भूकम्प पीडितहरू उपचारको अभावमा कोही छटपटाइरहेका छन् त कोही १७५ पटक आएका परकम्प बाट डराएर खुला आकाश मुनी बस्न बाध्य छन् । खाना र बासको हाहाकार भैसकेको छ भने घर बाहिर भाग्दा लगाएका लुगा बाहेक केही नभएको कहाली लाग्दो दृश्य पनि देखिएको स्थलगत भ्रमण गरिरहेका पत्रकारहरू बताउँछन् ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने, “स्थानीय क्षेत्रमा रहेका सबै फौजहरू भूकम्प गएका ठाउँमा खटाइएका छन्। आठवटा प्लाटुन र सुर्खेतमा रहेको हेलिकोप्टर पनि उद्धार तथा खोजमा केन्द्रित छ।” नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टरसहित सुरक्षाकर्मी खटाइएको बताए। उनले भने, “अहिलेसम्म सबैभन्दा धेरै क्षति जाजरकोट र रुकुम पश्चिममा भएको विवरण छ। त्यहाँ धेरै घरहरू भत्किएका छन् भने ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या पनि बढी छ।”
उनले सुर्खेतमा रहेको गणबाट पनि सुरक्षाकर्मी खटाइएको र केन्द्रमा परिचालन हुनका लागि स्वास्थ्यकर्मीहरूको टोली तयार भएर बसेको पनि बताए। स्थानीय समय अनुसार राति ११:४७ मिनेटमा गएको सो भूकम्पको धक्का राजधानी काठमाण्डूमा पनि महसुस गरिएको थियो। त्यसबाहेक छिमेकी भारतको दिल्लीसहित कतिपय सहरहरूमा पनि उक्त भूकम्पलाई महसुस गरिएको थियो।
भूकम्पमा परेर जागकोटको नलगाड नगरपालिका-१२ की गीताकुमारी विष्टले एक छोरी गुमाइन् भने उनी पनि घाइते भएकी छन्। अस्पतालमा उपचाररत विष्टले सुर्खेतस्थित संवाददाता प्रकाश पन्तसँग कुरा गर्दै भनिन्, “हामी तीन जना आमाछोरी माथिल्लो तलामा एउटै कोठामा सुतेका थियौँ। पहिले जेठी छोरीलाई मैले बाहिर निकालेर तल लगेर उद्धार गरे। सानी छोरीलाई बचाउन सकिएन।” “एक्कासि आयो। मेरो चेत नै हराएको थियो। केही थाहा छैन। वरपर मान्छे कराए। मेरो होटेल नजिकै सशस्त्र प्रहरी थिए। उनीहरू आए। ‘म पनि जिउँदै छु’ भनेर कराएँ। ठूलो छोरीलाई बचाउन सकेँ, सानी छोरीलाई सकिन। १४ वर्षकी थिई।” “अहिले उपचार गराइरहेकी छु। दाइने हात र दाइने खुट्टामा चोट लागेको छ। अवस्था ठिकै छ।”
भेरी अस्पतालमा मात्रै गम्भीर घाइतेहरूको उपचार सम्भव नभए नेपालगन्ज नर्सिङ होम र मेडिकल कलेज कोहलपुरमा समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ। राँझास्थित नेपाली सेनाको अस्पताल, नेपालगन्जको प्रहरी अस्पताल र भेरी अस्पतालमा घाइतेहरूको उपचारका लागि १०५ वटा शय्या खाली गराइएको अधिकारीहरूले बताएका छन्। बिरामीलाई आवश्यक रगतको व्यवस्था गर्नका लागि सुरक्षाकर्मीलाई रक्तदानका लागि तयारी अवस्था राखिएको अधिकारीहरूलाई उद्धृत गर्दै नेपालगन्जस्थित संवाददाता बिमला चौधरीले बताएकी छन्।
कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले भूकम्पलगत्तै प्रभावित क्षेत्रमा प्रहरी लगायतका सुरक्षाकर्मीले घाइतेलाई उद्धार गर्ने काम थालेको जानकारी दिए। उनका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उद्धारका लागि ५६ जनाको टोली पठाइएको छ। प्रहरी अस्पतालबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ हिँडिसकेको डीआईजी ढकालले बताए। उनले भने, “ठाउँ-ठाउँमा सुक्खा पहिरो गएको हुँदा उद्धारमा कठिनाइ भइरहेको छ। हवाई उद्धारका लागि पनि प्रयासहरू भइरहेको छ।”
जाजरकोटको छिमेकी जिल्ला जुम्लामा पनि भूकम्पले क्षति पुर्याएका विवरणहरू आइरहेका छन्। जाजरकोटसँग सिमाना जोडिएको तातोपानी गाउँपालिकाका धेरै घर चर्किएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए । बिबिसिका अनुसार तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार क्षतिबारे विवरण सङ्कलन गर्न प्रहरी टोली घटना स्थलतर्फ गएको छ।
यसैबिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्। “यो दुःखको घडीमा भारत नेपालसँगै छ र सक्दो सबै सहयोग गर्न तयार छ,” मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना पनि गरेका छन्।
पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवार-उल-हक काकड ले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख र शोक व्यक्त गरेका छन्।
एशोसिएटेड प्रेस अफ पाकिस्तानले जनाएअनुसार उनले सामाजिक सञ्जालको वेबसाइट एक्स (पहिलेको ट्विटर)मा राखेका सन्देशमा भनिएको छ, “नेपालमा अमूल्य जीउधनको नोक्सान हुने गरी गएको भूकम्पबाट प्रभावितहरू हाम्रो मन र प्राथर्नाहरूमा छन्।” उनले भनेका छन्,” यस्तो अप्ठ्यारो समयमा पाकिस्तान नेपालको साथमा छ र जे जस्तो सहायता आवश्यक पर्छ त्यसका लागि तयार छ।”
शुक्रवार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निट्यूडको भूकम्पले पश्चिम नेपालमा वर्षौँयता कायम भूकम्पीय जोखिमप्रति पुन: मानिसहरूको ध्यान तानेको विज्ञहरूले बताएका छन्। बिबिसिका अनुसार पश्चिम नेपालको भूसतहमुनि ५०० वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको वैज्ञानिक अध्ययनहरूले देखाएका भन्दै विज्ञहरूले त्यसले आठ वा त्योभन्दा बढी म्याग्निट्यूडको भूकम्प निम्त्याउन सक्ने क्षमता राख्ने भएकाले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्। जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसयता शनिवार बिहानसम्म ४ म्याग्निट्यूडका कम्तीमा तीनवटा र त्यो भन्दा साना ३५ वटाभन्दा बढी परकम्पहरू रिकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।हालैका महिनामा पश्चिम नेपालका जिल्लाहरूलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन्। विज्ञहरूले पाँच सय वर्षअघि महाभूकम्प गएको उक्त क्षेत्रमा आठ वा त्योभन्दा बढी म्याग्निट्यूडको शक्तिशाली भूकम्पको जोखिम रहेको बताउँदै आएका छन्।
छिटो पूर्वतयारी गरौं, नत्र जाजरकोटमा भन्दा ठूला क्षति भोग्नेछौं - आमोदमणि दीक्षित
मान्छेहरुले जाजरकोटमा भूकम्प हो कि परकम्प भनेर छलफल गरेका छन् । तर आम जीवन जुन मात्रामा तहसनहस भएको छ, जनताको जीउधनका अगाडि यो छलफलको अर्थ खासै हुँदैन ।
हामीले भूकम्पको प्रकृतिलाई हेर्ने हो । जमिनको भित्री भागमा विभिन्न चिरा बनेका हुन्छन् । चिराहरुमध्ये तीनवटा चिरा एकदमै ठूला-ठूला सिंगै हिमालयको दुई हजार किलोमिटरसम्मै छ । त्यसमध्ये भुइँचालो जाने त हजारौं चिरा हुन सक्छन् । कुनै पनि चिरामा फिसिक्क कम्पन हुन सक्छ । त्यति बेला यो पूर्वकम्प हो कि कम्प हो भन्ने कुरा खासै महत्वपूर्ण रहन्न ।
मूल कुरा के बुझ्नुपर्छ भने २०७२ सालमा गएको गोरखा भुइँचालोभन्दा निकै शक्तिशाली भूकम्प पश्चिम काँगडामा गयो । त्यो दुईवटा भुइँचालोको बीचमा यो क्षेत्रमा ठूलो भुइँचालो गएको देखिन्न । अहिले जाजरकोटमा आएको भुइँचालो मध्यम खालको हो । त्योभन्दा ठूलो भुइँचालो हाम्रो मानसिकतामा बसिसकेको छ । किनभने योभन्दा धेरै ठूलो भुइँचालो पनि आउन सक्छ ।
जाजरकोट क्षेत्रतिरै अर्को भुइँचालो पनि आउन सक्छ । सन् १५०५ मा ठूलो भुइँचालो गएको थियो । त्यसपछिको ५०० वर्षपछिसम्म गोरखा र पश्चिम काँगडाको बीचमा ठूलो भुइँचालो गएको छैन । त्यसैले कुनै पनि बेला अझै ठूलो भुइँचालो जान सक्छ भनेर हामीले तयारी गर्नुपर्छ ।
त्यसबीचमा आएको साँच्चिकै ठूलो भुइँचालो १९९० सालको हो । २०७२ सालको पनि ९० सालजतिको होइन, सानो थियो । त्यतिबेला काठमाडौं धेरै हल्लाएन पनि । त्यतिबेला रेखदेख नगएका, मर्मत नगएका मात्रै मन्दिर,घर बढ्ता भत्केका हुन् । असाध्यै जीर्ण भएका घर भत्किए । खासगरी ठूलो भुइँचालो आएकै छैन नि । त्यसकारण धन र जनको क्षति नहोस् भन्ने न हो । कत्रो भुइँचालोले हान्यो भन्ने कुरा बेमतलबको कुरा हो । परकम्पले हान्यो कम्पले हान्यो भन्ने कुरा बेमतलबको कुरा हो । हामीले आफूलाई विचार गर्नुपर्ने दुई थरीका भुइँचालो हुन् ।
एकदमै ठूलो ९० सालको जस्तो ८ म्याग्निच्युडभन्दा ठूलो हुनुपर्छ । एक अंक म्याग्निच्युडको भनेको १० गुणा ठूलो र ३२ गुणाभन्दा बढी इनर्जिङ हुने हुन्छ । यस्तो भूकम्प आयो भने त हामीहरुलाई मुलुक नै के होला भन्ने ठूलो डर हुन्छ । यसरी भनौं, आठ म्याग्निच्युडभन्दा ठूलो महाभूकम्प आउन बाँकी नै छ । त्यस्तो खालको महाभूकम्प नआएको ५०० वर्ष भइसक्यो । त्यसकारण महाभूकम्पलाई कुरेर बस्नुपर्ने अवस्था छ ।
तर ६ र ७ म्याग्निच्युडका भुइँचालो त आइरहन्छन् । आइरहेका पनि छन् । हामीकहाँ ८ म्याग्निच्युडको आउन सक्ने सम्भावना रहँदा ६ म्याग्निच्युडको भुइँचालोका लागि तयार हुनुपर्यो । ८ म्याग्निच्युडको भुइँचालो सय वर्षमा एक पटक आउँला तर ६ म्याग्निच्युडको भुइँचालो त दश–दश वर्षमा जान्छ नि । यसलाई नियमित प्रक्रिया नै मान्नुपर्छ । हाम्रो मुलुक नै त्यस्तो ठाँउमा छ चार, पाँच, ६ म्याग्निच्युडको भुइँचालो गइरहन्छन् । अब त्यति साना र नियमित खालका भुइँचालोमा पनि जनधनको नोक्सान हुनु भएन । त्यसपछि मात्रै हामी ठूलो भूकम्पको पूर्वतयारीमा लाग्न सक्छौं ।
यो किन पनि भने जाजरकोट रुकुमतिर जुन घटना हिजो राति भयो, त्यहाँ तुलनात्मक बलिया संरचना भएको भए रातिको भूकम्प सामान्य घटना मात्रै हुन जान्थ्यो । हामी ८ रेक्टर स्केलको भूकम्पका लागि तयार हुन सक्नेबित्तिकै ६ रेक्टर स्केलको कम्पन सामान्य हुन जान्छ ।
पश्चिम नेपालमा यस्तो भूकम्प कुनै पनि बेला जान सक्छ भनेर पूर्वानुमान छँदैथियो । हामीले समयमै भौतिक संरचना बलियो बनाउन संघ, प्रदेश, स्थानीय सरकारहरु चुकेकै हुन् । ५, ६, ७ को भुइँचालोलाई मज्जाले थेग्न सकिन्छ । नेपालमा जम्मा ८० लाख घर हो । १० लाख भूकम्प प्रतिरोधी बनायौं नि । त्यो बाँकी रहेको हरेक वर्ष एक दुई लाख थपिन्छन्, त्यसलाई क्रमश: बलियो बनाउँदै जाने हो भने १०-२० वर्षमा हामीले मध्यम खालको सानो भुइँचालोलाई थेग्ने बनाउँछौं ।
६ रेक्टर स्केलको भुइँचालोलाई थेग्न सक्छौं भने ७ लाई आधा थेगिएला । ८ लाई एक चौथाइ थेगिएला । यो तरिकाले जानुपर्ने हो । तर हामी चुकेका छौं ।
(भूकम्प जोखिम न्यूनीकरणविद् दीक्षित नेसनल सोसाइटी फर अर्थक्वेक टेक्नोलोजी (एनसेट)का कार्यकारी निर्देशक हुन् । उनीसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)
नेपाल प्रहरीको अनुरोध भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ-संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला । इन्टरनेट scammer वा exploiter हरूबाट सावधान रहन अनुरोध ।
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक