20230204

न त रबीको पक्ष लिएर भनेको हो यो कुरा, न त उनको अन्धभक्त बनेर प्रशंसा गरेको हो ! यो त अन्याय भएन र ?? अति भएन र ??


 न त रबीको पक्ष लिएर भनेको हो यो कुरा, न त उनको अन्धभक्त बनेर प्रशंसा गरेको हो । रबीले नागरिकता प्रकरणमा प्रक्रियागत त्रुटि गरेछन् रे ल मानौँ तर रबीको त्यो प्रक्रियागत त्रुटिले देश र जनताको के त्यति ठुलो बिगार गर्‍यो र ? प्रचण्ड बाबुरामले सत्र हजारको रगतको खोलो बगाउँदा, देशमा अपहरण, हत्या, आतङ्क, लुटपाट मच्चाउँदा, देशलाई ५० वर्ष पछाडि धकेल्दा उनीहरू पुरस्कृत हुने तर रबी लामिछानेले एउटा नागरिकता प्रकरणमा प्रक्रियागत त्रुटि गरे भनेर ५ पटक प्रधानमन्त्री बन्दा पनि कुनै एउटा गतिलो काम गर्न नसक्ने असक्षम देउवा, कुरौटे ओली र भस्मासुर नानीका बा हरूका भक्तहरूको रबी प्रतिको सत्तो सराप सुहाउँदो भयो र ? गल्ती अनुसार कारबाही होस भन्नु केही छैन तर रबी लाई नै देशको प्रमुख दुस्मन जस्तो गरेर जसरी सिद्ध्याउने प्रपञ्च गरिँदै छ त्यो स्वीकार्य हुने कुरा हो र ? यो त अन्याय भएन र ?? अति भएन र ??


मैले त सुरुको दिन देखिनै भन्दै आएको छु रबीलाई - ओली र प्रचण्डले आफूहरू असफल हुन र तपाईँलाई सफल बनाउन उप-प्रधानमन्त्री र गृह मन्त्री बनाएका कदापि होइनन् । तपाईँलाई पनि राजनीतिक रूपमा डाम्ने र सिद्ध्याउने खेल हो । रबी, तपाईँ मान्नुस् या नमान्नुस् - ओली र प्रचण्डलाई विश्वास गरेर, तिनका पछाडि लागेर सरकारमा जान हौसिनु तपाईँ र तपाईँको टिमको ऐतिहासिक भुल थियो । अपराधी सरदारको  नेतृत्वमा सरकारमा गएर ठुलो गल्ती गर्नु भएको छ तपाईँले ।

 

सर्वोच्च अदालतको अस्तिको आदेश संक्षिप्त आदेश हो, पूर्ण आदेश आउन्जेल हतार नगर्नु नै राम्रो हुन्छ भन्दाभन्दै पूर्ण आदेश आउन्जेल पर्खनु र कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनु उपयुक्त हुने बुझ्दा बुझ्दै नाइँ मलाई त्यही केटी चाहिन्छ भन्ने पाराले गृह नै माग्नु, सांसद पद खारेज भएका बखत पनि तपाईँले उही पदमा दोस्रो दिनमै जान खोज्नु केटाकेटी पन नै हो, अनैतीक कुरा हो दुःख नमान्नुहोला । अब रबी मात्र होइन रास्वपा लाई पनि सिद्ध्याउने भन्दै नानीका बा र उनका मितहरू भित्री रूपमै लागेका छन् बाहिर के भन्छन् त्यो विश्वास नगर्नुस् ।


 जनता सामु प्रक्रियागत त्रुटि भएकोमा माफी माग्ने, सरकारबाट तुरुन्त फिर्ता भएर जनता माझ जाने, प्रतिपक्षमा बसेर जनताका आवाज बुलन्द गर्नु बुद्धिमानी हुन्छ अन्यथा पछि ठुलो पश्चात्ताप हुन सक्छ । सत्ता र लोकप्रियता कहिल्यै सँगै रहन सक्दैनन् यो राम्रो सँग बुझ्नुहोला रबीजी । नपत्याए बर्मामा आङ साङ सुकिलाई र अन्य देशका इतिहासलाई नियाल्नुस् मित्र ।

 

रबीजी, तपाईँ बालुवाटार र बालकोट धाएको, उनीहरूको पछि लाएको मलाई मात्र होइन कसैलाई पनि पटक्कै मन परेको छैन । तपाईँका बुझ्ने शुभचिन्तक, भोटर, समर्थकले पटक्कै रुचाएका छैनन् है । अझै पनि बुझ्ने प्रयास गर्नुस् । तपाईँका टिममा अल्लारे भन्दा अलि बुझ्ने, राजनीतिको जरो थाहा भएका, विज्ञहरूलाई साथ लिनुभए निर्णय लिँदा गल्ती हुने थिएनन् तर दुःख साथ भन्नुपर्छ - त्यो देखिएको छैन है छैन ।   आगे तपाईँको जो मर्जी ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक