20240330

अत्यन्त दु:खद समाचार : दाहसंस्कार सकाएर फर्कंदै गर्दा एकै परिवारका पाँचजनाको मृत्यु ! सिंगो पौवाखेत शोकमा

 
गोरखाको गोरखा नगरपालिका–७, पौवाखेतका ४० वर्षीय शंकर रोकाको क्यान्सर रोगबाट शुक्रबार मृत्यु भएपछि उनकी ७० वर्षीया आमा जुनकिरीसहित सिंगो परिवार शोकमा पर्‍यो । उपचारका क्रममा काठमाडौंमा शंकरको मृत्यु भएको थियो । गाउँबाट काठमाडौं गएकी आमा जुनकिरीसहित सबै परिवार र आफन्त दाहसंस्कार गर्न शुक्रबार अबेर राति पशुपति आर्यघाटमा पुगे । दाहसंस्कारको काम सकाएर गाउँमै काजकिरिया गर्न तीनवटा गाडी लिएर सपरिवार गोरखा फर्कंदै थियो । घर फर्कंदै गरेका तीनमध्ये दुई गाडी मुग्लिन पुगेर रोकियो । शंकरका आमा

जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भान्जा चढेर फर्कंदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आइ पुगेन । निकै बेर प्रतीक्षापछि पनि गाडी नआएपछि अनेक शंकाउपशंका बढ्दै गयो । मुग्लिन पुगेका आफ्न्तले प्रहरीलाई जानकारी गराए । तत्कालै चितवनको इच्छाकामना गाउँपालिका–५, सिमलधारानजिकै बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात पर्‍यो ।

परिवार र आफन्त घटनास्थलमा पुगे । प्रहरीले दुर्घटनास्थलबाट पाँचजनाको शव निकाल्यो । दुर्घटनामा परेका एकजना अझै बेपत्ता छन् । क्यान्सरबाट मृत्यु भएका छोराको गाउँमै काजकिरिया गर्न भनेर ट्याक्सीमा घर फर्कंदै गरेकी आमा जुनकिरी दुई छोरी, एक नाति र ज्वाइँसँगै अब कहिल्यै गाउँ फर्कने छैनन् । जुनकिरीसहित दुर्घटनामा ज्यान गुमाउनेमा उनकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइला ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल र नौ वर्षीय नाति आगमन उपरकोटी (हरिमायाका छोरा) रहेका वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी बेपत्ता भएका १८ वर्षीया दिवस रोका क्यान्सरबाट मृत्यु भएका शंकरका छोरा हुन् । पाँचैजनाको शव अहिले गोरखा अस्पतालमा परीक्षणका निम्ति राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी रोका परिवारमा पाँचजनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिंगो पौवाखेत शोकमा डुबेको छ । अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकाहरू समेत बोल्न र सम्झाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ । - रासस

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक