20231004

कालजयी गायिका दिलमायालाई भावपूर्ण श्रद्धाजञ्ली : को हुन् दिलमाया खाती ? कस्ती गायिका हुन् दिलमाया ?

गायिका दिलमाया खाती सदाका लागि बिदा हुनुभएको दु:खद खबर प्राप्त भएको छ । नेपाल मदर डटकम परिवार गायिका दिलमायालाई भावपूर्ण श्रद्धाजञ्ली ब्यक्त गर्दछ !


बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा

तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा...

१०० भन्दा बढी कालजयी गीत गाएकी दिलमायाको यो एउटा चर्चित गीत हो। ‘नाइटिङ्गेल अफ हिमालय’को उपमा पाएकी दिलमाया अविवाहित थिइन्। उनि २० को दशकको उम्दा गायिका हुन्। दार्जिलिङको घूम पहाडमा वि.सं १९९६ को श्रावण २३ गते जन्मिएकी दिलमाया अतिरूपा खाती र पिता नन्दलाल खातीका तीन सन्तानमध्ये कान्छी सन्तान हुन्। दिलमायाले बाल्यकालदेखिनै गीत गाउँदै आएकी थिइन् । सुरु-सुरुमा हिन्दी गीत गाउने दिलमायालाई रेडियो नेपाल र अल इण्डिया रेडियोबाट बज्ने नेपाली गीतहरूले प्रभाव पार्दै लगेको थियो। दार्जीलिङका सांस्कृतिक कार्यक्रमहरूमा प्राय: नछुट्ने दिलमायालाई आफ्नो पुर्ख्यौली थलोको माया लाग्दै गयो ।  

वि.सं. २०१९ मा उनि नेपाल घुम्न आइन् । तात्कालिन मन्त्री काजीमान कन्दङबाको घरमा एक दिनको बसाइले उनको जीवनले कोल्टे फेर्यो । त्यहाँ उनको आवाज सुनेका कन्दङबाको परिवारले दिलमायालाई रेडियो नेपालसंग सम्पर्क गरायो। मन्त्रीको घरबाट निम्तो आएपछि रेडियो नेपालका वरिष्ठ सङ्गीतकार नातिकाजी, शिव शङ्कर र गायिका तारादेवी उनलाई भेट्न पुगेका थिए । त्यो भेटले दिलमायालाई रेडियो नेपालसम्म पुर्यायो।  त्यसपछि नै उनको गायन यात्रा प्रारम्भ भयो। वि.सं. २०१९ मा रेडियो नेपालद्वारा आयोजीत राष्ट्रिय सङ्गीत प्रतियोगितामा दिलमायाले पहिलो पटक भाग लिइन् । उक्त प्रतियोगितामा उनि प्रथम समेत भइन् र स्वर्ण पदक प्राप्त गरिन् । त्यसबेला  रेडियो नेपालमा उनलाई एक से एक साङ्गीतिक हस्तीहरुले गीत गाउने आग्रह गरेका थिए। यही क्रममा सङ्गीतकार शिव शङ्करको सङ्गीतमा उनले पहिलो गीत गाइन् - ‘हिमालको काखमा छ सानो मेरो गाउँ’ तर पछि त्यो गीत रातादेवीको स्वरमा पनि रेकर्ड भयो। 'हिमालको काखमा” बोलको गीतले दिलमायालाई निकै चर्चा दियो। ख्याति दियो । त्यसपछि उनले पन्नाकाजीसित ‘मनमा तिम्रो प्रित होस्’ (माधव प्रसाद खनालको शब्द अनि शिव शङ्करको सङ्गीत) बोलको गीत गाइन्। 

गीत गाएर मात्र जीवन गुजारा नचल्ने देखेपछि उनि दार्जिलिङमै शिक्षण सेवा गर्न थालिन् । यही क्रममा हिमालय कला मन्दिरसँग जोडिन पुगिन् । त्यस बेलाका चर्चित सर्जक कर्म योञ्जन र गोपाल योञ्जनआदिको सङ्गतले राम्रा-राम्रा गीतहरू गाउँदै गइन् । त्यहाँ कर्म योञ्जन भायोलिन र गोपाल योञ्जन बाँसुरी बजाउँथे ।‘जिउन देऊ मलाई एकलै’ बोलको गीत त्यसैबेला उनले गाएकी थिइन् । कर्म पनि उक्त गीतलाई आफ्नो टर्निङ पोइन्ट नै मान्दछन् । त्यही गीतबाट कर्म वाद्यवादकबाट सङ्गीतकार बनेर चिनिएका थिए  गोपाल योञ्जनले पनि उनलाई ‘गाउँकी छोरी बढ्यौ है तिमी लौ अब बुझ न’ बोलको गीत दिए । त्यस समय (केही पहिलेदेखि) गोरखा दु:ख निवारण सङ्घले सङ्गीत प्रतियोगिता आयोजन गर्न सुरु गरिसकेको थियो । यसै क्रममा कर्म- गोपालले दिलमायालाई "सावन फर्की फेरि झर्‌यो माया लगाई निष्ठुरी फर्केन, चुडाई लग्यो यो मन मेरो जोडी दिने त्यो पापी आएन" बोलको गीतबाट उनलाई प्रतियोगितामा उतारे । उक्त गीतले तीनै विधामा पुरस्कार प्राप्त गऱ्यो । गायनमा दिलमाया खातीले, सङ्गीतकारमा कर्मले अनि रचनाकारमा  गोपाल योञ्जनले प्रथम पुरस्कार प्राप्त गरे । 

एकपटक हिन्दी फिल्मका प्रसिद्ध निर्देशन राजकपुर घुममघामका निम्ति दार्जिलिङ आएका थिए। सोही समयमा हिमालय कला मन्दिरले कार्यक्रम आयोजना गर्यो।   दिलमायाको स्वर सुनेर राजकपूर निकै प्रभावित भए । यसपछि दिलमायाका गीतहरू ‘सावन फर्की फेरि झर्‌यो’ लगायत कलकत्ता एच.एम. भी. बाट पनि रेकर्ड भयो । केही बर्ष पछि कर्म योञ्जन र दिलमाया खातीको स्वरमा ‘सम्झेर बुझेर दिइहाल यो जोबन’ बोलको गीत पनि रेकर्ड भयो । यी गीतहरूले दिलमायालाई चर्चाको शिखरमा पुर्यायो। 

 ‘तिमीलाई जानी जानी, फेरि भेटेको होइन’ गीतले निकै थप चर्चा कमायो । पछि रेडियो नेपालमा समेत उनका थुप्रै गीतहरु रेकर्ड भए। उनले तारा देवीसित पनि कतिपय गीत गाएकी छिन्। ‘रातमा निँद मलाई लाग्दैन’ तारादेवी सँग उनले गाएको युगल गीत हो । 

वि.सं. २०१८ सालमै कलामन्दिरमा नारायण गोपालसित भेट भए पछि उनको जीवनले नयाँ मोड लियो । नारायण गोपालले दिलमाया खातीको स्वर र गायन क्षमता बुझेका थिए । त्यसबेला गीत गाउन नारायण गोपाल स्वयंले दिलमायासँग युगल गीत गाउने इच्छा ब्यक्त गरेका थिए। नभन्दै केही समयपछि नारायण गोपाल र दिलमाया कलकत्ता गएर दुईवटा गीत रेकर्ड गरे। ''बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा,''(स्वर : नारायणगोपाल र दिलमाया, सङ्गीत : नारायणगोपाल, शब्द : रत्नशमशेर थापा) र 

''तिमी देख्दा रहर होला लागेर आउँछ,''(स्वर : नारायणगोपाल र दिलमाया, सङ्गीत : गोपाल योञ्जन, शब्द : गोपाल योञ्जन। यी दुवै गीत कालजयी बने। जनमनमा पुगे। 

सुमधुर स्वरकी गायिका दिलमाया खातीले वि. सं. २०१८ सालदेखि २०३० सालसम्म मात्र गीत गाइन्। धेरै गीत गाइनन्  । हम्मे हम्मे १०० गीत पुग्छन् उनका। थोरै तर अजर अमर गीतहरू गाइन् । ''छल गऱ्यौ हेर्दा हेर्दै मलाई एक्लो पाऱ्यौ, रमाएर बाँच्दै थिएँ, रुँदै हिँड्ने पाऱ्यौ,''स्वर : दिलमाया खाती, सङ्गीत : रत्नबहादुर खडगी, शब्द : नरेन्द्रराज प्रसाई, दिलमायाको पछिल्लो गायन हो। ‘नाइटिङ्गेल अफ हिमालय’ बाट सम्मानित दिलमायाले देवकोटा सम्मान, भुपाल सङ्गीत पुरस्कार, नारायणगोपाल सङ्गीत कोषद्वारा नारायण गोपाल स्मृति सम्मान र सन् २०१९ मा गोरखा दु:ख निवारक सङ्घ दार्जिलिङ्द्वारा विशिष्ट सङ्गीत सम्मान आदि अनेकन विशिष्ट पुरस्कार र सम्मान प्राप्त गरेकी छिन् ।  

कालजयी गायिका दिलमायालाई भावपूर्ण श्रद्धाजञ्ली। - टीका भण्डारी

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक