20221022

´काला बादलमाथि उज्याला पाइला` लिएर यसरी अगाडि आए कवि पुरुषोत्तम दाहाल

 
कवि पुरुषोत्तम दाहालको ´काला बादलमा उज्याला पाइला` कविता-किस्तीको लोकार्पण कार्यक्रम मिति २०७९/०७/०३ गते काठमाडौँमा एक भव्य समारोह बीच सम्पन्न भयो ।  आयोजक संस्था रिलायन्स कलेजका प्राचार्य रवीन्द्रजङ्ग थापाको सभाध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथिका रूपमा समुपस्थित नेपाली राजनीतिक क्षेत्रका आदर्श एवम् बौद्धिक व्यक्तित्व , पूर्वमन्त्री नरहरि आचार्यले पानसमा दीपप्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । नेपाली साहित्य , प्राध्यापन, समाजसेवा,  राजनीति र पत्रकारिता आदि विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्तित्वक‍ो अनुपम सम्मिलन भएको उक्त कार्यक्रम साहित्यिक समारोहमात्र नभएर बौद्धिक बहस एवं प्राज्ञिक जमघटको स्थल बनेक‍ो थियो । स्रष्टा घटना र विचारका पर्याय तथा प्रजातन्त्रका सेनानी, राजनीति-विश्लेषक, मानव अधिकारकर्मी, वरिष्ठ पत्रकार, स्थापित साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालको बहुविधाव्यापी व्यक्तित्वले गर्दा सभाका शोभाका रूपमा वरिष्ठ पत्रकार हरिहर विरही, प्रा.डा. कुमारप्रसाद कोइराला, स्थापित कवि कलानिधि दाहाल, साझाप्रकाशनका अध्यक्ष प्रह्लाद भट्टराई, समीक्षक डा. नारायण चालिसे, डा. देवी नेपाल, समीक्षक सुमन घिमिरे, स्थापित लेखक तथा राजनीतिविश्लेषक डा. शान्तिकृष्ण अधिकारी, प्रजातन्त्रका गायक/कलाकार नन्दकृष्ण जोशी, प्रा.डा.भूपप्रसाद धमला, प्रा.डा.गोविन्दमान सिंह कार्की,  कवि होमप्रसाद गृहस्थी, प्रा.मुकुन्दराज दाहाल, लेखक मधुसूदन पाण्डे, इन्जिनियर महेश पराजुली, शिक्षाविद् विष्णु पौडेल , लेखक रामचन्द्र घिमिरे, प्राध्यापक ध्रुव ज्ञवाली, साहित्यकार मुकुन्द पौडेल, सम्पादक कृष्ण भुसाल, लेखक नारदमणि पौडेल, कवि वियोगी बुढाथोकी, कवि विनोद दाहाल वत्स, कवि कल्पना दाहाल, प्रेरक व्यक्तित्व श्रीमती शान्ता दाहाल आदि विविध क्षेत्रका विशिष्ट महानुभावहरूको विशेष सहभागिता रहेको थियो । नेपाली साहित्यको महत्त्वपूर्ण प्राप्तिका रूपमा नेपाली कविता विधामा प्रविष्ट कवि दाहालको  ´काला बादलमा उज्याला पाइला` शीर्षक कृतिको प्रमुख अतिथि नरहरि आचार्य, स्थापित कवि कलानिधि दाहाल , प्रा.डा. कुमार कोइरालाबाट लोकार्पण भएपश्चात् नेपाली समालोचना क्षेत्रका विशिष्ट समालोचकहरूले कृतिमूल्याङ्कन गरेका थिए ।

कृतिमूल्याङ्कनका क्रममा सर्वप्रथम सुमन घिमिरे पुष्पाले समग्र कविताको विषयवस्तु समसामयिक समाजबाट लिइएकाले वर्तमानका राजनीतिक विसङ्गति तथा सामाजिक बेथितिप्रति व्यङ्ग्य प्रहार गरिएको छ भने निराशाका काला बादल मडारिएको वर्तमान परिवेशमा उज्यालो आशाको अपेक्षा गरिएको छ । कवितामा कतै निराशा, कतै वितृष्णा , कतै आशा र कतै मायालाई कलात्मक ढङ्गले उपस्थापन गरिएको छ । विशेषगरी नेपाली राजनीति क्षेत्रमा देखा परेका नातावाद, कृपावाद, दुराचार र भ्रष्टाचारप्रति तीव्र असन्तुष्टिका साथै सामाजिक, राजनीतिक, सांस्कृतिक रूपान्तरणको कामना कवितासङ्ग्रहमा प्रकट गरिएको विचार डा.सुमनले राखेकी थिइन् । 

त्यसैगरी अर्का कृतिसमीक्षक डा. देवी नेपालले दाहालको कवितासङ्ग्रहमा ४० कविताहरूमध्ये मुक्तछन्दमा २७वटा र छन्दोबद्ध १३वटा कविता संरचित देखिन्छन् भने ती कवितालाई हृदयका कविता र मष्तिष्कका कविता गरेर दुईवर्गमा विभाजन गर्न सकिने विचार अघि सारेका थिए । प्रकृति, जीवन, फूल , ऋतुचक्र आदिलाई देखेर मनमा स्फुरण हुने कविता हृदयकोटिमा पर्छन् भने राजनीति, राष्ट्र, साहित्य, समाज आदिको अवस्था चित्रण गर्दै सुधारको दृष्टिकोण प्रस्तुत भएका कविता मस्तिष्ककोटिमा पर्छन् भन्दै दुबैथरी कविताका सर्जक पुरुषोत्तम दाहाल साहित्यमा राजनीतिलाई कलात्मक ढङ्गले घुसाउन सफल भएको धारणा राखेका थिए । त्यसमा पनि कवि दाहाल देवक‍ोटा, पौडेल, घिमिरेजस्ता कवि नभएर पुरुषोत्तम दाहालकै स्वत्व स्थापना गर्न सफल छन्, दाहालले दाहालकै रूपमा आफ्नोपन दिन सक्षम देखिएका छन्, अर्थात् दाहालकै रूपमा उपस्थित हुनु नै कवि दाहालको प्रधान शक्ति र कविता लेखनशैलीको स्वच्छन्द मौलिक प्रवृत्तिको प्रशंसा समीक्षक डा. नेपालले गरेका थिए ।

समारोहमा तृतीय कृतिसमीक्षक डा.नारायण चालिसेले व्यक्ति पुरुषोत्तम दाहालको समाजवादी चरित्रको चर्चा गर्दै उनको जीवनगत व्यक्तित्वको प्रशंसा गरेका थिए । जन्त जाँदा होस् वा मलाम जाँदा होस् एउटै कोट भिर्ने सच्चा समाजवादी पुरुषोत्तम दाहाल सादा जीवन र उच्च विचारका प्रतिमान हुन् यद्यपि आज उनको मूल्याङ्कन हुन सकेको छैन र शासनसत्तामा टिक्न र सम्पत्ति थुपार्न जस्तोसुकै तिक्डम गर्न अघि सर्ने स्वार्थमा समाहित वर्तमान भ्रष्ट एवम् निर्लज्ज नेतृत्वबाट कुनै आशा र सही मूल्याङ्कनको अपेक्षा प्रजातन्त्रप्राप्तिका लागि निस्वार्थ लामो समय सङ्घर्षशील प्रजातन्त्रसेनानी हामी सबैका उद्देश्य र लक्ष्य बनेका पुरुषोत्तम दाहालले राख्नसमेत नहुने तर्क अघि सारेका थिए । 

नेपाली साहित्यका स्थापित कवि कलानिधि दाहालले राजनीतिक चक्रव्यूहमा चुर्लुम्मै डुबेका पुरुषोत्तम दाहाल राजनीतिबाट साहित्यमा फर्किनु नै सबैभन्दा ठूलो विजय हो भन्दै कवि दाहाल अबदेखि नित्यनिरन्तर काव्यसाधनामा लागिरहन सकून् भन्ने शुभकामना प्रदान गरेका थिए । जसरी हिजो २०१७ सालमा राजा महेन्द्रको झेलबाट विपी जेलपर्दा साहित्यमा लागेकाले सफल भए त्यसैगरी वर्तमान ठगबन्धनमा बाँधिएका आदर्शच्यूत नेतृत्वबाट वाक्क दिक्क बन्दै पुरुषोत्तम दाहाल राजनीतिबाट विमुख भएर साहित्यमा आउनु नै नेपाली साहित्यको पूँजी हो भन्ने विचार कवि कलानिधिले राखेका थिए ।

त्यसैगरी प्रा.डा. कुमार कोइरालाले ´शान्ता` उपन्यासले चर्चाको शिखरमा चढिसकेका बहुमुखी प्रतिभा दाहालका यसभन्दा पनि गहन काव्यकृतिहरू पढ्न पाइयोस् भन्ने शुभकामना दिएका थिए ।  वर्तमान गठबन्धको राजनीति स्वार्थमा केन्द्रित छ, राजनीतिक दलहरूमा सैद्धान्तिक विचलन छ, वर्तमानको राजनीतिप्रति अत्यन्त सचेत, गम्भीर राजनीतिक विश्लेषक, निष्ठा र आदर्हमा अडिग, बौद्धिक विवेचक, वरिष्ठ पत्रकार, मानव अधिकारकर्मी तथा प्राध्यापक दाहालले लेखेको यस कविता सङ्ग्रहमा स्वाभाविकरूपमा युगबोध देखा परेको छ ।  कोरोना महामारीको सन्त्रास, विश्व पर्यावरणमा देखा परेको परिवर्तनले उब्जाएको प्रतिकूल परिस्थिति, राष्ट्रिय भविष्यप्रतिको चिन्ता, सामाजिक विसङ्गतिप्रति व्यङ्ग्यचेत , राष्ट्रियता तथा  जीवनको सार्थकताका बारेमा लेखिएको अनि विचार र सिद्धान्तविहीन वर्तमान राजनीतिप्रति विद्रोहको स्वर सुसेल्ने ´काला बादलमा उज्याला पाइला` कविता सङ्ग्रह समसामयिक नेपाली साहित्यकै गहन कृति र महत्वपूर्ण प्राप्तिका रूपमा कोइरालाले मूल्याङ्कन गरेका थिए ।

त्यसैगरी स्थापित लेखक डा.शोभाकर पराजुलीले पुरुषोत्तम दाहालजस्तो आदर्शव्यक्ति कालो बादल छिचोल्नबाट पन्छिन हुँदैन सुधारमा नै लाग्नुपर्छ , निराशालाई चिर्द‌ै अघि बढ्नुपर्छ, विद्रोह र क्रान्ति गर्नैपर्छ भन्दै साहित्यिक सफलता र राजनीतिक क्रियाशीलताका लागि शुभकामना दिएका थिए । 

कार्यक्रमको विशेष शोभाका रूपमा रहेका प्रमुखातिथिको आसनबाट पूर्वमन्त्री तथा साहित्यकार नरहरि आचार्यले बहुमुखीप्रतिभा पुरुषोत्तम दाहालको प्रतिभाबाट आफू पहिलेदेखि नै धेरै  प्रभावित भएको र विशेषगरी ´घटना र विचार` कार्यक्रमले आफूलाई प्रभाव पारेको विचार राखेका थिए। उनले लेखेका कथा, कविता, निबन्ध, जीवनी, उपन्यास भन्दा पनि अलिखित ´घटना र विचार` कृति नै उनको पर्यायकृति रहेको उल्लेख गरेका थिए । आपसी स्नेहसम्बन्धले गर्दा नै यस कार्यक्रममा सहभागी भएको तथ्य उपस्थापन गर्दै स्वयं स्रष्टालाई आफूले राम्ररी पढेकाले कृति पढ्नै पर्ने आवश्यकता नरहेको टिप्पणी गर्दै दाहालको बौद्धिकता, स्पष्टवादिता, निडरता, राष्ट्रियता , युगबोधता, मानवताजस्ता विशेषताहरूको चर्चासहित साहित्यिक सफलताको शुभकामना आचार्यले दिएका थिए ।

 कवि पुरुषोत्तम दाहालले विमोचन समारोहमा समुपस्थित भएर शुभकामना प्रदान गर्ने प्रमुख अतिथि, समालोचक, साहित्यकार र पत्रकार विशिष्ट महानुभावहरूप्रति कृतज्ञ रहेको भन्दै आफ्नो कवितासङ्ग्रहमाथि भएका समालोचकीय चिरफार तथा बौद्धिकविचार विमर्शले उत्साही बनाएको र यसले आफूलाई साहित्यसाधनामा निरन्तर प्रेरित गर्ने धारणा राखेका थिए । आफू राजनीतिबाट पराजित भएर साहित्यमा आएको नभई सफा गर्नै असम्भवप्राय: सेफ्टीट्याङ्की बनिसकेको दलीय राजनीतिबाट मुक्त बन्दै साहित्य सिर्जना गर्न मन लागेको मात्र हो भन्दै बाहिरै बसेर पनि खबरदारी गरिरहने विचार प्रस्तुत गरेका थिए । कविले कवितालेखनको  पृष्ठभूमि र प्रेरणास्रोतका बारेमा बोल्दै धेरै कवितत कोरोनाकालमै लेखिएकाले र आफू स्वयम् पनि कोरोनाको सिकार बनेको हुँदा त्यसले पार्ने प्रभाव र नेपाल सरकारको आवश्यक ओषधोपचारका सामग्री खरिद तथा नियन्त्रणको व्यवस्थापनमा देखिएको अकर्मण्यता, भ्रष्टाचारिता, उदासीनता तथा उत्तरदायित्वहीनताबाट आफूमा राजनीति तथा सरकारप्रति वितृष्णा पैदा भएको र ´मूर्दाहरू आफ्ना लाश आफैँ जलाऊ` , ´ मदारी नृत्यकलामा निपूण छौ प्रभु` ´रातो पर्खाल, कोरोना र संसार` ´म‌ैले भोगेको कोरोना` ´कोरोनाको बन्दी` ´विहान ओम्नी राति यति` जस्ता कविताहरू जन्मिएका हुन् भन्दै विकृति र विसङ्तिको काला बादल मडारिँदै गएको वास्तविकता रहँदा पनि  नयाँ पुस्ताले गर्ने सुधारको प्रयास नै उज्यालो पाइला हो । त्यसैले वर्तमान बेथिति र विसङ्गतिप्रति निराशामात्र प्रकट नगरी नवीनपुस्ताप्रति पूर्ण विश्वास र भरोसा गर्दै ´ऊ मुस्कुराउँदा`  ´जुनेली रातको प्रतीक्षामा` ´यौटा रूद्र यहाँ आऊ` जस्ता कविताहरूमा आशावादी एवम् जीवनवादी दृष्टि प्रक्षेपण गर्न खोजेको अभिव्यक्ति राखेका थिए ।

अन्तमा सभापतिको आसनबाट रवीन्द्रजंग थापाले कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गर्ने सर्जक दाहाल र प्रकाशक शिखा बुक्सलगायत सभामा सहभागी र सहयोगी सबैप्रति धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गरेका थिए ।

 समग्रमा कविप्रतिभा स्वयं बहुविधव्यक्तित्वका धनी हुनुका साथै नेपाल राष्ट्र र नेपाली राजनीतिलाई राम्ररी चिनेका अनि विश्वपरिवेशलाई समेत नजिकबाटै नियालेका सचेत एवम् प्राज्ञिकवर्गका साहित्यकार भएकाले नेपालका विविध क्षेत्रमा लव्धप्रतिष्ठित विशिष्ट विद्वान् , लेखक, प्राध्यापक, सम्पादक, कवि-कलाकार, साहित्कार तथा पत्रकारआदिको उपस्थितिले कवितासंग्रह-विमोचन समारोह भव्य, सभ्य,  रम्य र दिव्य रहेको सभामा प्रत्यक्ष सहभागी लेखक (उपप्राध्यापक उमेशप्रसाद घिमिरे) को अभिमत छ । ´काला बादलमाथि उज्याला पाइला` कृतिमाथि थप विवेचन पछिल्ला प्रकाशनमा गर्ने प्रतिबद्धतासहित हामी सबैको बालमस्तिष्कमा अमिट छाप र प्रभाव पार्न सफल रेडियो नेपालको ´घटना र विचार` कार्यक्रमका प्रवर्तक तथा पर्याय कवि पुरुषोत्तम दाहाललाई काव्यिक शिखर आरोहणको शुभकामनासहित हार्दिक बधाई!!


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक