20221116

चिठ्ठी बन्द गरेँ यही भनेर !

* फाँसीमा झुन्ड्याउनु पर्ने 
रगत पिएर आएका 
अपराधी र ज्यानमारालाई  
सराप्छौँ पाँच वर्ष, 
गर्छौँ गाली पाँच वर्ष 
अनि ठोक्छौं ताली चुनावमा 
बोक्छौँ काँधमा नेता भन्दै 
तानातान गर्छौँ 
हाम्रो जिल्ला र क्षेत्रमा आइ देउन् भन्दै 
हाल्छौँ निवेदन 
दिन्छौँ भोट उसैलाई 
जिताउँछौँ दाश बनेर 
जित्छ उ
कहिले उता मिल्छ 
कहिले यता मिल्छ 
जान्छ सिंहदरबार 
खान्छ सबै सबै  
लुट्छ दिन दिनै 
लुटिने हामी सबै तिनै 
वाह जनता, 
हामी जनता 
कस्ता जनता ! 


* एउटा भकभके बोको जस्तो 
न उसको बोल्ने कुनै ढङ्ग छ
न कुनै बिचार र सिद्धान्तमा रङ्ग छ
न काम छ न भिजन छ  
बोक्छन् बोकाउँछन् पालै पालो 
कुहिएका फर्सी र सिनोहरू
हेलिकप्टरमा सवार महारानी
बाड्छिन फ्री भिसा र फ्री टिकटका प्रलोभन
पत्याउँछौँ हामी त्यस्तालाई 
दिन्छौँ भोट उसैलाई 
जिताउँछौँ दाश बनेर 
जित्छ उ
कहिले उता मिल्छ 
कहिले यता मिल्छ 
जान्छ सिंहदरबार 
खान्छ सबै सबै 
लुट्छ दिन दिनै 
लुटिने हामी सबै तिनै 
वाह जनता, 
हामी जनता 
कस्ता जनता !


* उता अर्को छट्टु छ 
बोल्न माहिर छ 
कहिले सत्ताबाट बोल्छ 
कहिले प्रतिपक्षबाट बोल्छ 
कहिले बार्दलीबाट बोल्छ 
हामी दङ्ग पर्दै मार्छौँ ताली 
सुरु देखी अन्तिम सम्म 
उसका उखान टुक्काहरूमा 
मिलाएर गर्ने भाषणहरूमा 
गफै गफका राशनहरूमा 
पत्याउँछौँ हामी त्यस्ता लाई  
दिन्छौँ भोट उसैलाई 
जिताउँछौँ दाश बनेर 
जित्छ उ
कहिले उता मिल्छ 
कहिले यता मिल्छ 
जान्छ सिंहदरबार 
खान्छ सबै सबै 
लुट्छ दिन दिनै 
लुटिने हामी सबै तिनै 
वाह जनता, 
हामी जनता 
कस्ता जनता !


* अझै अर्को छ छट्टु 
अपराधीका हातबाट 
क्वाप्प खान्छ लड्डु 
बाँड्छ फ्री भिसा र फ्री टिकटका आश्वासन  
बिना ढेउवाके भन्दै  
भन्छ उ नेता हुँ म नेता
छैनन् साथमा कार्यकर्ता
उधारोले चल्दैन उसलाई 
खोज्छ हाताहाती 
धाउँछ सधैँ बालुवाटार र खुमलटार यत्रतत्र 
लाग्छ पछि पछि
कात्तिके कुकुर जस्तो 
पत्याउँछौँ हामी त्यस्तालाई 
दिन्छौँ भोट उसैलाई 
जिताउँछौँ दाश बनेर 
जित्छ उ
कहिले उता मिल्छ 
कहिले यता मिल्छ 
जान्छ सिंहदरबार 
खान्छ सबै सबै 
लुट्छ दिन दिनै 
लुटिने हामी सबै तिनै 
वाह जनता, 
हामी जनता 
कस्ता जनता !
 

* ए हजुर बा 
ए हजुर आमा 
ए बा आमा 
म लाहुरे भएँ सधैँका लागि 
बित्ने भो जीवन लाहुर मै 
दिदी बहिनी कुवेत र इजरायल छन्  
दाई र भाई पनि खाडी छन् 
खेत बारी सबै झाडी छन् 
बाँदर को राज छ रे गाउँमा
सिंहदरबार मा उनीहरूको जस्तै 
चाहे जे सुकै होस 
खुन पसिना र आँसु लटपटिएको 
खर्च पर्च पठाउन छँदै छौँ हामी 
जानु लौरो टेकेर मतदान केन्द्रमा 
नसके डोकोमै बोकिएर भए पनि 
हाल्नु भोट तिनैलाई 
जिताउनु तिनैलाई 
अब झिकाउनु छ 
बाँकी रहेका प्युसा प्युसीहरुलाई   
यतै लाहुर तिरै 
रगत र पसिनाहरूको भेल 
बगाउनु छ परदेशमा 
गुलाम बनेर 
चिठ्ठी बन्द गरेँ यही भनेर ! 

- रामप्रसाद खनाल, नोभेम्बर १६, २०२२     


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक