20230914

विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या झण्डै २० हजार, रुसको अत्याधुनिक हवाई सुरक्षा प्रणाली नष्ट गरेको युक्रेनको दाबी,अफगानिस्तानका लागि राजदूत नियुक्त गर्ने चीन पहिलो देश !

 आफ्नो कब्जामा रहेको क्रिमियामा रुसको अत्याधुनिक हवाई सुरक्षा प्रणाली नष्ट गरेको युक्रेनले दाबी गरेको छ । किभको सुरक्षा सेवा र नौसेनाले युक्रेनी भूभाग येभपाटोरिया नजिकै गरेको क्रुज र ड्रोन आक्रमणलाई ध्वस्त पारेको युक्रेनी गुप्तचरलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा रुसी नियन्त्रणमा रहेको भू–भाग नजिकका स्थानबाट धूँवाको मुस्लो निस्केको देखिएको उल्लेख गरिएको छ । पछिल्लो आक्रमण र युक्रेनी प्रतिरक्षाका विषयमा भने मस्कोले कुनै प्रतिक्रिया दिएको छैन । यसअघि सन् २०१४ मा रुसले कब्जा गरेको सो क्षेत्रमा कैयौं विष्फोटका घटना भएको बीबीसीले उल्लेख गरेको छ । केही समय अघि मात्रै युक्रेनी सेनाले घरेलु विष्फोटका हतियारहरु बनाउने घोषणा गरेको थियो ।

उता सन् २०२१ मा तालिवानले सत्तामा लिएपछि अफगानिस्तानका लागि राजदूत नियुक्त गर्ने चीन पहिलो देश बनेको छ । चीनले झाओ जिङलाई राजदूत नियुक्त गरेको हो । तालिवान नेताहरूले झाओलाई हिजो काबुलको राष्ट्रपति भवनमा भव्य प्रोटोकल अन्तर्गत स्वागत गरेका थिए ।

चीनको विदेश मन्त्रालयले बेइजिङले अफगानिस्तानसंग वार्ता र सहयोगलाई अगाडि बढाउने र देशप्रतिको आफ्नो नीति स्पष्ट र सुसंगत रहेको बताएको छ । तालिवानलाई कुनै पनि विदेशी सरकारले औपचारिक रूपमा मान्यता दिएको छैन । तर अगस्ट २०२१ मा अमेरिकी नेतृत्वको विदेशी सेना अफगानिस्तानबाट फिर्ता भएदेखि चीन उनीहरूसँग संलग्न हुने पहिलो देशहरूमध्ये एक बनेको हो । 

यसै बिच प्राप्त अर्को समाचार अनुसार लिबियाको पूर्वी शहर डेर्नामा शक्तिशाली समुद्री आँधीपछि आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या झण्डै २० हजार पुगेको बीबीसीले जनाएको छ । हालसम्म पाँच हजार तीन सयभन्दा बढीको शव फेला परेको छ भने १० हजार बेपता भएका छन् । ३० हजार मानिस विस्थापित भएको त्यहाँको अधिकारीहरुले जनाएका छन् ।

डेर्नाका तटीय क्षेत्रमा गत आइतबार ड्यानियल आँधी र त्यससँगै आएको भारी वर्षाका कारण दुई वटा बाध भत्किएपछि शहरमा बाढी पसेको थियो । उद्धार कार्यमा साथ दिन इजिप्ट ट्युनिसिया संयुक्त अरब इमिरेट्स ,टर्की र कतारबाट उद्धार टोलीहरु बाढी प्रभावित क्षेत्र पुगिसकेका छन् । 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक