20230325

कालीकोट जिल्लामा व्याप्त रहेको बालविवाहलाई न्यूनीकरण गर्न कालीकोटको तिलागुफा नगरपालिकामा कर्णाली प्रदेशकै पहिलो ऐतिहासिक धामीझाँक्री सम्मेलन

 कालीकोट जिल्लामा व्याप्त रहेको बालविवाहलाई न्यूनीकरण गर्न कालीकोटको तिलागुफा नगरपालिकामा कर्णाली प्रदेशकै पहिलो ऐतिहासिक धामीझाँक्री सम्मेलन गरिएको छ । बालविवाह न्यूनीकरणका बिषयमा लामो समयदेखि काम गर्दै आएको सेभ द चिल्ड्रेन, किर्डाक नेपाल र तिलागुफा नगरपालिकाको संयुक्त आयोजनामा धामीझाँक्री सम्मेलन गरिएको हो । तिलागुफा नगरपालिकाका ११ वटा वडाका धामीझाँक्री, पुरोहित, वडा अध्यक्ष सहित जनप्रतिनिधि, कर्मचारी, जिल्ला स्थिति सरकारी कार्यालयका प्रमुखहरु सहित १६० भन्दा बढीको सहभागीतामा उक्त कार्यक्रम गरिएको हो ।


तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीको अध्यक्षता, माननीय जिल्ला न्यायाधीश भरत लम्सालको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको बिशेष आतिथ्यता, प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको उपस्थितिमा प्रदेशमेै पहिलोपटक ऐतिहासिक रुपमा धामीझाँक्री सम्मेलन गरिएको किर्डाक नेपाल कालीकोटले जनाएको छ ।


सम्मेलनले बालविवाह न्यूनीकरणका लागि धामीझाँक्री र पुरोहितहरुको तर्फवाट बालविवाह रोक्न विभिन्न निर्णय समेत गरेको छ ।

बालविवाह अन्त्यका लागि सबै धामीझाँक्री र पुरोहित एकजुट हुँने, बालविवाह गर्ने र गराउने ठाँउका भोजभतेर तथा निम्तोमा नजाने, बालविवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउन सहयोग गर्ने, बिवाहको लगन दिदा जन्मदर्ता वा जन्ममिति खुल्ने प्रमाणहरु २० वर्ष उमेर भएको भए मात्र लगन दिने, छोरा र छोरीलाई शिक्षामा सम्मान अवसर प्रदान गर्न सचेतना फैलाउने, धामीझाँक्री उपस्थिति हुने हरेक धार्मीक कार्यहरुमा बालविवाह बिरुद्ध छलफल तथा बहस गर्ने लगायतका निर्णय गरिएको छ ।


नगरपालिका भित्र हुँने बालविवाह रोक्न उमेर नपुगेर गरिने बिवाहमा आयोजना हुँने भोजभतेर बहिष्कार गर्ने, बालविवाह भए देखेको थाहा पाए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता सहित बालविवाह विरुद्धका गतिविधिमा धामीझाँक्री र पुरोहित एकजुट हुँने लगायतका निर्णय गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका जिल्ला न्यायधीस भरत लम्सालले गरीबि र अशिक्षाका कारण दुर्गम जिल्लाहरुमा बालबबिवाहका घटनाहरु घट्ने गरेको बताउनुभएको छ । अबदेखि कुनैपनि नाबलक तथा बालिकाले अदालतको ढोका पुग्नुपर्ने समय नआउन दिन यस्ता अभियानले सहयोग पुग्ने बताउनुभएको हो । बालबिवाह गरेर कुनैपनि बालक अथवा बालिकाले कानुनको कठघरामा उभ्याउन नपर्ने कुराको सिर्जना गर्न सबै एकजुट हुँनुपर्नेमा जोड दिनुभयो ।


धामीझाँक्री सम्मेलनमा बोल्दै बिशेष अतिथि समेत रहनुभएका कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बालविवाह बिरुद्ध जुन कदम चालिएको छ त्यो एकदमै सह्यनिय रहेको बताउनुभएको छ । धामीझाँक्रीले झारफुक नगरी बिरामीलाई स्वास्थ्य संस्थामा लैजान सल्लाह सुझाव दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।


प्रमुख जिल्ला अधिकारी माझीले बिवाहमा जाने पण्डितहरुलाई बिवाह गर्नुपूर्व केटाकेटीको उमेर सोधपुछ गरेर मात्रै बिहेको मण्डपमा बसाल्न समेत आग्रह समेत गर्नुभयो ।


यस्तै धामीझाँक्री सम्मेलनमा बोल्दै तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र शाहीले बालविवाह बिरुद्ध जस्तोसुकै कदम चाल्न पनि नगर सरकार तयार रहेको बताउनुभएको छ । ‘उहाँले भन्नुभयो, विकट बस्तीमा धार्मिक संस्कार अनुसार बालविवाह गर्ने प्रचलन रहेको भएपनि देशमा कानुन निर्माण भइसकेकाले अब कानुन भित्र रहेर बिवाह गर्नुपर्ने बताउनुभयो ।


बालविवाह सामाजिक अपराध मात्र नभई यो गाउँ समाजको ठूलो विकृति भएकाले त्यहीँ अनुरुप अभिभावक, बालबालिका, धामीझाँक्री र जनप्रतिनिधि सबैको समन्वयबाट बालविवाह रोक्न तिलागुफा नगरपालिकामा धामीझाँक्रीहरुको सम्मेलन गरिएको उपप्रमुख शाहीको भनाई छ ।

कालीकोटमा उमेर नपुगेर सानैमा विवाह गर्नेको संख्या बर्षेनी बढ्ने गरेका कारण उक्त बालविवाहलाई न्यूनीकरण गर्नका लागि उमेर नपुगेर बिवाहको आयोजना हुँने बिवाह उत्सव, भोजभतेर बहिस्कार गर्ने लगायतका कुरामा सचेत हुँनुपर्ने किर्डाक नेपाल कालीकोटकी बाल अधिकार शासन तथा बाल संरक्षण संयोजक सरिता खत्रीले बताउनुभयो ।


कर्णालीका जिल्लाहरू भौगोलिक रूपमा विकट छन् । अहिले नागरिकको घरदैलोमा सरकार पुगेको छ । तर, यहाँका स्थानीय बासिन्दाले भोग्दै आएका दुःख पीडा अझै पनि उस्तै छन् । अन्धविश्वास र रुढीवादी परम्पराले जकडिएको कर्णालीका विकट गाउँहरूमा स्थानीय सरकारले विभिन्न जनचेतनाका कार्यक्रम गरिरहेको बालअधिकार शासन तथा बाल संरक्षण संयोजक खत्रीको भनाई छ ।


यसैगरी सेभ द चिल्ड्रेनका बालअधिकार शासन तथा बाल संरक्षण संयोजक बाले बिश्वकर्माले कालीकोट जिल्लाका केही स्थानीय तहमा संघसंस्था र धामीझाँक्रीले गर्दा थुप्रै बालविवाहका घटनाहरु रोकिएको बताउनुभएको छ ।


पछिल्लो समयमा धामीझाँक्री पनि बालविवाह न्यूनीकरण गर्नका लागि एकजुट भएका छन् अब यो अभियान सफल हुँन्छ ‘उहाँले भन्नुभयोे, । शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा २०१८ को भन्दा २०२२ मा बालबिवाहका घटनाहरु न्यूनीकरण भएको उहाँले दाबी गर्नुभयो ।


एक सय एघारभन्दा बढी धामीझाँक्री र पुरोहितलाई सम्मान


तिलागुफा नगरपालिकामा धामीझाँक्री र पुरोहितलाई सम्मान गरिएको छ । बालविवाह न्यूनीकरणका लागि सहयोग गरेको नगरपालिकामा रहेका १ सय ११ जना भन्दा बढि धामीझाँक्री र पुरहितहरुलाई टाउकोमा फेटा (पगडि) बाधेर सम्मान गरिएको हो ।


नगरपालिकाको आयोजना र किडार्क नेपालको आर्थिक सहयोगमा बालबिवाह न्यूनीकरणका लागि धामीझाँक्री र पुरोहितले गरेको योगदानको कदर गर्दै सम्मान गरेको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।


शुक्रबार पन्चेबाजा सहितको र्यालिमा नगर परिक्रमा गराएको उपप्रमुख शाहीले बताउनुभयो । उहाँका अनुसार हाम्रो ठाउँमा उमेर नपुगेर सानैमा बिवाह गर्दिने र आफ्नो स्वइच्छाले बिवाह गर्ने गरेका थिए । अब त्यसलाई रोक्न पर्छ । सानैमा विवाह गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ भनेर हामीले यो अभियान सुरु गरेका छौँ । हाम्रो तिर बिशेषत धामीझाँक्रीलाई अलि धेरै सम्मान गरिने र भनेको मान्ने हुदाँ पनि धामीझाँक्रीले यो अभियानमा सहयोग गरेपछि उमेर नपुगेर विवाह गर्नेको संख्यालाई न्यूनीकरण गर्न सकिन्छ कि भन्ने हाम्रो अभियान हो ।’

उक्त नगरपालिकामा ११ वडा वडा रहेका छन् । सो वडाहरुमा बालविवाह न्यूनीकरणमा धामीझाँक्री सक्रिय भएका छन् ।


बालबिवाह मुक्त निषेधित नगरपालिका घोषणा गर्ने तयारीमा तिलागुफा


तिलागुफा नगरपालिकामा सन २०१९ मा ३९ प्रतिशत १८ बर्षमुनीको बालबिवाह भएकोमा विभिन्न अभियान सञ्चालन पछि सन २०२२ मा आइपुग्दा १२.५ प्रतिशतले बालबिवाह घटेको तथ्यांकले देखाएको छ ।


सोही कुरालाई मध्यनजर गर्दै तिलागुफा नगरपालिकाले बिक्रम संम्वत् २०८० को जेष्ठ भित्र कर्णाली प्रदेशकै पहिलो बालबिवाह निषेधित नगरपालिका घोषणा गर्ने तयारीमा रहेको तिलागुफा नगरपालिकाका नगर उपप्रमुख महेन्द्र शाहीले बताउनुभएको छ ।


हालसम्म कालीकोटको शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिका गरी कुल १० वटा वडा बालबिवाह निषेधित वडा घोषणा गरिएको छ । जसमा शुभकालिका गाउँपालिकाको वडा नम्बर २,६,७ र ८ लाई बालबिवाह मुक्त निषेधित वडा घोषणा गरिएको छ भने तिलागुफा नगरपालिकाको वडा नम्बर १,२,३,४,५ र ६ बालबिवाह मुक्त निषेधित वडा घोषणा गरिएको किर्डाक नेपाल कालीकोटले जानकारी दिएको छ ।

कालीकोटमा उमेर नपुगेर सानैमा विवाह गर्नेको संख्या बर्षेनी बढ्ने गरेका कारण यसलाई रोकथाम र न्यूनीकरणका लागि यहाँका सरोकारवाला निकाय समेत लागि परेका छन् । - हिमालय टाइम्स 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक