20230615

के तपाई काठमाडौँभित्रबाट सार्वजनिक माइक्रोबस र जीप चढेर उपत्यका बाहिर जाँदै हुनुहुन्छ ? जाँदै हुनुहुन्छ, भने अब तपाईँ गोङ्गबुस्थित नयाँ बसपार्क पुग्नुपर्ने हुन्छ !


 के तपाई काठमाडौँभित्रबाट सार्वजनिक माइक्रोबस र जीप चढेर उपत्यका बाहिर जाँदै हुनुहुन्छ ? जाँदै हुनुहुन्छ, भने अब तपाईँ गोङ्गबुस्थित नयाँ बसपार्क पुग्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आजदेखि गोङ्गबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने व्यवस्था गरेको छ । 


सो व्यवस्थासँगै अब काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोँगबु, कोटेश्वरलगायतका क्षेत्रमा ‘काउण्टर’ राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुनेछन् । उक्त निर्णय कार्यान्वयनसँगै अब काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने झण्डै दुई हजार सार्वजनिक माइक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन्छन् । रातका समयमा जुन ठाउँमा पार्किङ गरेपनि यात्रु चढाउनका लागि नयाँ बसपार्कभित्र पुग्नुपर्ने हुन्छ ।


नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ टिकट काउन्टर निर्माणको कामलाई समेत तीव्रता दिएको छ । लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशोधन प्रमुख पङ्कज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जीप तथा माइक्रोबसलाई नयाँ काउण्टर निर्माण गर्ने काम भइरहेको बताउनुहुन्छ । “नयाँ बसपार्कभित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढङ्गले सञ्चालन गर्नका लागि लोत्से बहुउद्देश्यीय प्रालि लागेको छ,” उहाँ भन्नुहुन्छ ।


यस्तै, जीप तथा माइक्रोबसलाई नयाँ बसपार्क भित्रबाट व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि माइक्रोबस तथा जीप समन्वय समिति लागेको छ । समितिले गत जेठ ३० गते पत्रकार सम्मेलन गरी काठमाडौँका विभिन्न क्षेत्रबाट सञ्चालन हुँदै आएका सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने जानकारी दिएको हो ।


समितिका संयोजक राजेन्द्र आचार्य काठमाडौँ महानगरपालिकाले गत जेठ १९ गते लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेकाले उक्त निर्णयको कार्यान्वयनका लागि असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको बताउनुहुन्छ ।


“स्थानीय सरकारले गरेको निर्णय मान्न हामी तयार छौँ, उक्त निर्णय सरोकारवाला सबै निकायलाई लागू गराउन महानगरपालिका लाग्नुपर्छ, हामी साथ दिन तयार छौँ, स्थानीय सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन,” उहाँ भन्नुहुन्छ ।


यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । असार १ देखि सबै टिकट काउण्टर बसपार्कभित्र राखिने भएकाले सोही स्थानमा आएर टिकट लिनसमेत उहाँले यात्रुलाई आग्रह गर्नुभयो । हाल  काठमाडौँबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट बिपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका छन् ।


संयोजक आचार्य नयाँ बसपार्क भित्रबाट माइक्रो बस तथा जीप सञ्चालन गर्नका लागि लोत्से बहुउद्देश्यीय प्रालिसँगसमेत सम्झौता गरिसकेको बताउनुहुन्छ । “नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र यात्रुमैत्री बनाउनका लागि आवश्यकपर्ने संरचना निर्माणका लागि लोत्सेसँग सहकार्य गरेर अगाडि बढेका छौँ,”संयोजक आचार्य भन्नुहुन्छ ।  


नयाँ बसपार्कबाट माइक्रोबस तथा जीप सञ्चालन गर्दै गर्दा यात्रुहरूको सुविधाका लागि यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयका लागि ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्न उहाँले महानगरपालिकासँग आग्रह गर्नुभयो ।


काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे काठमाडौँभित्रको यातायातलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि महानगरपालिका लागेको बताउनुहुन्छ ।


“काठमाडौँ महानगरपालिकाले लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँ बसपार्क निर्माण गरी उपलब्ध गराएको छ, सबै सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन हुनुपर्छ,” उहाँ भन्नुहुन्छ । “बसपार्कभित्र सवारीसाधन नअटाए त्यसको विकल्प खोजिने उहाँको भनाइ छ ।”


काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी सार्वजनिक सवारीसाधन राख्न मिल्ने क्षमता रहेको छ । रासस


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक