20230214

सत्तारुढ गठबन्धन भत्किनेआशंका छ : केपी शर्मा ओली

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गर्नुभएको छ । मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गर्नुभएको हो । उहाँले संसदको बनावट अस्थिरताको कारक हुनेखालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शंका व्यक्त गर्नुभयो । उहाँले देशभित्रका र बाहिरका शक्तिहरु देशलाई बर्बाद पार्न लागेका बताउनु भयो । एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उहाँले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताउनु भयो । उहाँले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका बताउनु भयो ।


उहाँले भन्नुभयो – ‘अहिले साथीहरु काफी प्रशन्न भएको देख्छु म । हामीले पाँचदलिय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । तर हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रशन्न भएको देखिन्छ । प्रशन्न हुनुपर्दछ । तर कथम कदाचित यो स्थिति फेरियो भने ? संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । बहुमत कसैको छैन । हाम्रो पार्टीसँग बहुमत छैन । हामीसँग बहुमत भन्दा निकै तल सिट छ । र अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशिल छन् । यो देश बर्बाद पार्न सबभन्दा पहिले यदी कुनै डाकाले बैंकमा डकैती गर्नप¥यो भने पहिले पालेलाई प्रहार गर्छ । नेकपा (एमाले) यो देशमा डकैती गर्न नदिने गेटको पाले हो । यसमाथि नहानीकन भित्रै पस्न पाउँदैन । त्यसकारण पहिले यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । त्यसकारण फेरि पनि हुँदैन भन्न सकिँदैन । अनेक प्रकारका शक्तिहरु क्रियाशिल छन् । अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका छन् । यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरु भइरहेका छन् ।’


अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताउनु भयो । कसैले पनि संस्थागत रुपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भएपनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको बताउनु भयो । उहाँले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरु राम्रोसँग पढेर राम्रो नतिजा ल्याउनेखालको हुनुपर्ने बताउनु भयो । कुनैपनि बाहानामा आफ्नो पढ्ने काम नछोड्न उहाँले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।


उहाँले भन्नुभयो – ‘पहिले पहिले हाम्रो समयतिर खुब चल्यो, बुर्जुवा शिक्षा बहिष्कार गरौँ भन्ने कसैले । कसैले क्या मौका मिल्यो, पढ्न गाह्रो भइराखेको थियो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा च्याप्प समात्यो, कुद्यो । वास्तवमा त्यो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा बिल्कुल नचाहिने काम थियो । र त्यो संस्थागत रुपमा कसैले दिएको पनि होइन । केही मान्छेका लहडमा बुर्जुवा शिक्षा, मानिलिउँ सर्वहारा शिक्षाको युनिभर्सिटी कतै उनले खोलेर राखेको जस्तो । त्यहाँ गएर पढ्दा हुनेजस्तो । अथवा मान्छेलाई अनपढ बनाउने बाटो । म तपाईहरुलाई भन्न चाहन्छु हाम्रा विद्यार्थी भाइ बैनीहरु, अनेरास्ववियुका भाइबैनीहरु ट्यालेन्ट हुनुपर्दछ । परिक्षामा प्रथम, द्वितीय, तृतिय, चौथो हुने को हो भन्दा अनेरास्ववियुका विद्यार्थी । आन्दोलनले गर्दा पढ्नै पाइएन । त्यस्तो कहिल्यै पनि हुँदैन ।’


अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुनेकुरामा विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिष्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठनहरु भर्खरै सिक्दै गरेका भनि टिप्पणी गर्नुभयो । उहाँले नेविसंघलाई अनेरास्ववियुले जहिलेपनि छक्का हान्दै आएको बताउनु भयो ।


उहाँले भन्नुभयो – ‘नेविसंघ भनेको अनेरास्ववियुसँग जित्न नसकेर २७ सालमा, २६ सालमा निउ खोजेर अलग भएर २७ सालदेखि अलग्गै संगठनको रुपमा काम गरेको । २६ सालमा अनेरास्ववियु फुटाएर नेविसंघ बनाएको । अनेरास्ववियुभित्र लड्न नसकेर, अडिन नसकेर, टिक्न नसकेर भागेको संगठन हो । अब अरु पछि जन्मिएका भाई, बहिनी संगठनहरु यसो खेल्दैछन् । सिक्दैछन् । ति तपाईहरुको संगठनका भाइबैनी संगठन हुन् तिनीहरु । ति त पछिपछि हामीसँग सिक्दै त्यसरी खोल्दै गएका हुन् । त्यसकारण अहिले उनीहरुको जित्ने बेला भएको छैन । अहिले उनीहरु सिक्ने हो । नेविसंघलाई हामीले जहिल्यैपनि छक्का हान्दिने गरेको हो । त्यसकारण मैले विश्वास लिएको छु यसपल्ट पनि तपाईहरुको ब्याटिङ डरलाग्दो हुनेछ । तपाईहरुले स्ववियु निर्वाचनमा अरुको बलिङलाई छक्का हानेर दर्शक दिर्घामा पु¥याइदिनुहुनेछ । हरेक क्याम्पसमा अनेरास्ववियु । यसरी तपाईहरु जानुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।’


अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गर्नुभयो । उहाँले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्वकांक्षा बोक्नु नहुने बताउनु भयो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक