20221214

निर्वाचन आयोगलद्वारा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक


 निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गरेको छ । आयोगले समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको हो । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको
सात दिनभित्र राष्ट्रपति समक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम भोलि राष्ट्रपति समक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन र पुस २ गते सातै प्रदेशमा प्रदेश प्रमुखसमक्ष प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गर्ने बताउनुभयो ।


पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट ८ सय २५ जना निर्वाचित हुनुभएको घोषणा गर्नुभयो । प्रतिनिधिसभातर्फ १ हजार ९ सय ६१ तथा प्रदेशसभातर्फ २ हजार ३ सय २४ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको छ भने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ बन्दसूची पेस गर्ने ४७ दलमध्ये ४० वटा दलको धरौटी जफत भएको छ ।


समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम यस निर्वाचनबाट सातवटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले यो निर्वाचनमा देखिएका समस्याहरूलाई समेत सम्बोधन गर्ने गरी नयाँ कानुन निर्माणमा लाग्ने बताउनुभयो ।


मतपत्र छपाइ र प्रचार प्रसारमा भएको खर्चको भुक्तानी सकिएपछि निर्वाचन खर्चको सम्पूर्ण विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने ऐतिहासिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवारलगायतलाई धन्यवाद दिएको हो ।


आयोगले निर्वाचनमा भाग लिई मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति आभार प्रकट गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सूचना, सञ्चार र समाचारमार्फत निरन्तर सकारात्मक खबरदारी गर्ने, मतदातालाई सुसूचित गरी निर्वाचनको कार्यमा सरिक हुन प्रेरित गर्ने तथा निर्वाचनका गतिविधिहरूको निरन्तर रिपोर्टिङ गर्ने आमसञ्चारमाध्यम एवं सञ्चारकर्मीप्रति आयोगले धन्यवाद ज्ञापन गरेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक