20230903

गाँजाको तुजुक !


३५ वर्ष अघि SLC परीक्षा दिएको अन्तिम दिन सहपाठी र सरहरू सहित भोज खाने र बिदा हुने निधो गरियो । भोज खाँदा केही साथीहरूले अरूलाई थाहै नदिएर रमाइलो गर्न भन्दै झुक्काएर गाँजा मिसाएछन् । गाँजा मिसिए पछि त्यो खाने मान्छेहरू बहुलाएको देखे पछि म गाँजाको नाम सुन्ना साथ तर्सिन्छु । अरूलाई ख्वाएर पछि खाने हामी केही साथीहरू बाहेक सबै लाई गाँजा यसरी लाग्यो उनीहरू को गुरु, को चेला सबै भुले । बौलाउने नै बनाउँदो रहेछ गाँजाले ।  

आदर्श मा.बि दिगाम गुल्मीको गाउँ टोलामा घटेको त्यो सत्य घटनाका साक्षीहरू मेरो SLC ब्याजका १०३ जना साथीहरू, हामीलाई पढाएका सरहरू अहिले पनि एका दुई बाहेक सबै जीवित हुनुहुन्छ सोध्न बुझ्न सक्नुहुन्छ । ओहो, त्यो गाँजा परे पछि त कति रिसाएर राता आँखा देखाउँदै मान्छे लखेट्ने, कति हाँसेका हाँसै, कति रोएका रायै, होस हवास गुम, कतिले तँलाई मारी दिउँ ? काटी दिऊँ ? भन्ने । के के बोल्ने बोल्ने ! वास्तवमा गाँजा खाएका गँजेडीहरूलाई त्यो नशाको बेला के बोलेँ होसै नहुने रहेछ ।

 हाम्रा आदर्श गुरु लोकनाथ उपाध्याय जो अहिले न्यू होराइजन कलेज बुटवलको प्राचार्य पनि हुनुहुन्छ, वहाँ असाध्यै बाठो मान्छे ( माफ पाम है गुरु आज यो घटना सार्वजनिक गरेकोमा ) । सुरुमा नै खाँदा गुरुले यसो गाँजाको छन्द बुझिहाल्नु भएछ, वहाँ आफ्नो कोठा तिर टाप अरू को त्यहाँ बिजोक । हामी नखाएकाको काम कागती खोज्दै कागती पानी ख्वाउँदै, गाँजा लागेकाहरू लाई पानी खन्याउँदै । विज्ञान पढाउने भेषराज सुबेदी सर जो अहिले तानसेनमा हुनुहुन्छ - वहाँलाई पिसाब लागेर हैरान । बाहिर लाग्यो पाइन्टको फस्नर खोलेर पिसाब गर्न थालेको मान्छे उ उताबाट के आयो भन्ने डराएर दौडिहाल्ने । हामी लाई सम्हाल्न गाह्रो । त्यो घटना देखेको भोगेको म बिचरो त्यस पछि गाँजाको नाम सुन्ना साथ तर्सिन्छु । गाँजा अचम्मकै चिज हो । त्यो खाएका बेला मान्छे होस हवास गुमाएर जे पनि बोल्छ जे पनि भन्छ मैले त्यसरी बुझेको छु । त्यस्तो परिहाल्यो भने तपाईंहरुले पनि त्यसै अनुसार  बुझ्दा राम्रो । भन्ने लाई फुलको माला, सुन्ने लाई सुनको माला, त्यसैले औषधी बाहेक कसैले पनि गँजेडी बनेर गाँजा नखाला !   

- रामप्रसाद खनाल              

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक