20220830

इराकको राजधानी बग्दाद : कम्तीमा ३० जना मानिसको मृत्यु , ७ सय जनाभन्दा बढी घाइते, श्रीलंकाको राजधानी कोलोम्बोमा जस्तै गरिँदै छ बगदादमा पनि, कब्जा गर्दै पौडी पनि खेल्दै !

  बग्दादको ग्रिन जोनमा रहेको रिपब्लिकन प्यालेसमा पसेका प्रदर्शनकारीहरूले त्यहाँको स्विमिङ पुलमा पौडी खेलिरहेका छन्। असार अन्तिम साता कोलोम्बोमा राष्ट्रपति भवन कब्जा गरेका श्रीलंकालीहरूले पनि स्विमिङ पुलदेखि जिमसम्म प्रयोग गरेका थिए। त्यतिबेला श्रीलंकाका ती तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए। राजधानी बग्दाद सोमबार रातीदेखि हिंसा भड्किएको छ। अलजजिरा टेलिभिजनका अनुसार पछिल्लो हिंसामा परी कम्तीमा ३० जना मानिसको मृत्यु भएको छ भने ७ सय जनाभन्दा बढी घाइते भएका छन्। बग्दादबाट आइरहेका केही तस्बिरहरू डेढ महिनाअघि श्रीलंकाको राजधानी कोलोम्बोका झल्को दिने खालका छन्।

प्रदर्शनकारीहरू स्विमिङ पुलमा पौडी खेलिरहेका तस्बिर उस्ताउस्तै भए पनि कोलोम्बो र बग्दादमा आन्दोलन हुनुका कारण फरक छन्।  सबैभन्दा ठूलो फरक श्रीलंकाको प्रदर्शन शान्तिपूर्ण थियो भने इराकको प्रदर्शन निकै हिंसात्मक छ।

इरानमा पछिल्लो समय हिंसा भड्किनुको कारण एक जना प्रभावशाली सिया नेताले राजनीति छोड्ने घोषणाले हो।

इराकी राजनीतिमा निकै बलियो पकड बनाएका मुक्तादा अल-सद्रले सोमबार सामाजिक सञ्जाल ट्विटरमा आफूले राजनीति छोडेको घोषणा गरेका थिए। त्यसपछि उनका समर्थकहरू प्रदर्शनमा उत्रिएका थिए। हतियारधारी उनका समर्थकहरू संसद भवन, सरकारका विभिन्न मन्त्रालय, विदेशी नियोग र महत्वपूर्ण कार्यालय रहेको ग्रिन जोन क्षेत्रमा जम्मा भएका थिए।

त्यहाँ सद्रका समर्थक र सरकारी सुरक्षाकर्मीबीच गोली हानाहान भएको थियो। त्यही बीचमा सद्रका समर्थकहरू सुरक्षा घेरा तोड्दै सरकारी कार्यालयमा पसेका थिए।

इराकमा गत अक्टुबरमा संसदीय चुनाव भएको थियो। चुनावमा कसैले पनि बहुमत ल्याउन नसकेपछि अहिलेसम्म नयाँ सरकार गठन हुन सकेको छैन। सद्रले छिमेकी इरान समर्थित सिया समूहहरूसँग मिलेर सरकार गठन गर्न अस्वीकार गरेका छन्। इराकको राजनीतिमा छिमेकी पूर्वीछिमेकी इरानको ठूलो प्रभाव छ।

३२९ सदस्यीय काउन्सिल अफ रिप्रिजेन्टेटिभ्समा बहुमत पुर्‍याउन १६५ सांसद हुनुपर्छ। संसदको सबैभन्दा ठूलो दल बनेको सद्रको सद्रिस मुभमेन्ट्सले ७३ सिट जितेको छ। आफ्नो नेतृत्वमा सरकार नबन्ने भएपछि सद्रले यो संसद विघटन गरेर नयाँ चुनाव गर्नुपर्ने माग गरेका छन्। सोही माग लिएर उनका समर्थकहरू हप्तौंदेखि संसद भवनअघि धर्ना बसिरहेका छन्।

४८ वर्षीय सद्रले सोमबार राजनीति छोड्ने बताएपछि उनका समर्थक आक्रोशित भएका हुन्।

बग्दादको अवस्था मंगलबार पनि शान्त भएको छैन। काम चलाउ प्रधानमन्त्री मुस्ताफा अल-काधिमीले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेका छन्। कामिधी सद्रका समर्थक हुन्।

हिंसा भड्किएपछि इरानले इराकसँग जोडिएको सीमा बन्द गरिदिएको छ भने आफ्ना नागरिकलाई इराक नजान भनेको छ। नजिकैको अर्को मुलुक कुवेतले पनि आफ्ना नागरिकलाई तत्काल इराक छोड्न भनेको छ।

दुबईको इमिरेट्स एयरलाइन्सले बग्दादमा मंगलबारका लागि सबै उडान रद्द गरिदिएको छ। क्यानडा, अमेरिकालगायत मुलुकका इराकस्थित राजदूतहरू स्थिति निकै तनावपूर्ण रहेकाले संयम अपनाउन सबै पक्षलाई अनुरोध गरेका छन्।

महिनौंदेखि राजनीतिक संकटमा फसेको इराकले अब कसरी आफूलाई बाहिर निकाल्छ भन्ने प्रष्ट भइसकेको छैन।

यसैबीच सद्रले मंगलबार सबै पक्षले हिंसा नरोकेसम्मका लागि आफूले भोक हड्ताल गर्ने घोषणा गरेका छन्।

*****************

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

*******************


 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक