20220605

भैरहवा स्थित नब निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउनेभन्दा जाने बढी देखिए पछि !


- नरेश के.सी

भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गएको जेठ २ गते पहिलो उडान भएयता नियमित रूपमा सञ्चालन भइरहेको जजिरा एयरलाइन्सको तथ्याङ्क हेर्दा यो विमानस्थलमा आउनेभन्दा यहाँबाट जानेको संख्या अत्यधिक देखिएको छ। याे समाचार तयार पारुञ्जेल (शनिबारसाँझ) सम्ममा गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ सय ४४ जना यात्रुहरूले सेवा लिइसकेका छन्। यी सबै यात्रुलाई जजिरा एयरलाइन्सले सेवा दिएकाे हाे । जेठ १६ गते सम्म भएको ७ वटा उडानबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ४ सय ७९ यात्रुहरू ओर्लिएका छन् भने ७ सय ६५ यात्रुहरू नेपालबाट बाहिरिएका छन्।

जजिराका लागी नेपालका वाणिज्य प्रबन्धक अमित नागरथले कुवेतबाट सिधा भैरहवा लुम्बिनी उडान गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले  यात्रुहरू पनि अपेक्षा गरिए अनुसार नै पाइरहेको जानकारी दिनुभयो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने जजिराको फ्लाइट नं जे ९ ५४५–५४६ कुवेतदेखि भैरहवा उडान गर्ने विमानको सिट संख्या १ सय ६८ हो। 

जजिराले विश्वका ४५ देशमा कुवेत ट्रान्जिट राखेर हवाइ सेवा दिंदै आएको छ। जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेको जजिरा एयरलाइन्सले साताको ३ उडान गरिरहेको छ। सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको जजिराले निकट भविष्यमा दैनिक उडानको तयारी समेत गरेको छ।

जेठ २ गते उडान शुरु भएको जजिरामा पहिलो उडानमा ५० जना आएका थिए भने १ सय २४ जना गएका थिए। ४ गते भएको उडानमा ३४ जना आएका थिए भने १ सय १० जना गएका थिए। ६ गते भएको उडानमा ३२ जना आएका थिए भने ६८ जना गएका थिए। ९ गते भएको उडानमा १ सय २१ जना आए भने ३८ जना गए र ११ गते १ सय ४ जना आए र १ सय ७ जना गए। यस्तै १३ गते भएको उडानमा ६८ जना आए भने १ सय ५७ जना गए र १६ गते भएको उडानमा ७० जना आए र १ सय ६१ जना गए।

अरू एयरलाइन्सको पनि चासो

जजिरा ए‍यरलायन्सले सफलता साथ जहाज उडाउन थालेयता अन्य विदेशी एयरलाइन्सले पनि सम्पर्क गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्दप्रसाद दाहालले बताउनु भएको छ। दाहालका अनुसार उनीहरूले विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन्। अन्य एयरलाइन्सले पनि छिट्टै उडान गर्ने विश्वास महाप्रबन्धक दाहालको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानमा वायुसेवा कम्पनी आउने वातावरण  सहज बनाउन विशेष छुट समेत दिने भएको छ। विमानस्थलका महाप्रबन्धक दाहालका अनुसार अहिले सम्म एयर अरेबिया, फ्लाइट दुबई, एयर चाइना, एयर इन्डिया लगायतले पनि चासो देखाइरहेको छन्। दाहालले आइएनएस–स्वतन्त्र समाचारसँग भन्नुभयो,‘ एयरलाइन्सहरूको एउटा अन्तर्राष्ट्रिय संस्थाका पदाधिकारी पनि छलफल गरेर जानु भएको छ। विस्तारै थपिदै जान्छन्। जजिराबाट गए राति मात्रै १२४ आए, १६० जना उडे।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यानमार, दक्षिण कोरिया, कतार, कम्बोडिया, थाइल्यान्ड, चीन लगायतका देशबाट पनि उडान गर्ने तयारी भइरहेको छ।

त्रिअविको विकल्प

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) सञ्चालनमा आएको ७४ वर्ष भयो। यो बीचमा मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि धेरै पटक योजना र बजेट बिनियोजन भए। गएको हप्ता सर्वोच्च अदालतले काम नरोकिँदासम्म निजगढ विमानस्थलका लागि अर्बौं रकम विनियोजन समेत भइसकेको थियो तर अदालतले उक्त विमानस्थल निर्माणको काम रोकिदियो। पोखरा विमानस्थललाई पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारी योजना छ तर हिमाल र पहाडको निकटताले ठूला जहाज र बोइङहरूको उडान पोखरामा अलि मुस्किल हुने देखिन्छ। यसरी निजगढ विमानस्थलको काम रोकिनु, पोखरामा बोइङ जहाजको प्राकृतिक जटिलता सृजना हुनुले अबको केही दशक काठमाडौँस्थित त्रिभुवन विमानस्थलको विकल्पमा भैरहवा स्थित गौतमबुद्ध विमानस्थल मात्रै अर्को अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहने देखिन्छ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेठ २ गते  कुवेतबाट सिधा जजिरा एयरलाइन्सले उडान गर्‍यो। त्यसयता जजिरा एयरलाइन्सले भैरहवा कुवेत सिधा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

जजिराले उडान भर्नुभन्दा पहिले गएको फागुन ६ गते एरो थाईको १७ सिटे सानो जहाजले क्यालिब्रेसन फ्लाइट र बैशाख १६ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाजले उडान गरेपछि अन्तर्राष्ट्रिय उडानका लागि बाटो खुलेको हो।

गौतमबुद्ध विमानस्थल शुरुदेखि अहिलेसम्म 

घरेलु विमानस्थलको रूपमा रहेको गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिको कामका लागि सन् २०१७ को जुन २ तारिख अर्थात् २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरिएको थियो। मल्टिनेसनल रुपमा आह्वान गरिएको बोलपत्र अनुसार  ५ चिनियाँ र २ स्पेनिस ठेकेदारहरूले बोलपत्र भरेको भए तापनि चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले टेन्डर पारी आवश्यक सम्झौता गरी निर्माण कार्य ०७१ को माघ १ देखि शुरु गरेको थियो। शुरुमा कुल ६ अरब २२ करोड ५१ लाख ३० हजार २ सय २७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको भए तापनि विभिन्न समयमा भेरियसन हुँदा उक्त ठेक्का साढे ७ अर्बको हाराहारीमा पुगेको छ।

विमानस्थल भित्र दुई प्रकृतिका काम भएका छन्। जसलाई आईसीपी वान र टु भनिएको छ। आईसीपी वान भित्र रन वे, ट्याक्सी वे, टर्मिनल बिल्डिङ, प्रशासनिक भवन, कन्ट्रोल रुम, कार पार्किङ, धावन मार्गको लाइट, जहाज पार्किङ लगायतका काम रहेका छन्।

यसैगरी आईसीपी टू मा उपकरण जडान र फाउन्डेसनको काम रहेका छन्। जसमा मुख्यत सञ्चार ( कम्युनिकेसन ), पथप्रदर्शन ( नेभिगेसन ) जहाजलाई कुन दिसामा लाने भन्ने र मौसम ( मेट्रोलोजिकल) सम्बन्धी काम हुन्छ। विमानस्थलको कन्सल्ट्यान्सीको जिम्मा युसीन कोरियन कन्सल्ट्यान्सी  र आयोजना क्यानले संयुक्त रूपमा गर्दै आएका छन्।

यसरी बन्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बन्ने कार्य शुरु हुनुमा मुख्यतया: बुद्ध जन्मस्थल लुम्बिनी भएको देखिन्छ। लुम्बिनीकै कारण भैरहवा स्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सहज भएको पर्यटनविद् प्राध्यापक डा. गितु गिरी बताउनुहुन्छ।

एडीबीको दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मनन गरी भैरहवा विमानस्थलमा लगानी गर्ने आँट गरेको हो। २०२३ सालदेखि घरेलु विमानस्थलको रूपमा नियमित उडान भर्दै आएको भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ। ०६१ साल अघिसम्म ८४ बिगाहा ३ कठ्ठा रहेकोमा यतिबेला ८ सय १० बिगाहा पुगेको छ। जग्गाको क्षेत्रफलको हिसाबले यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विमानस्थल हो। अहिलेसम्म पोखरामा ३ हजार ७ सय रोपनी, काठमाडौंमा ७ हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहेका छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरण (आइकाउ) को कोड फोर ई का अनुसार ३ हजार मिटर धावनमार्ग भएको विमानस्थलमा  बोइङ ७७७, एयर बस ३३० सम्मका जहाजहरू सहजै उडान र अवतरण हुनेछन्।

विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्यमा सुरुवाती चरणमा एडिबीले ४० दशमलब ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ( ओएफआइडी )  ३० दशमलब ५ प्रतिशत, एडीबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको  ११ प्रतिशत तथा कर समेत गरी  लागत बेहोर्ने गरी निर्माण कार्य शुरु भएको हो। काम सुरुवात गर्दा यो अनुपात भएता पनि पछिल्लो थप रकम गर्दा नेपाल सरकारको ३७ दशमलब ४ र बाँकी एडीबीको ऋण सहयोग हुन आएको हो। भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थलको निर्माणमा हाल सम्म आईसीपी वान र टु गरेर साढे ७ अर्ब र मुआब्जा २२ अर्ब ४५ करोड खर्च भइसकेको छ। अझै ३० करोड जति मुआब्जा बाँडन बाँकी छ, कानुनी जटिलताको कारण, मुद्दा मामिलाको कारण मुआब्जा रोकिएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनुहुन्छ ।

नेपाल भारत सीमा नजिक भएकोले गोरखपुर लखनउसम्मका भारतीयहरूले पनि गौतमबुद्ध विमानस्थलाई प्रयोग गर्ने अपेक्षा गरिएको छ। गौतमबुद्ध विमानस्थलका प्रयोगकर्ता भारतीय र नेपाली गरेर सामान्य अवस्थामा कम्तिमा बर्षमा  १०/११ करोड हुने अनुमान नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट ( नाट्टा ) लुम्बिनी प्रदेशका अध्यक्ष सागर अधिकारी बताउनुहुन्छ।

नेपाल सरकारको ९० करोड ३६ लाख ३४ हजार ६ सय ८३ रुपैयाँ लागतमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण भागमध्येको एक कार्गो (गोदाम) भवन निर्माणको काम भइरहेको छ। उक्त भवन दुई वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी एसएस शर्मा– लुम्बिनी गजुरमुखी जेभिले निर्माण गरिरहेको छ।  ८० हजार स्क्वायर फिट क्षेत्रफलमा बन्ने भवन नेपालमा अहिलेसम्म बनेका भन्दा अत्याधुनिक, व्यवस्थित र स्तरीय हुनेछ। कार्गोको काम असार मसान्त सम्म सकिने आयोजनाका अधिकारीले बताउनु भयो। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

       अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page   


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक