20230113

पहाडी भेगका केही स्थानीय बस्तीहरूमा पानीको मुहान सुक्दै गएपछि अनेकन समस्या, सहस्राब्दीको ठूलो चुनौती

 धनकुटाका पहाडी भेगका केही स्थानीय बस्तीहरूमा पानीको मुहान सुक्दै गएपछि खानेपानीको जोहोका लागि मात्र यहाँका महिलाले अनेकन समस्या भोग्नुपरेको छ । खानेपानीको संकट देखिनुमा सहस्राब्दीको ठूलो चुनौतीको रुपमा खडा भएको जलवायु परिवर्तन पनि एक कारक मानिन्छ । पानीका स्रोत जोगाउने उपायमध्ये रैथाने प्रविधिको उपयोगमार्फत वर्षाको पानी पुनर्भरणमा जोड दिनुपर्ने विज्ञहरू सुझाव दिन्छन् । अन्यथा खानेपानी अभावकै कारण दर्जनौँ बस्तीहरू यहाँबाट अन्यत्रै सार्नुपर्ने बाध्यता देखिन्छ ।

धनकुटा / धनकुटा, सहिदभूमि गाउँपालिका–२ की प्रेमकुमारी विष्टको घरनजिकै पानी पाइँदैन । उहाँ २/३ घण्टा टाढा पुगेर उकालोमा पानी बोकेर आउनुहुन्छ । ८/९ वर्षको हुँदा बाल्यकादेखि डोकोमा पानी बोकेर शुरु भएको उहाँको दुःख अहिले ४७ वर्षको उमेरसम्म टुटेको छैन । ‘मलाई पाठेघरको समस्या छ’ उहाँ भन्नुहुन्छ, ‘गाउँमा मजस्ता अरू धेरै छन् ।’

खानेपानीको अभावले बालबालिकाहरू समेत बोतल, जर्किन, गाग्री लगायतका भाँडा बोकेर पानी लिन हिँड्छन् । सबैले पानी बोक्न समय दिनुपर्छ । घरका केटाकेटीले त काम गर्नुपर्ने भएपछि प्रेमकुमारीलाई पानी नबोकी सुखै हुने कुरा भएन । ‘पहिले निरोगी हुँदा त बलियै थिए, उकालोमा सजिलै पानी बोकेर ल्याइन्थ्यो’ उहाँ भन्नुहुन्छ, ‘अहिले पाठेघर खस्ने समस्याले सताएर अप्रेसन गरेको १० वर्ष भयो, अझै पानी बोकिरहेकी छु, घरमा बिहानदेखि बेलुकी पानी चाहिन्छ । नबोकेर के गर्ने ?’

सहिदभूमि गाउँपालिका– ४ निवासी ५४ वर्षीय देवान राईका अनुसार, उहाँको घरमा धारामा पालो अनुसार दिनको १२ मिनेट पानी आउँछ । अन्य घरायसी कामका लागि पानीले नपुग्ने भएकाले कुवा र धारामा जानुपर्छ । ‘यहाँ सबैभन्दा महँगो पानी भइसकेको छ, सबैलाई पानी चाहिने हुन्छ । अझ खडेरी समयमा त त्यति पानी पनि आउँदैन । अनि नबोकेर त सुखै छैन’ उहाँ भन्नुहुन्छ, ‘पानी बोकेर परिवार धान्न पर्दा दिक्क पनि लाग्छ, घरमा भएकाहरू अन्य ठाउँमा बढी बस्छन्, अनि सबैतिर आफै बढी खट्नुपर्छ । पुग्दो पानी भए कैयौँ दुःख त्यसै हट्थ्यो ।’

धनकुटा सहिदभूमि गाउँपालिका स्थित महिलाहरू पानी भर्दै । तस्वीरः बालिका मादेन

प्रेमकुमारी र देवानले झैँ धनकुटाको सहिदभूमि, छथरजोरपाटी, चौबिसे गाउँपालिका अनि महालक्ष्मी र धनकुटा नगरपालिकाका कम्तीमा १२ वटा वडाहरूमा पानीको अभाव छ । पानीको अभावले एकातिर महिलाहरू घरपरिवार चलाउन घण्टौँ टाढाको बाटो धाएर पानी बोक्न बाध्य छन् । अर्कातिर उनीहरू खेतबारी बाँझै छाडेर बसाई सर्दैछन् ।

महालक्ष्मी ६ मा रहेको नागेश्वर मन्दिरसंगैको कुवा सुकेको अवस्थामा । तस्वीर: बालिका मादेन

अनेक कठिनाइ 
धनकुटाका पाका व्यक्तिहरू आफैले देखे भोगेका कैयौँ धारा कुवाहरू सुक्दै र हराउँदै गएको बताउँछन् । महालक्ष्मी नगरपालिका–६ लेगुवाकी देउकुमारी गिरी (७५) ले प्रयोग गरिरहेका गाउँघरका पानीका मूलहरू सुकेर गएको आफ्नै आँखाले देख्नुभएको छ ।  पुर्खादेखि प्रयोग हुँदै आएको घर नजिकैको छानो सहितको हिटी (ढुङ्गे धारो)मा अहिले पानी छैन । बिहान सधैँ गाग्रोमा पानी भर्ने हिटीमा अहिले उहाँले सिमेन्टको ट्याङ्की मात्रै बाँकी रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिले अङ्गालो भरीका धारो थिए, अहिले यी धारामा पानी रसाउनै छोडे ।’ फिल्ड रिपोर्टिङका क्रममा यहाँ पुग्दा यस वडा नं ६ र ९ मा ३ वटा हिटी तथा धारा सुकेको अवस्थामा थिए । 

स्याटेलाइट तस्वीर स्रोतः गूगल अर्थ प्रो

सहिदभूमि–२ विष्टटोलका विनोद विष्टले आफू घर पुगेको बेला आकाशको पानी सङ्कलन गरेर नुहाउनु परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘एक घर एक धाराको नारा ल्याएका छन् तर एक घण्टा बढी समय लगाएर पानी बोक्नुपर्छ । गएको वैशाखमा आकाशे पानी परेकाले असारसम्म बलेसीको पानीले नुहाउने गर्जो टर्‍यो ।’ 

सहिदभूमि २ स्थित स्थानीय पानी भर्न पालो कुर्दै

महालक्ष्मी नगरपालिका–६ लेगुवाकी गीता श्रेष्ठ विवाह गरेर आएको १८ वर्ष भयो । उहाँले त्यतिबेला देखेका कैयौँ कुवा र मुहानहरू अहिले सुकेका छन् । उनलाई प्रशस्त पानी भए तरकारी खेती गर्न सकिन्थ्यो भन्ने मनमा लागिरहन्छ । 

आफ्नो घरमुनिको कुवामा पानी भदै सूर्यबहादुर श्रेष्ठ । तस्वीरः बालिका मादेन

‘पहिले अन्नबाली प्रशस्त हुने ठाउँ हो । धान, मकै, गहुँ सबै बाली लाउने गर्थ्यौँ’ भन्नुहुन्छ, ‘अहिले पानी सुक्दै गएको छ, अर्कोतिर बाँदरले पनि बाली रहन दिँदैन । पानी मात्र भएको भए खेती गर्न, तरकारी बाली लगाउन सकिन्थ्यो भन्ने लाग्छ ।’

अहिले महालक्ष्मी नगरपालिका–१, चित्रेका करिब एक हजार परिवारले ११ किलोमिटर टाढाको मुहानबाट ल्याएको खानेपानी प्रयोग गरिरहेका छन् । दैनिक केहीबेर मात्रै धारामा आउने पानी भर्न पाएनन् भने उनीहरू घण्टौँ कुवामा लाइन लागेर पानी बोक्नुपर्ने स्थानीय सूर्यबहादुर श्रेष्ठ बताउनुहुन्छ । 

स्याटेलाइट तस्वीर स्रोतः गूगल अर्थ प्रो

स्थानीय तहहरुले तयार पारेको तथ्याङ्क अनुसार, १ लाख ६३ हजार जनसङ्ख्या रहेको धनकुटामा कम्तीमा ८० प्रतिशत घरपरिवारले धारा तथा पाइपमार्फत खानेपानी उपभोग गर्छन् । तर बाँकी ३२ हजारले पानीको लागि सोझै मूल, इनार, कुवा, नदी र खोलाको पानी प्रयोग गर्नुपरेको छ । 

बसाई सर्नेको लहर 
धनकुटाको छथरजोरपाटी गाउँपालिका–४ तेलियाका ९६ वर्षीया लक्ष्मण तामाङ गाँउबस्तीमा पानी सुक्दै गएपछि बस्ती समेत पातलिँदै जान थालेको बताउनुहुन्छ । छिमेकी गाउँ ताम्लीङका ९७ वर्षीय पूर्णबहादुर खनालका सबै छिमेकीहरू अहिले बसाई सरेर हिँडिसके । 

‘बाउ बाजेका पालादेखि बस्ती नजिकै कुवा थियो, त्यो सुक्यो । अहिले खानेपानी लिन टाढा जानुपर्दा धेरै समय लाग्छ, ’ उहाँ भन्नुहुन्छ, ‘पहिले पनि अलिअलि त मान्छे बसाई सरेर जान्थे । तर पानी पाउन छाडेपछि सालैपिच्छे जान्छन् ।’ केही वर्षमा आफूले चिनेजानेका ९० परिवार बसाई सरेको उहाँ स्मरण गर्नुहुन्छ । 

छथरजोरपाटी गाउँपालिकाको तथ्याङ्कले पनि बुढापाकाहरूको भनाई पुष्टि गर्छ । २०७८ वैशाखदेखि २०७९ असार मसान्तसम्ममा गाउँपालिकाबाट १ सय ५९ घरपरिवारका ५६१ जनाले बसाइसराइ गरेको तथ्याङ्क छ । बसाई सर्ने तर कतिपय अवस्थामा बसाइसराइ गरेको अभिलेखक पनि नहुने हुनाले यो तथ्याङ्क अझै बढी हुने अनुमान गाउँपालिकाका कर्मचारीहरूको छ । 

महालक्ष्मी नगरपालिकामा २०७८ चैत मसान्तसम्मको बसाइ सर्नेको तथ्याङ्क हेर्दा एक वर्षमा त्यस्ता घर परिवार १ सय ९४ रहेका छन् । यसको असर धनकुटामा पछिल्ला केही वर्षमा जनसङ्ख्या वृद्धिदर नै ऋणात्मक देखिनु पनि हो । बसाइ सर्दा धनकुटाबाट उनीहरू सुनसरी, मोरङ, झापा लगायतका जिल्लाहरूमा जाने क्रम बढेको तथ्याङ्कले देखाउँछ । 

तथ्याङ्क कार्यालय धनकुटाका अनुसार, केही वर्षयता पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम, खोटाङ, भोजपुर,  ओखलढुङ्गा लगायतका जिल्लाबाट बसाई सरेर जानेहरूको सङ्ख्या बढ्दो छ । ती जिल्लाको जनसङ्ख्या घट्दो क्रममा नै छ । खानेपानीको अभावले जीविकोपार्जनमा परेको कठिनाइका कारण बसाई सर्नेको लर्को छ । 

स्थानीयले बसाइसराइ गरेपछि छोडेको घरको अवस्था, महालक्ष्मी नगरपालिका–६। तस्वीरः बालिका मादेन

नेपालको सन्दर्भमा भन्ने हो भने सामान्यतया: प्रतिदिन प्रतिव्यक्ति ४५ लिटर पानी उपलब्ध भएमा आधारभूत स्तरको सुविधा मानिन्छ । त्यसमा पानी लिएर आउने समय ३० मिनेटभन्दा कम हुनुपर्छ । 

छथरजोरपाटी गाउँपालिका–४ मा बसाई छाडेर गएपछि बाँझो भएका खेतबारी (माथि) र सोही स्थानमा केही बर्ष अगाडी खनजोत गरी अन्नबाली लगाइएको (तल) । स्याटेलाइट तस्वीर स्रोतः गूगल अर्थ प्रो

खानेपानी मन्त्रालयको पछिल्लो विवरण र त्यहाँका अधिकारीको भनाइमा देशभर ९० प्रतिशत बढी जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच छ । यसमध्ये २५ प्रतिशतले मात्र शुद्ध पिउने पानीको प्रयोग गर्छन् । तर मुहान सुकेर पानीको अभाव भएपछि धनकुटाका दर्जनभन्दा बढी बस्तीका स्थानीय आधारभूत सुविधाबाटै बञ्चित हुनुपरेको छ ।

किन सुके मुहानहरू ? 
महालक्ष्मी नगरपालिका–६ का स्थानीय नेत्र अधिकारी बस्तीमा सुख्खापन बढ्दै गएकाले अहिले कृषि बाली, पशुपालन लगायतको काम गरेर आयआर्जन गर्ने सम्भावना घट्दै गएको दुखेसो पोख्नुहुन्छ । ‘पहिले उब्जाउ थियो, तीन बालीसम्म खेती हुन्थ्यो’ उहाँ भन्नुहुन्छ, ‘पालेको गाईबस्तुले समेत समयमा पानी खान पाउँदैनन् अनि कसरी खेतीपाती हुन्छ ?’

धनकुटा नेपालको पूर्वी भेगमा पर्छ । यस अघिका बर्ष र दशकमा देशका पूर्वी भागमा सुख्खापन बढेर कृषि उत्पादन घट्दै गएको अध्ययनहरूमा पनि देखिन्छ । विगत ४ दशकमा नेपालमा खडेरीको अवस्था बारे सन् २०२१ मा गरिएको एक अध्ययनले बर्ष २०१२ र २०१८ मा अन्य भागहरूभन्दा पूर्वका क्षेत्र चरम सुख्खापन र खडेरीबाट गुज्रिएको उल्लेख छ । त्यस्तै इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डिभलेपमेन्ट (इसिमोड) द्वारा सन् २००९ मा प्रकाशित अर्को रिपोर्टले धनकुटाका केही गाँउहरुमा निरन्तर खडेरीका कारण मकैको उत्पादनमा ह्रास आएको आकलन गरेको छ । 

सुख्खापन, खडेरी र पानीका मुहान सुक्नुमा जलवायु परिवर्तन एक प्रमुख कारक हो भन्छन् यस क्षेत्रका विज्ञहरू । 

जलवायु वैज्ञानिक डा. सन्तोष नेपालले पानीको मुहान दुई कारणले सुक्ने गरेको दाबी गर्नुहुन्छ । एक, पानी पर्ने प्रक्रियामा आएको परिवर्तन । अर्को, पानी जमिनभित्र जाने क्रममा अवरोध भएमा भूमिगत भण्डारण घटेर मुहान सुक्दै जाने । उहाँका अनुसार, जलवायु परिवर्तनसँगै बढ्दो तापमान वृद्धिले पनि पृथ्वीको सतह र माटोको तापक्रम बढ्छ, जसले जमिनमा भण्डारण भएको पानी वाष्पीकरण (पानी तातिएर बाफ हुने प्रक्रिया) भएर जान्छ र स्रोत सुक्छ । 

‘जमिनमुनि पानी भण्डार भइरहन थोरै मात्रामा सिमसिमे पानी लामो समयसम्म पर्नुपर्छ । तर अहिले जलवायु परिवर्तनले छोटो समयमा भारी वर्षा हुने गर्छ, जसले जमिनमुनि पानी जान कम हुन्छ र त्यस्तो पानीले भू–क्षय, बाढीपहिरो मात्रै बढाउँछ’ भन्नुहुन्छ, ‘पानी पर्ने तौरतरिकामा आएको फेरबदल पनि जलवायु परिवर्तनको एउटा लक्षण हो । यसले गर्दा अतिवृष्टि र अनावृष्टि भइरहेको छ ।’

पशुपालन, खेती किसानीमा उपयोग गर्न परम्परागत रुपमा बनाइएका पोखरीहरू मासिने क्रममा छन् ।  पानी पोखरीले भूमिगत जल भण्डारलाई पुनर्भरण गर्न मद्दत गरेको हुन्छ । तर पोखरी मासिन थालेपछि तल्लो भागमा अन्य कुनै मुहानहरू रसाइरहन पाउँदैनन् । 

कर्णाली बेसिनका २९ वटा नगर तथा गाउँपालिकाको पानीका मुहानको अध्ययनमा संलग्न डा. दिपनारायण शाह पछिल्लो १० वर्षमा २० देखि ३० प्रतिशत पानीको मुहान सुक्दै गएको बताउनुहुन्छ । त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रिय विभागका उप—प्राध्यापक डा. शाहका अनुसार, केही ठाउँको स्रोत अर्कोतिर सर्ने र फेरबदल हुने लक्षणहरू समेत देखिएको छ । 

राष्ट्रिय योजना आयोगले पनि सन् २०१६ मा यस्तै अध्ययन गरेको थियो । राष्ट्रिय जलवायु परिवर्तन प्रभाव सर्वेक्षण २०१६ को प्रतिवेदन, अनुसार ७४.२९ प्रतिशत घरपरिवारले पानीका स्रोतहरूमा परिवर्तन भएको देखेका छन् । अनि ८४.४७ प्रतिशतले स्रोतमा पानीको मात्रा घटेको महसुस गरेका छन् ।

नेपाल मात्रै होइन, जलवायु परिवर्तनको कारण पानीका स्रोतहरू सुक्ने, हराउने र सर्ने समस्या अरू मुलुकहरूमा समेत विकराल बन्दै गएको छ । जल, जमिन र भूमिगत पानीको महत्त्वको विषयमा दक्षिण एसियाका विभिन्न ठाउँलाई समेटेर अनुसन्धानकर्ताले तयार पारेको एक लेखले  भविष्यमा सुख्खाग्रस्त वर्षहरूले हिउँको पानी र जमिनमुनिका भूमिगत पानीको महत्त्व र आवश्यकता अझ बढाएको बताइएको छ । दक्षिण एसियाले सिँचाइका लागि जमिनमुनिको पानीको अभाव सामना गर्नुपर्ने औँल्याइएको छ । अनि, भविष्यमा जमिनमुनिको पानी भण्डारणमा हुने कमीले खडेरी बढेर जाने अध्ययनमा उल्लेख छ ।

के होला समाधानको प्रयास ? 
आफ्नो वडा अत्यन्त सुख्खा ग्रस्त भएकोमा चिन्तित हुनुहुन्छ, धनकुटाको महालक्ष्मी नगरपालिका– ६ का वडा अध्यक्ष शिवराज विश्वकर्मा । खानेपानीको अभावले आधारभूत जीवनयापनमै कठिनाइ भएको र सामाजिक जीवनका धेरै पाटोमा असर भएकाले बसाई सरेर जाने क्रम बढेको उहाँ स्वीकार्नुहुन्छ । 

‘घरमा पानीको समस्या समाधानका लागि धेरैजसो घरमा महिलाहरू नै काम गर्नुपर्ने भएकाले उनीहरूको स्वास्थ्य, बालबालिकाको पठनपाठनमा समस्या छ’ उहाँ भन्नुहुन्छ, ‘यसले गर्दा आयआर्जन हुन सकेन । रोजगारीका लागि पुरुषहरू अन्यत्र जानुपर्ने अवस्था छ ।’ खानेपानीको समस्या तत्काल सम्बोधनका लागि लेगुवा खोलाबाट पानी तानेर माथि ल्याउने र बाँड्ने योजनाको अध्ययन पुरा भएको उहाँले जानकारी दिनुभयो । 

ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोष (फन्ड बोर्ड)ले धनकुटामा खानेपानी तथा सरसफाईमा २५ वटा भन्दा बढी कार्यक्रम सम्पन्न गरेको छ । यद्यपि, मुहान र स्रोत नै सुक्दै गएपछि खानेपानीको अवस्था दयनीय छ । 

संस्थाका जिल्ला अध्यक्ष नरेशप्रसाद श्रेष्ठ भन्नुहुन्छ, ‘वर्षायाम बाहेक बाँकी ६ महिना पानीको हाहाकार देख्नुपर्छ ।’ पानीको मुहान संरक्षणमा वरपरको सय मिटरमा डोजर, एक्स्याभेटर लगायतका उपकरण चलाउन बन्देज लगाइएको श्रेष्ठको दाबी छ । ‘मुहान वरपर पहिरो जाने पहिरो जान नदिन उपभोक्ता समिति बनाई परिचालन पनि गरिएको छ,’ उहाँ भन्नुहुन्छ । 

देशभरका खानेपानी आयोजना मध्ये अधिकांश बाह्य शक्ति प्रयोग नगरी माथिबाट तल बगाएर पानी सङ्कलन गर्ने र वितरण गर्ने ग्राभिटि फ्लोमा आधारित आयोजना छन् । त्यसको तुलनामा पम्पिङ प्रविधिमा आधारित आयोजना निकै कम छन् । खानेपानी मन्त्रालयको अघिल्लो आर्थिक वर्षको विवरणमा यस प्रकारको आयोजनाका लागि धनकुटामा २ वटा कार्यक्रममा बजेट छुट्टाइएको देखिन्छ । 

भूमिगत पानी तानेर वितरण गरिने यस्ता आयोजना देशभर करिब साढे ३ सय पम्पिङ र साढे ४ सय जति आयोजना छन् । 

जलवायु वैज्ञानिक डा. सन्तोष नेपाल पुराना पोखरीहरूको मर्मतसम्भार र पुनरुत्थान एउटा विकल्प हुने बताउनुहुन्छ । पोखरी पानीको मूल स्रोत भएकाले विभिन्न कारणले पुरिएका पोखरीको सरसफाइ गरेर तिनको क्षमता बढाएमा मूलमा पानीको मात्रा बढ्न सक्छ । केही वर्षअघि काभ्रेको डराउने पोखरी क्षेत्रमा मासिएका पुराना पोखरीहरूको पुनरुत्थान गर्दा मूलमा पानी बढेको पाइएको थियो ।

डा. नेपाल भन्नुहुन्छ, ‘मूल सुधार्ने हो भने पुनर्भरण क्षेत्रमा वर्षाको पानी सङ्कलन गरी भूमिगत जल भण्डारमा पानीको मात्रा बढाउनुपर्छ ।’

यसै विषयमा रेडियो नेपालबाट प्रसारित रिपोर्ट:

(‘गुगल अर्थ प्रो’ सफ्टवेयरबाट निकालिएका स्याटलाइटका तस्बिरहरूको समेत अध्ययन गरी तयार पारिएको यो खोजमूलक रिपोर्टमा खानेपानीको निम्ति स्थानीयले भोगेका समस्यालाई उजागर गर्ने प्रयास गरिएको छ । यसका लागि तथ्याङ्क पत्रकारिता केन्द्र नेपालसँग तथ्याङ्क विश्लेषण, दृश्यांकन र नक्सांकनमा सहकार्य गरिएको हो ।)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक