20221004

सन्दर्भ बडा दशैं : नवरात्रिको नवौँ दिन आज


आज नवरात्रिको नवौँ दिन । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धि धात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्ति स्वरूप सिद्धि धात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता छ ।

सिद्धि धात्री

देवी पुराणमा उल्लेख भएअनुसार यिनै देवीको असीम कृपाका कारण शिवजी स्वयंले पनि सिद्धि प्राप्त गरेका हुन् । सिंहको वाहनमा विराजमान यी देवीको प्रिय वस्तु कमलको फूल हो । यिनको साधना गर्नाले यस लोक र परलोक दुवैमा मोक्ष प्राप्त गर्ने विश्वास छ ।


शक्ति स्वरूप सिद्धि धात्री प्रसन्न भएर वरदान दिएमा साधक–साधिकाको कुनै पनि इच्छा बाँकी नहुने गरी सम्पूर्ण इच्छा पूरा गरिदिने भनी मार्कण्डेय पुराणमा उल्लेखित छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, इशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको व्याख्या गरिएको छ ।


आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रूपमा पनि लिइन्छ र इन्जिनहरू, गाडी, कारखाना आदिमा बलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो । शक्तिस्वरूपा देवीहरूले असुरहरूलाई खोजी–खोजी संहार गरेपछि बाँचेका असुरहरू जनावरका रूपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरूलाई बलि चढाइने किंवदन्ती छ ।


नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालय लगायतका ठाउँमा आज कलपूर्जा, हतियार र गाडीहरूको विशेष पूजासहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ । बलि दिन आज उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्त काली, सङ्कटा, बज्रयोगिनी, वज्रवाराही लगायतका शक्ति पीठहरूमा धेरै घुइँचो हुन्छ ।


यसै गरी उपत्यका बाहिर पर्साको तिलवा नदी पारी केहूनिया रहेको शक्ति पीठ विन्दवासिनी देवीको मन्दिरमा, वीरगन्जको गहवामाईमा, काभ्रेको पलान्चोक भगवतीमा, सप्तरीको छिन्नमस्ता मन्दिरमा, डडेलधुराको उग्र तारा मन्दिरमा, जनकपुरको राजदेवी मन्दिरमा, गोरखाको मनकामना मन्दिरमा, सुनसरी जिल्लाको दुहबीको बुढी खोला किनारमा रहेको काल मन्दिर, बनेपाको चण्डेश्वरी लगायत काठमाडौँ वसन्तपुर दरबार स्क्वायरमा रहेको दसैँ घर, कोतको पटाङ्गिनी लगायत नेपालभरिका शक्ति पीठ र मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित पूजा अर्चना र सप्तशती पाठ गरिन्छ ।


कतिपय ठाउँमा आज कुखुरा, बोका, भेडा, हाँस र कुखुराको पञ्च बलि पनि चढाएर कोत पूजा र निशान पूजा पनि गर्ने गरिन्छ । आजको दिन धूप आरती, फूल, नैवेद्य आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका बिरुवाहरूको पूजा गर्ने चलन पनि छ ।


कतिपय शक्ति पीठमा दुईदेखि दश वर्षसम्मका कन्याहरूको पूजा गर्ने चलन पनि छ । यस्तो कन्या पूजाका बारेमा देवी भागवतमा लेखिएको छ । आजको दिन काठमाडौँको तलेजु भवानीको मन्दिर वर्षभरिमा केवल एक दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ ।


यस दिन विशेष पाठ:


या देवी सर्वभूतेषु माँ सिद्धि दात्री रूपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस् ।।


अर्थात्:

सिद्धि दात्री देवीका रूपमा सर्वत्र विराजमान अम्बे, म तपाईँलाई कोटी–कोटी प्रणाम गर्दछु । मलाई शक्ति दिनुहोस् । महानवमीको सबैलाई शुभकामना, देवी माताले हामी सबैलाई शक्ति र समृद्धि प्रदान गरून् ।


यसका साथै नवमीकै दिन नेवा सभ्यतामा चाहिँ स्याकुटाकु मनाउने चलन छ । स्याकुटाकुमा आफ्नो खेतमा गएर पूजा अर्चना गर्ने, माटोलाई पुज्ने, बालीलाई पुज्ने र बलि दिने चलन छ । साहाकारीहरूले चाहिँ फलफूल नैवेद्य आदि चढाएर स्याकुटाकु मनाइन्छ ।


यसपालाको दसैँको हर्षले वर्षभरि कान्ति छाओस् । अगाध माया अनि असीमित शुभकामना !


स्याकूट्याकू

माता सिद्धि धात्रीको विशेष पूजापश्चात् काठमाडौँका स्थानीय नेवार समुदायमा परापूर्वकालदेखी देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिएर स्याकूट्याकू हर्ष बढाइकासाथ मनाइन्छ । यी दिनहरूमा स्थानीयहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने गर्दै आएका छन् । सात्त्विकहरूले नरिवल, कुभिन्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्त पूजा गरिन्छ ।


स्याकूट्याकूकै दिन कतिपय ठाउँमा आज कुखुरा, बोका, भेडा, हाँस र कुखुराको पञ्चवलि पनि चढाएर कोत पूजा र निशान पूजा पनि गर्ने गरिन्छ । स्थानीय नेवार समुदायहरूले आजको दिन धूप आरती, फूल, नैवेद्य आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका बिरुवाहरूको पूजा गर्ने चलन पनि छ । - हाम्रो पात्रो 

दशैंमा आफ्नो जन्म थलो, आफ्ना बाबु आमा, आफन्तजन नसम्झिने को होलान र ! उनीहरु र सबैमा समर्पित रामप्रसाद खनालका दुई दशैं गीत ।

  


 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक