20231209

अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि !

 अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ । इस्लामिक गणतन्त्र इरानका शीर्ष कूटनीतिज्ञ (विदेशमन्त्री) होसेन अमिर–अब्दुल्लाहियानले गाजापट्टीमा मानवीय सहायता पठाउन सक्षम बनाउन इजिप्टसँगको राफा सीमालाई तत्काल खोल्न अपिल गरे । इजरायली अधिकारीका अनुसार इरान समर्थित इस्लामिक लडाकु समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार २०० मानिसको मृत्यु भएको छ । हमासले करिब २४० जनालाई बन्धक बनाएको थियो ।

इजरायलले जवाफमा हमासलाई नष्ट गर्ने वाचा गर्दै गाजामा आक्रामक हमला गरिरहेको छ । हमलामा प्यालेस्टाइनी क्षेत्रमा अधिकांश सर्वसाधारणसहित १७ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायल अमेरिकाको मुख्य सहयोगी मुलुक हो । गाजामा तत्काल युद्धविरामको आह्वान गरिएको सुरक्षा परिषद्को प्रस्तावलाई अमेरिकाले शुक्रबार भिटो लगाएको थियो । उक्त प्रस्तावले हमासलाई अक्टोबर ७ मा गरेको हमलालाई दोहोर्‍याउन सक्षम बनाउने भन्दै भिटो लगाउनुपरेको अमेरिकाले जनाएको छ ।

इरानको विदेश मन्त्रालयका अनुसार टेलिफोन संवादमा अमिर–अब्दुल्लाहियानले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भने, “जबसम्म अमेरिका यहुदीवादी शासन (इजरायल)को अपराध र युद्धको निरन्तरतालाई समर्थन गर्छ, तबसम्म यस क्षेत्रको स्थितिमा अनियन्त्रित विस्फोटको सम्भावना छ ।”

इरानी विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघ बडापत्रको धारा ९९ लाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न साहसी कदम’का रूपमा प्रयोग गर्ने राष्ट्रसंघीय महासचिवको कार्यको प्रशंसा गरे । एक साताको युद्धविरामपछि डिसेम्बर १ देखि इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ । इजरायलका अनुसार हमासले युद्धविरामको उल्लंघन गरेको छ । विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले महासचिव गुटेरेससँग भने, “हमासले युद्धविरामको उल्लंघन गरेको इजरायलको दाबी सम्पूर्ण रूपमा गलत हो ।” उनले इजरायलका निम्ति अमेरिकी समर्थनले स्थायी युद्धविराम हासिल गर्न कठिन बनाएको बताए ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक