20231119

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने सामाजिक आस्थाको महापर्व छठ !


 अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने सामाजिक आस्थाको महापर्व छठको उल्लास छाएको छ। धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट सूर्य उपासनाको पर्व छठ उल्लासमय छ। आस्था र सहअस्तित्वको पर्व छठको तेस्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ। मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रत्येक वर्ष प्रगाढ बनाउँने महापर्व हो छठ। 

मानव जातिको पीडाप्रति सजग गरी छठ पर्वले हरेक वर्ष मानव र प्रकृतिबीच सम्बन्ध मेटाउँदै–हराउँदै–बिलाउँदै र लोप हुँदै गएको प्राकृतिक वस्तुहरूलाई संरक्षण नै यसको मुल महत्व हो। प्रकृतिबीचको संवेदनशील रंगात्मक, संवाद—सम्बन्धको सबलीकरण गर्दै मानव र प्रकृतिको सम्बन्धलाई डोरीको गाँठो जस्तो बाँध्ने महापर्व हो छठ। भनिन्छ, ‘भक्त र भगवानसँग सीधा वार्तालाप हुने पर्व छठ नै हो।’ यो नै एउटा पर्व हो, जसमा पुजारी र पुरोहित आवश्यक पर्दैन। छठमा अर्घ दिइने सूर्य भगवान प्रत्यक्ष देखिन्छ। त्यसैले पुजारी चाहिँदैन। 

छठ उत्सव मनाउँदा परिवारका युवा सदस्यले धार्मिक विधि अवलोकन विधिहरू सिधै सिक्ने र नयाँ पुस्तामा हस्तान्तरण हुने हुन्छ। केहीले छठ घाटमा सूर्य भगवानको मूर्ति निर्माण गरी ब्रतालु सूर्यलाई नमस्कार गर्छन्। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदा पनि पुजारी आवश्यक पर्दैन। व्रतालुहरू सूर्य मन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्छन्।  चार दिवसीय छठमा सबै भन्दा कष्ठ, कठिनाई, दौडधुप, श्रम–शक्ति र महत्वको हिसाबले कात्तिक शुक्ल षष्ठीको दिन नै हुन्छ। कात्तिक शुक्ल षष्ठी तिथिका दिन जनकपुरधामसहित संघीय राजधानी काठमाडौंका साथै नेपाल र भारतमा धुमधामका साथ मनाइने निकै चर्चित पर्वको हो छठ। 

सूर्यको उपासनाको पर्वमा छठी माताको पूजा गरिन्छ। साँझ अस्ताउँदो र भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन हुने गर्छ। निकै पवित्र, सफा सुग्घर र निष्ठापूर्वक मनाइने लोकपर्व धेरै दृष्टिकोणबाट मननयोग्य छ। धनी–गरिब, ब्राह्मण–दलित, उच–निचको ख्याल नगरि एकै साथ मिलेर मनाइनु नै छठको मुख्य विशेषता हो। समाजमा रहेका छुवाछुत कुसंस्कार, कुरीति र विकृति हटाउन छठ सहायक सिद्ध भइरहेको सांस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन्। छठको सबैभन्दा महत्वपूर्ण पक्ष पवित्रता र लोकपक्षसँग जोडिएको छ। लाल भन्छन, ‘भक्ति र अध्यात्मिकताले भरिपूर्ण छठमा मन्दिर वा आडम्बरको आवश्यकता हुँदैन। यो पर्वले समाजमा सबैको आ–आफ्नो महत्व उत्तिकै हुन्छ भन्ने आभाष दिलाउँछ’ उनले भने।

संस्कृतिविद् डा. रामभरोष कापडिले छठको मुख्य आशय नै सबैप्रति सहानुभूति र समान व्यवहार गर्नु हो। ‘जसरी माटोको सामग्री कुम्हाल, बाँसको सामग्री डोम, नङ्ग काटन लोहार, सख्खर–चामलका लागि किसान, पूजा प्रसाद बनाउन महिला, घाटमा लैजान पुरुष आवश्यक हुन्छ। सोही अनुरुप दिन दुःखी बिना जुत्ता–चप्पल कसरी हिँड्छन्, बिना साधन कसरी काम गर्दछन्, त्यसको आभाष गराउनका लागि घाटमा प्रसाद लैजानेहरू धनी होस् या गरिब जुत्ता, चप्पल बिना हिँडेर लैजानु समान व्यवहारत समान मानवजात भएको दर्शाउँछ।’ यसले प्रकृतिमा भएको प्राकृतिक चिजबिज तथा वस्तुहरूको समान महत्व भएको दर्शाउँछ’ कापडिले भने, ‘छठको लोक गीत–संगीतले जीवनको सार्थकताको उद्देश्यलाई पवित्रताका लागि अझ बढी निष्ठावान् बनाउन सहयोग गर्छ’ उनले भने। 

समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन्, सम्मान गर्छन् तर डुब्न लागेको घाम गरिब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिने गरेको समाजशास्त्री शोभा महतो बताउँछिन्। ‘सूर्यले सबै प्राणीहरूलाई समान रुपमा प्रकाश दिन्छ, त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गर्ने परम्परा रहेको छ’ उनले भनिन्।

ठको सन्देश

छठ पर्वमा स्थानीय उत्पादन, स्थानीय सीप र स्थानीय संस्कारको समिश्रण पाइन्छ। जस्तै स्थानीय समुदायद्वारा हस्तनिर्मित बाँसको नाङलो, कनसुप्ती, माटोद्वारा निर्मित सामग्री ढकना, सरबा, दियो, हाथी आदि प्रयोग गरिन्छ। हिन्दु धर्म संस्कृतिमा छठ पर्वको विशिष्टता नै उदाउँदो सूर्यका साथै अस्ताउँदै गरेको सूर्यलाई समेत एकै प्रकारको आस्था र निष्ठाका साथ पूजिन्छ। त्यसैगरि हरेक वर्ग, जात, समुदायका मानिस एकै घाटमा एकसाथ यो पर्व मनाउने गर्दछन्। 

जसले सृष्टि सबैको लागि समान हो यहाँ कोही उच-निच, धनी गरिब हुँदैन भन्ने भान हुन्छ। त्यसैगरी प्राकृतिक र वातावरणीय हिसाब समेत छठ पर्वको ज्यादै महत्व छ। 

वर्षमा एक पटक भए पनि हामीले आफ्नो जीवनसँग जोडिएको प्रकृतिसँग जोडिएको पोखरी, तालतलैया, नदीनाला लगायत पानीको मुहान सरसफाई गरिन्छ। जसले हामीलाई जीवन्त राख्न महत्वपूर्ण सहयोग गर्दै आएको पानीको मुहान संरक्षण गर्न सिकाउँछ। - गोविन्द महतो



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक