20220802

बर्षा, बढी पहिरो र भुकम्पको चपेटामा नेपाल !

 म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मत्यु र तीन जना वेपत्ता भएका छन् । घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिनुभयो । घटनास्थलमा रहनुभएका तारा रोकाका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको छ । त्यस्तै ५ वटा खच्चड र अन्य खाद्यान्न समेत पहिरोले बगाएको छ ।

गोठे र उहाँकी श्रीमति गोरी बिक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी बिक वेपत्ता भएका हुन् । स्थानीयबासीहरुले वेपत्ताको खोजी गरिरहेका छन् । घटनास्थल तामिङ गाउँ रुमको फेदीमा पर्छ ।

यता रातभर परेको लगातारको बर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका ५ स्थित २ नं. पुल, ३ नं. पुल, भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । ठूलो पहिरो खसेका कारण पहिरो पञ्चाउन समय लाग्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार राति ११ बजेदेखि सडक अवरुद्ध भएको छ । 

राती ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण विहानबाट मात्रै पन्छाउन सुरु गरिएको छ । पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएका छन् । ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन दिनभर समय लाग्न सक्ने प्रहरीले जनाएको छ ।

यस्तै पहिरोमा सवारी साधन समेत परेको छ । केराबारीमा ना ६ ख ४५७२ नं. को १२ चक्के ट्रक पहिरोमा परेको सडक सुपरभाईजर रन्जिला क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा मोटरसाईकल १ वटा र म्याजिक गाडी १ वटा परेको छ भने घरहरुमा समेत क्षति पुगेको छ। यद्यपी मानवीय क्षति भने नभएको उनले बताए ।

उता अविरल वर्षाका कारण खसेको पहिरोले गर्दा पृथ्वी राजमार्गको जोगिमारा फिस्लिङ सडक खण्ड अबरुद्ध भएको छ ।

सडक माथिबाट खसेको ठुला-ठुला ढुङ्गाले गर्दा सडक अबरुद्ध भएको हो । अहिले सो अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

पहिरोका कारण खसेको ढुङ्गा निकै ठुलो भएको र लोडरले पन्छाउन नसक्ने भएकाले थप समस्या उत्पन्न भयको छ । सडक अबरुद्धका कारण राजधानी प्रवेशका लगि आएका सबै सवारीका साधनहरु जाममा परेका छन् ।

रातिदेखि सडक बन्द भएकाले सबैजसो रात्रिकालिन सेवाका सवारीका साधनहरु दुवैतर्फी जाममा परेका हुन् ।

यस अघी खोटाङ- साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ ।

यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको छ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरूपमा भत्किएको छ ।

साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले भूकम्पको इपिसेन्टर’ साकेलामा हालसम्म चार सय ६४ घरमा क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार बाँझेच्यानडाँडामा एक सय ३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा एक सय पाँच र भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति भएको हो ।

भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा छ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक–एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले जानकारी दिनुभयो ।

“स्थानीय तहहरूले भूकम्पसँगै बाढी र पहिराको समेत क्षतिको विवरण टिपाउने क्रम जारी छ”, उहाँले भन्नुभयो, “जिल्लाका १० वटै स्थानीय तहलाई भूकम्पको क्षतिको वितरणचाहिँ तीन दिनभित्र दिन आग्रह गरिएको छ । जिल्लामा भारी वर्षा भइरहेकाले यकिन विवरण आउन समय लाग्ने देखिएको छ ।”

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो नेपालमा हालसम्मकै शक्तिशाली भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिकामा भूकम्पको केन्द्र भएपछि जिल्लावासी त्रसित बनेका छन् ।

भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जाने क्रम जारी रहेकाले सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेर जिल्लावासीलाई आग्रह गरिएको प्रजिअ सेढाईँले बताउनुभयो । “जिल्लामा अहिले पनि भूकम्पको पराकम्प जाने क्रम जारी छ”, उहाँले भन्नुभयो, “कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ ।”

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गएलगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्ट’का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो ।

जिल्लाका अन्य स्थानीय तहले पनि भूकम्पबाट आ–आफ्नो क्षेत्रमा भएका क्षतिको विवरण सङ्कलन गर्ने क्रम जारी राखेका छन् । भूकम्प, बाढी–पहिरो, आगलागीलगायतका प्राकृतिक प्रकोपमा परेकालाई तत्काल उद्धार, राहत वितरण तथा व्यवस्थापन गर्न जिल्लाका १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक