20230211

पशुपतिनाथ क्षेत्रलाई रङ्गीचङ्गीसहित सजावट गर्ने काम सुरु भएको छ, अब केही दिनमा पशुतिनाथ निकै झकिझकाउ देखिने छ !

 
महाशिवरात्रि नजिकिदै गर्दा पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाउन थालिएको छ । मारवाडी समितिको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम भइरहेको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्यस्थललाई रङरोगन गर्न थालिएको तथा बत्तीले सजाउने काम सुरु गरिएको छ । यसैगरी पशुपति क्षेत्रका भित्तामा रङरोगन लगाउने तथा भत्किएका सिडी मर्मत गर्ने कार्य सुरु भएको सदस्य सचिव डा थापाले बताउनुभयो ।


उहाँले भन्नुभयो, “पशुपतिनाथ क्षेत्रलाई रङ्गीचङ्गीसहित सजावट गर्ने काम सुरु भएको छ, अब केही दिनमा पशुतिनाथ निकै झकिझकाउ देखिने छ ।” यसवर्ष पशुपतिनाथमा १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान समितिले गरेको छ । पशुपतिनाथ क्षेत्रमा झकिझकाउ गरिन थालिए पनि शौचालयको अभावमा समस्या हुने स्वयं कोषका कर्मचारी बताउँछन् ।


पशुपतिनाथ क्षेत्रमा फूलले सजावट गर्ने कार्यका लागि कम्तीमा पनि रू २० लाख खर्च आउने अनुमान गरिएको छ । यसैगरी यसवर्ष भगवान् पशुपतिनाथमा जगद्गुरु शङ्कराचार्य आउने भएपछि पशुपति क्षेत्रलाई झनै सुन्दर तथा झकिझकाउन गर्न थालिएको सदस्य सचिव डा थापाले जानकारी दिनुभयो ।


उहाँका अनुसार जगद्गुरु शङ्कराचार्य आउँदो फागुन ४ गते पशुपतिनाथमा आउने तथा यहाँ प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ । महाशिवरात्री आउन अझै समय भए पनि अहिले नै पशुपतिमा भक्तजनको निकै चहलपहल बढ्दै गएको छ । पशुपतिनाथमा छिमेकी मुलुक भारतबाट साधुहरु आउने क्रम बढेको बताइएको छ ।


पशुपतिनाथमा बत्तीसहित विभिन्न रङ्रोगनले सजावट गरिन थालेपछि अहिले यो क्षेत्र झनै मनमोहक र आकर्षक बनेको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो ।


महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भिड बढेको छ । हङ्स मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकस कोषले जनाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक