग नहुँदा  सिद्धबाबाको  यात्रुहरुले त्रासबीच यात्रा गर्नु परेको छ । दैनिक कम्तीमा तीन हजारको हाराहारीमा सवारी साधन ओहोर दोहोरो गर्ने सिद्धार्थ राजमार्गमा सिद्धबाबा क्षेत्रमा आएपछि चालकदेखि यात्रु सबैलाई त्रास हुने गर्दछ । किनकि विगतमा पहिरो कारणले कतिको ज्यान गएको छ भने कति घाइते भएका छन् । कमजोर चुरे क्षेत्र रहेको यो क्षेत्रमा जम्मा तीन किलोमिटर सडकले सधैँ सास्ती दिइरहेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका दोभानका विष्णु पाण्डेले बिहानै पढाउनको लागि बुटवलको एम्स कलेजमा आउनु पर्छ । दैनिक रूपमा दोभानबाट बुटवल आएर पढाउने पाण्डेले अब  वर्षा लागेपछि दुःखका दिन सुरु भएको बताए । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पछिल्लो ९ वर्षको अवधिमा यो क्षेत्रमा ४२ वटा दुर्घटना भएका छन् जहाँ ३३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता डीएसपी मोहनबहादुर खाँण बताए । उनले सिद्धबाबा क्षेत्रमा भौगोलिक रूपमा पनि समस्या छ जति बेला पनि पहिरो र माथिबाट ढुंगा खस्न सक्छ त्यस कारणले त्रास रहने बताए । हिउँदको समयमा साना सवारी मोटरसाइकल र स्कुटरको यात्रामा त मान्छेको स्वरुपै नचिनिने गरेर धुलोले ढाक्ने गर्छ भने ठुला सवारी टिप्पर, ट्रकको तीव्र गति, बस लगायतको धुलो र धुवाँले समेत यस क्षेत्रको स्थानीयका घरहरू समेत धुलाम्मे हुन्छन् । तर सरोकारवाला पक्षले ध्यान दिन नसक्दा दैनिक समस्या बल्झिँदै गएको स्थानीय महेन्द्र पाण्डेयले बताए । -दैनिक पत्र 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक