20230620

युक्रेनी जेलेन्स्कीबाद र नेपाल - रामप्रसाद खनाल

 "तपाईँ जस्तो मान्छे अमेरिका जान हुन्नथ्यो, देशमै बसेर केही गर्नु पर्थ्यो, फर्किनुस" भन्ने मेरा थुप्रै शुभचिन्तक, निकट साथीभाइहरू धमाधम कोही यतै अमेरिका आउन थालेका छन त कोही युरोप र त्यो पनि नभए खाडी तिर धाउने क्रम बढ्दो देखेको छु अहिले मैले । वहाँहरूको म प्रतिको सद्भावको म उच्च सम्मान गर्दछु र भन्दछु - रहरले कोही विदेश जाँदैन, बस्दैन र मेरो हकमा मात्र होइन यो कुरा वहाँहरुको हकमा र हरेक नेपालीको हकमा पनि लागु हुन्छ ।  

मेरा कलाकार मित्रहरू देखी भाइ बहिनीहरू सम्म त सम्भव हुन सक्ने जति कोही बाटा लागिसके । कोही ग्रिनकार्डको चक्करमा मात्र होइन प्रोसेसमा अघि बढेको पनि देख्छु । त्यो उनीहरूको रहर होइन बाध्यता बिबशता हो म त्यसलाई त्यसरी बुझ्छु । 

देश नक्सा मात्र होइन देश भित्र हरेक नागरिक अट्ने मुटु र गास बास कपासको आधार, बस्ने बातावरण पनि हुनुपर्छ । भोको पेटले खोक्रो राष्ट्रबाद धेरै धान्न सक्दैन । स्वर्ग जस्तो देश नेपाल राक्षसी राज, गुण्डाराज र भ्रष्ट लुटेराहरूको फन्दामा पर्दा हरेक नागरिकले देश भित्र भविष्य नदेख्नु, विदेश पलायन हुनुपर्ने बाध्यता हुनु निकै खेद जनक कुरा हो ।

 दुःख साथ भन्नु पर्छ - गत पन्ध्र वर्ष देखी म अर्को वर्ष त नेपाल फर्किन्छु भन्दै योजना बुन्दै गर्दा हाल सम्म पनि सधैका लागि देश फर्कें भन्दै फर्किन सकिरहेको छैन । म जस्ता लाखौँको अवस्था मैले त्यही देखिरहेको छु । देश दुखेर मात्र के गर्नु, राक्षसी राज र भ्रष्ट लुटेराहरूको संसारमा हामी जस्ता मान्छे मात्र होइन उनीहरुका सिमित आसेपासे र मतियारहरु बाहेक अब कोही पनि नागरिक जो सत्य, न्याय, धर्म, कर्म,अनुशासन, नैतिकता, सदाचार, र बिधिको शासनमा विश्वाश गर्छन तिनीहरु अटाउन गाह्रो छ । लुटेराहरू र तिनका सीमित मतियारहरूका लागि देश देश जस्तो छ तर आम जनताले महसुस गर्ने देश कहाँ छ पत्तो छैन ।

 नक्कली राष्ट्रबादले र युक्रेनी जेलेन्स्कीबादले देश तहस नहस बन्दै छ । अब हामी सिक्किम, फिजी, सोमालिया, रुवान्डा, भेनेजुएला, हाइटी, कङ्गो, बुरुन्डी, सिरिया, अफगानिस्तान, श्रीलङ्का हुँदै युक्रेन पथमा लम्किरहेको आभास हुन थालेको छ । युक्रेन खण्डहरमा परिणत भैसकेको छ रसियासङको युद्धमा । युक्रेनी जेलेन्स्कीबाद, राष्ट्रवाद त जिउँदै छ तर त्यहाँका जनता कति मरे, कति बेपत्ता भए, कतिले देश छोडे, हिसाब  अनगिन्ती छ । 

युक्रेनी जनता अहिले अमेरिका, युरोप देखी संसार भर शरण माग्दै भागिरहेका छन तर युक्रेनी जेलेन्स्की पश्चिमाहरूको हात हतियार र सहयोगमा रुस सँग लड्दै छन । त्यहाँका ८० प्रतिशत भन्दा बढी बस्ती, सहर, गाउँ खण्डहर बनेका छन । म आफैले आफै लाई प्रश्न गर्छु - ७० प्रतिशत युक्रेनी जनता देश छोडेर हिँडिसकेको अनुमान छ । ८० प्रतिशत भन्दा बढी बस्ती, सहर, गाउँ खण्डहर बने, युद्ध कसका लागि ? जेलेन्स्कीबाद कसका लागि ? के का लागि ? 

पुटिनको रुसी दादागिरी एक्काइसौं शताब्दिमा पनि हिटलरी रुप सम्झाउने खालको छ शँका छैन तर जेलेन्स्कीको पश्चिमाहरुको उक्साहटमा लड्ने, देश खन्डहरमा परिणत हुने, कोही मारिने, कोही देश छोडेर अरु देशमा शरण लिने यो अवस्था आउनु मा उनको कुटनीति लाई सफल मान्न सकिन्छ र ! युक्रेन बाट धेरै कुरा शिक्षा लिन सकिन्छ । यो उदाहरण बुझ्नेहरूका लागि काफी हुनु पर्छ । 

अहिले मात्र होइन २०४६ यता र विशेष गरी २०५२ यता देश पुरै सर्कसका जोक्करहरुको जोक र स्टन्टबाजी मै चलिरहेको छ, हामी त्यसैमा कहिले यो कहिले त्यो भन्दै जोकहरूमै रमाइरहेका छौँ, जोक्करहरु सँग दङ्ग छौँ । नक्कली राष्ट्रवाद, नक्कली प्रजातान्त्रिक समाजवाद, नक्कली कम्युनिजम, नक्कली लोकतन्त्र, नक्कली गणतन्त्र र नक्कली वादै वादहरूले देश निली सकेको छ तर पनि अहिले पनि तिनै नक्कली र छलकपट चालहरू सँगै चलिरहेका छौँ ।

जोक्करहरु यति धेरै उत्पादन गर्यौँ हामीले, त्यसैले होला त्यहाँ जोक र सर्कसहरू मज्जाले चलिरहेका छन्, बिकी रहेका छन् । एकादुइ केही गर्छु भन्ने भिजन भएका हिरो बन्नुपर्ने हरू जिरो बनाइएका छन् ।

अराजकता यति मौलाएको छ कि अब कुन दिन कुन ठेउकेले मोदी र बाइडेलाई नेपाल प्रवेशमा रोक लगाइएको छ भन्छ र भाइरल हुन्छ । सत्य सुन्न, सत्य बोल्न, गर्न कोही तयार छैनन् । पुराना जोगीहरू त फेल भएका थिए थिए अलि बढी नै खरानी घसेका नयाँ जोगीहरूको खरानी खस्न थालिसकेको छ ।

धर्म अफिम भन्दै मन्दिरमा पिसाब फेर्ने र पण्डितहरु मार्ने, पण्डितहरूका टुप्पी र जनै काट्ने कथित क्रान्तिकारी भैँसी पूजा हुँदै जनै र गेरु वस्त्र मा महाकाल र पशुपति नाथ धाउन र सत्तामा रही रहन पाउन जे सुकै गर्न पनि तयार देखिन थालेका छन् । यस्तै चटकहरूमा देश रनभुल्ल छ हामी हरू रनभुल्ल छौँ । रहौँला हामी नेपाली कहाँ नेपालै नरहे भन्ने कुरा गीत कवितामा र उक्तिमा मात्र सीमित भएको छ ।

लुट्ने, मान्छे मार्ने, देश बर्बाद पार्ने अपराधीहरु गेरु बस्त्र, जनै लगाएर पशुपति, महाकाल धाएर पाप पखाल्ने प्रयास गर्दा हामी सोझा जनता यो त राम्रो गरे भन्दै तिनै अपराधीहरुको बयानबाजीमा उत्रिन्छौं र भन्छौं अब हिन्दू राष्ट्र घोषणा गर्छन् । यस्ता चटके, सर्कसे जोक्कर हरुका पछाडि लाग्ने, यिनका आरती उतार्ने हामी जस्ता जनता रहे सम्म राष्ट्र र राष्ट्रियता हर दिन मरिरहने छ र युवा, केही गर्न सक्ने क्षमतावान हरु बिदेश पलायन भैरहनु पर्ने छ । देशमा फोहोरी राजनीति बाहेक के कुरा सफल छ ? राजनीतिलाई नै कलकारखाना, उद्योगधन्दा, बिकास सबै ठान्ने हो भने हो नेपाल धेरै माथि पुगेको छ । ३ करोड जनसंख्या नभएको देशमा हेर्नुस त पार्टी कति छन ? भए जतिका मान्छे कोही नेता कोही कार्यकर्ता ! खोइ जनता ?? अनि यहाँ भबिस्य सुरक्षित देख्ने कसले ?? हामी दिन प्रतिदिन दल दलमा, दरारमा फस्दै गएका छौं । सजिलो छैन निस्किन लाई । सिनमा रहेका पुराना जोगी देखी अहिलेका नयाँ जोगी सम्म (एकादुइ अपबादलाई छाडेर) सबैको चेहरा र नियत देखिसकिएको छ । यो निराशा होइन यथार्थ बोलेको हो ।

र अन्त्यमा यो पनि जोड्न मन लाग्यो,  

जब जब आशाहरू निराशामा परिणत हुन्छन्, सत्य, न्याय, धर्म, कर्म हराउँदै जान्छ, मान्छेलाई अराजकता पनि प्यारो लाग्न थालेको देखिन्छ । अहिलेका प्रचण्ड बाबुराम नाम गरेका उद्दण्डहरूले बाउन्न साल पछाडि अराजकता मच्चाएका मात्र थिएनन् हर क्षेत्रमा अराजकता सिकाएका पनि थिए, उनीहरूले पनि नियम कानुन, अड्डा अदालत मान्दैनथे, आफ्नै कथित जन अदालत खडा गरेर मान्छे लाई मृत्यु दण्ड दिन्थे, कथित सजाय दिन्थे । अराजकता समाधान होइन है बरु बाँकी रहेको थिति पनि सक्ने र बिथोल्ने हतियार हो । नियम, कानुन, विधि विधान ठिक छैनन् भने परिवर्तन गर्दै जानुपर्छ तर केही पनि मान्दिन भन्न थाल्ने हो भने र यस्तै गर्दै जाने हो भने त्यो भिड तन्त्र ले सबै स्वाहा पार्छ, यही भन्छन् असफल राष्ट्रहरूका देखे भोगेका उदाहरण र इतिहासले । हाइटी, कङ्गो, बुरुन्डी लगायतका असफल राष्ट्रहरूको अध्ययन भ्रमण गर्दा मैले आफूले देखे, बुझेको यही हो । तसर्थ म अराजकतामा कहिल्यै विश्वास गर्दिन । 

सत्य तितो हुन्छ ! सबैको जय होस ।

             अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक