20220610

बिदेशबाट नेपालीले पठाएको रेमिट्यान्स र बैदेशिक ऋणमा टिकेको देश, श्रीलँका हुन्न भन्छन तर नजिकै पुगिसकेको देखिन्छ !

 चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो दश महिनामा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४ अर्ब ५७ करोडले घाटामा रहेको छ ।

वैशाख मसान्तसम्म पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई ७ अर्ब ९९ करोड कायम भएको छ । सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ८ करोड रहेको थियो ।चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो ।

यसैबिच अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताउनु भएको छ ।

शुक्रवार प्रतितिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै यस्तो बताउनु भएको हो । उहाँले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकशितबाट विकासोन्मुखमा स्तर उन्नती गर्ने लक्ष्य राखेकाले त्यसको लागि अबौं लगानी गर्नु पर्ने भएको बताउनु भयो ।

मन्त्री शर्माले मुलुकको स्तर उन्नती गर्नको लागि अहिले बजेटमा छुट्याएको पुँजीगत तथा समग्र खर्चले मात्रै लक्ष्य हासिल हुने दाबी गर्नु भयो । सरकारले सन् २०२६ सम्म विकशित मुलुक बनाउने लक्ष्य पूरा गर्न ऋण लिनु पर्ने आवश्यक रहेको मन्त्री शर्माको भनाई छ ।

उहाँले परियोजनाहरुमा ऋण लिने र खर्च गर्ने परिपाटी बदल्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । सरकारले लिएको धेरै ऋण उत्पादन मुलक नभएर खर्च बढाउने खालको रहेको गुनासो गर्नुभयो । मन्त्री शर्माले अहिले आन्तरिक र वाह्य ऋण गरी १७ खर्ब ३७ अर्ब ऋण रहेको बताउनु भयो ।सरकारले यो वर्ष मात्र ४० देखि ४५ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्न लागेको मन्त्री शर्माले बताउनु भयो । उहाँले ऋण भुक्तानी गर्नु परेकाले अहिलेको बजेटमा पुँजीगत खर्च भन्दा चालुु खर्चमा वित्तीय व्यवस्थापन धेरै भएको बताउनु भयो ।

त्यस्तै, अर्थसचिव मधुकुमार मरासिनीले सरकारले अहिले सार्वजनिक ऋण व्यवस्थापन हेर्ने छुटै निकाय बनाएर व्यवस्थित बनाउन लागेको बताउनु भयो । उहाँले त्यसको लागि मन्त्रालय आवश्यक नीतिहरु बनाउने तयारीमा रहेको पनि बताउनु भयो ।सचिव मरासिनीले अहिले प्रदेश सरकारले समेत आन्तरिक ऋण लिन सक्न व्यवस्था भएकाले त्यसको समेत व्यवस्थापन गर्नु परेको बताउनु भयो ।

सचिव मरासिनीले सार्वजनिक संस्थानहरुलाई सरकार ग्यारेन्टी बसेर ऋण दिने व्यवस्था हटाउनु पर्ने बताउनु भयो । सरकार ग्यारेन्टी वसेर ऋण तिर्ने क्षमता विश्लेष नगरी ऋण मागेकै भरमा सबै सावैजनिक संस्थानलाई ऋण लिनदिँदा सरकार ग्यारेन्टी बस्ने काम मात्रै हुने भन्दै उहाँले यस्तो व्यवस्थालाई कडा बनाउनु पर्ने आवश्यक रहेको बताउनु भयो । यता बजारमा वस्तु र सेवाको चरम मूल्यवृद्धि भइरहेको छ । उत्पादक, आयातकर्ता, थोक विक्रेता र खुद्रा व्यापारीले अस्वाभाविक र अनुचित रूपमा मूल्यवृद्धि गर्दा उपभोक्ता मारमा परिरहेका छन् ।

दैनिक उपभोग्य वस्तुहरू दाल, चामल, तेल, घिउ, चिनी, फलफूल, तरकारी पेट्रोलियम पदार्थलगायत सम्पूर्ण वस्तुमा अत्यधिक मूल्यवृद्धि भइरहेको छ । विशेषतः पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण प्रत्यक्ष-अप्रत्यक्ष अन्य दैनिक उपभोग्य वस्तुमा त्यसको असर नपर्ने कुरै भएन ।

कोभिड संक्रमण देखाएर व्यापारीले गरेको मूल्यवृद्धि नियन्त्रण गर्नु सट्टा सरकारले व्यापारी नै पोसिने गरी हरेक नीति नियम र वस्तुमा बढाएको करका कारण दैनिक उपभोग्य वस्तुको मूल्य ह्वातै बढेको छ । जसको मार आम गरिवदुखी जनताले भोग्नु परेको छ ।

यसैबीच, बजारमा निर्माण सामग्रीको मूल्य समेत बढेको छ । कोभिड देखाउँदै अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको देखाउँदै स्थानीय बजारमा मूल्य बढाएका थिए । फेरि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार छोइनसक्नु भएको छ ।

हिमाली क्षेत्रमा मूल्यवृद्धिको मात्रा समेत बढेको पाइएको छ ।

हिमाली क्षेत्रपछि तराईमा पनि उल्लेख्य रुपमा मूल्यवृद्धिको चाप परेको एक विवरणमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरण अनुसार हिमाली क्षेत्रमा ८.२१ प्रतिशतले मुद्रास्फिती भएको छ ।

केन्द्रीय बैंकका अनुसार तराई क्षेत्रमा मुद्रास्फिती ८.१५ प्रतिशत बराबर रहेको छ । काठमाडौं उपत्यकामा ७।३९ प्रतिशत, पहाडमा ७।८९ प्रतिशत बराबरको मुद्रास्फीति रहेको छ । विसं २०७८ वैशाखमा काठमाडौँ उपत्यकाको मुद्रास्फिती ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत बराबर थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको पाइएको छ । गत वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फिति ५.८४ प्रतिशत छ ।

विसं २०७८ वैशाख महिनाको तुलनामा गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलमा मात्रै २४।८६ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै, फलफूलमा १२.६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डामा ११.३० प्रतिशत , दाल तथा गेडागुडीमा १०.५३ प्रतिशत र सुर्तीजन्य पदार्थमा ९.७० प्रतिशतले मूल्यवृद्धि भएको छ ।

साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायातमा २१.८१ प्रतिशत, शिक्षा र मनोरञ्जनमा ११.६४ प्रतिशत तथा संस्कृति उपसमूहमा ८.२१ प्रतिशतको मुद्रास्फीति भएको पाइएको छ ।

उता शुक्रवार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ ।

शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम पनि गिरावट आएको छ । बिहीवार १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । शुक्रवार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । त्यसमध्ये सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि सबै भन्दा कम ०.३० प्रतिशतले घटेको छ ।

नेप्से सूचक दोहोरो अंकले घटेपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्रीन भेन्चर्स लिमिटेड, उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यता सामुदायिक लघुवित्त र युनिलिभर नेपालको शेयरमूल्य ५ प्रतिशतले गिरावट आएको छ ।

कारोबार रकमको आधारमा ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको पनि ४ करोड २४ लाख रपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

सरकारले विलासिताका वस्तु आयातमा गरेको कडाइका बाबजुत पनि विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति वैशाख मसान्तसम्म ११४६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११६७ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । यस्तो सञ्चितिले ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।

२०७८ असार मसान्तसम्म १३९९ अर्ब ३ करोड रुपैयाँ बराबरको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । पछिल्लो १० महिनामा विदेशी मुद्रा सञ्चितिमा १८ प्रतिशतले कमी आएको छ । चैत महिनासम्म रहेको विदेशी मुद्रा सञ्चितिले ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था देखिएको थियो । १० औं महिनासम्म आउँदा सञ्चिति अझ कम भएको छ ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक